समाज

स्वास्थ्य चौकी निर्माण

म्याग्दी – मालिका गाउँपालिका–५ देविस्थानमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ। शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराको एक करोड ६० लाख रूपैयाँको लागतमा सुविधासम्पन्न भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन निर्माण गरेको हो।

भवनको पूर्वाधार निर्माण गरेर एकाइमार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको निर्माण कम्पनी भगवती मालिका निर्माण सेवाका सञ्चालक गोपाल भट्टचनले बताए। २०७३ देखि भवन निर्माण शुरु भएको थियो। १९ वटा कोठा भएको भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधि भण्डारण र शैया रहने छुट्टा/छुट्टै कक्ष छन्। नयाँ भवनबाट सेवा शुरु गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष पिपला बुढाथोकीले बताए।

यसअघि स्वास्थ्य चौकी मगरदाङस्थित पुरानो भवनबाट सञ्चालन गरिएको थियो। भवन र पर्याप्त पूर्वाधारको अभावमा सेवा प्रवाहमा समस्या भएको थियो। एकाइले एक वर्षयता मालिका गाउँपालिका–४ च्युरीबोट, अन्नपूर्ण गाउँपालिका–८ राम्चे, ६ घार, रघुगङ्गा गाउँपालिका–३ पिप्ले र मङ्गला गाउँपालिका–३ बरञ्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको छ।

कुहुँ, हिस्तान, कुइनेमङ्गले, मल्कवाङ र पुलाचौर स्वास्थ्य चौकीको भवन निर्माणाधीन छन्। सदरमुकामस्थित बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माणाधीन अवस्थामा छ। अस्पताल परिसरमा दुई वटा चिकित्सक र स्वास्थ्यकर्मी आवास भवन निर्माण भएको छ।रासस

प्रकाशित: २३ आश्विन २०७६ ०४:३१ बिहीबार

स्वास्थ्य_चौकी भवन निर्माण