समाज

एसपी चतुर्वेदी पुरस्कृत

प्रदेश २ का मुख्य मन्त्री लालबावु राउतबाट उत्कृष्ठ प्रहरी अधिकृतको सम्मान ग्रहण गर्दै सिरहाका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदी। तस्विरःमिथिलेश यादव/नागरिक

लहान - नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले शुक्रबार सिरहामा कार्यरत प्रहरी उपरीक्षक(एसपी) उमाप्रसाद चतुर्वेदीलाई पुरस्कृत गरेको छ। मुख्यमन्त्री लालबावु राउतले एसपी चतुर्वेदीलाई प्रशंसा पत्र तथा नगद पुरस्कारबाट पुरस्कृत गरेका हुन्।

कुशल व्यवसायिक क्षमता प्रदर्शन गरी अपराध अनुसन्धान, विपद् व्यवस्थापन, उद्धार, फरार प्रतिवादी पक्राउ, सीमावर्ती अपराध नियन्त्रणको क्षेत्रमा सराहनीय कार्य गरेको ठहर गर्दै प्रदेश प्रहरी कार्यालयले चतुर्वेदीलाई पुरस्कृती गरेको हो।
जेठ १७ गते सिरहा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि चतुर्वेदीले गैर कानुनी दबावलाई नजरअन्दाज गरेका कारण राजनीतिको आडमा गैरकानुनी धन्दा गर्ने गराउनेहरु अत्तालिएको पे्रश काउन्सिल नेपालका पूर्व सदस्य चन्ददेव कामती बताउँछन्।

तस्करी, लागूऔषध कारोबार, सामाजिक अपराधाजस्ता घटना नियन्त्रण गर्ने हकमा चतुर्वेदीको कदम सराहनीय रहेको उनको भनाई छ। पुरस्कारले इमान्दारिताका साथ काम गर्न थप हौसला मिलेको चतुर्वेदीले बताए। उनले भने,‘राज्य दुब्लाउने र व्यक्ति मोटाउने धन्दाहरु रोक्न सक्रियता र इमान्दारीसाथ लाग्न थप उर्जा प्राप्त भएको छ। उनले थपे,‘अझ जिम्मेवारी, इमान्दारीसाथ अपराध नियन्त्रण र अनुसन्धानका कामलाई मजबुत बनाउँछु।’ कानुनले निषेध गरेको काम गर्न कुनैपनि हालतमा छुट नदिइने उनको भनाई छ।

प्रकाशित: २४ आश्विन २०७६ ११:११ शुक्रबार

पुरस्कृत प्रहरी_दिवस