समाज

सीताकुण्डमा आन्तरिक पर्यटकको चलहपहल

बेझाड – पाल्पा रामपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सीताकुण्डमा दर्शन तथा अवलोकन गर्न आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेको छ।

रामपुर नगरपालिका– ३ र ४ काे बीच भागमा रहेको सीताकुण्डमा पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्रबहादुर नेपालीले बताए।

'सडक सुधार भएपछि यहाँसम्म आउने आन्तरिक पर्यटक पछिल्लो समय बढ्दै गएका छन्, भगवान् राम र सीतासँग जोडिएको पौराणिक महत्वका कारण पनि विशेषगरी टाढाटाढाका मानिसहरू यो क्षेत्रमा अवलोकन गर्नका निम्ति आउने गरेका छन्', उनले भने।

श्रीकृृष्णाजन्माष्टमीका दिन श्रद्धालु भक्तजन रामपुर नगरपालिका वडा नं ५ स्थित कालीगण्डकीको रामघाटमा नुहाएर सीताकुण्डमा जल चढाई पुनःरामघाटमा गएर पूजाआजा गर्ने परम्परा छ। यसो गरेमा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।

त्रेतायुगमा भगवान् रामचन्द्र र उनकी धर्मपत्नी सीता वनबास जाने क्रममा रामघाटमा आई बास बसेको पौराणिक कथन छ। सीता रजस्वला भएपछि उनलाई लुकाउन सीताकुण्ड लगिएको थियो। नुहाउने क्रममा पानी नभएपछि भगवान् रामचन्द्रले रामघाटबाट बाण हानेर कुण्ड निर्माण गरी त्यही कुण्डमा सीताले नुहाएको हुनाले यस कुण्डको नाम सीताकुण्ड रहन गएको किंवदन्ती छ। त्यसै समयदेखि नै यहाँ पूजाआजा हुँदै आइरहेको छ।

सीतालाई नुहाउनका लागि बाण हानेर पानी निकालिएको र खानका लागि धान छरेको बुढापाका बताउँछन्। कुण्डमा पानी कहिल्यै नसुक्ने स्थानीयको भनाइ छ। धार्मिक तथा ऐतिहासिक हिसाबले यसको महत्व रहे पनि प्रचारप्रसार तथा पूर्वाधार विकास नहुँदा ओझेलमा परिरहेको थियो।

पछिल्लो वर्ष रामपुर नगरपालिकाले दश पर्यटकीय क्षेत्रका रुपमा समेटेर पूर्वाधार विकासका काम गर्न थालेपछि अहिले यो कुण्ड पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढेको हो। सीताकुण्डसम्म पुग्ने सडक सुधार, भौतिक पूर्वाधारको विकास हुँदै जाँदा मन्दिरमा भक्तजनको चहलपहल बढ्दो छ।

कुण्डमा नुहाई भगवानको दर्शन गर्नाले मोक्ष्यप्राप्ति हुने र मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। श्रीकृष्णा जन्माष्टमी पर्व, रामनवमी पर्वका अवसरमा यहाँ वर्षेनी मेला लाग्दै आइरहेको छ।

यस वर्षको जन्माष्टमीका अवसरमा सात हजारभन्दा बढीले मन्दिर दर्शन तथा अवलोकन गर्न पुगेको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्रबहादुर नेपालीले बताए।रासस

प्रकाशित: २४ आश्विन २०७६ ०३:५१ शुक्रबार

सीताकुण्ड आन्तरिक–पर्यटक