समाज

भित्री नाकाबाट निर्वाध रुपमा आउँछन् भारतीय मोटरसाइकल

सुरक्षाकर्मी अगाडिबाटै सहजै नेपाल प्रवेश गरेको भारतीय मोटरसाइकलसहित मान्छे।

भैरहवा -  खुल्ला सिमानाका कारण सीमा क्षेत्रमा अपराधका घटना बढिरहेका छन्। सहज रुपमा भारतीयले नेपाल प्रवेश पाउने भएकोले अपराधिक क्रियाकलाप पनि बढेको हो। जति सुकै ठूला घटना गरे पनि अपराधीहरु खुल्ला सीमाकै कारण भाग्ने गरेका छन्। रुपन्देहीमा पनि खुल्ला सीमाकै कारण बर्सेर्नी हत्या र गोली काण्ड हुन्छन्, तर थोरै मात्र अपराधी पक्राउ पर्छन्। अधिकांश सीमा पार गरिसक्छन्।

गत भदौ २९ गते रुपन्देहीको रोहिणी खोला नजिकै दिउँसै गोली काण्ड भयो। जसबाट ओमसतिया गाउँपालिका वडा नं. ५ पटखौलीका महेन्द्र कुर्मीको घटनास्थलमै मृत्यु भयो। मोटरसाइकल सवार सुटर गोली प्रहारपछि कता भागे भन्ने कसैले सुइको समेत पाउन सकेन।

हत्या भएको महिना दिन वित्दासम्म पनि हत्यारा पत्ता लगाउन नसकेपछि अहिले घटनाको अनुसन्धान सिआईबीले गरिरहेको छ। कुर्र्मीको हत्याले गर्दा पट्खौली मात्र हैन समग्र जिल्लाकै सुरक्षा चासो बढेको छ। जो कोहीलाई पनि निर्वाध रुपमा घरबाट बाहिर जान सोच्नु पर्ने अवस्था छ।  यो त एउटा उदाहरण मात्र हो यस्ता अपराधिक क्रियाकलापले  जिल्लाको शान्ती सुरक्षामाथि प्रश्न उठेको छ।

विशेष गरि नेपाल भारतको खुल्ला सीमा र भारतीय नम्बर प्लेटका साना गाडीहरुको नेपालमा निर्वाध प्रवेशले अपराध न्यूनिकरणमा चुनौती थपिएको देखिन्छ। भारतको उत्तर प्रदेश र बिहार राज्यका विभिन्न ठाँउमा निर्वाध रुपमा साना हतियारहरुको खरिद बिक्रि हुने हुँदो सबैको पहुँचमा सहज रहेको हतियारहरु अहिले सीमामा रहेको फितलो सुरक्षाका कारण सहज रुपमा नेपाल भित्रिन्छन्।

नेपाल–भारत सीमाको मूख्य नाका मध्ये एक हो बेलहिया नाका। स्थलमार्ग हुँदै सबैभन्दा बढी पैदलयात्रु यो नाकाबाट भित्रिरहेको अवश्थामा पछिल्लो समयमा ब्यावसायीक रुपमा पनि उत्तिकै महत्वपूर्ण हुदै गएको छ। तर नाकाको ब्यस्तताको तुलनामा सीमामा नेपाली प्रशासनका तर्फबाट सुरक्षा ब्यवस्थाको कुनै प्रभावकारी बिकल्प नहुँदा भारतबाट जस्तो सुकै समान पनि नेपाल भित्रयाउन सहज हुने गरेको छ।

पैदल, मोटसाइकल, कारमा आउने कुनै पनि ब्यक्तिको खान तलाशी हुँदैन। दशगजा पार गरेपछि पैदलयात्रु वा सवारीहरुले बिना कुनै चेकजाच सहज रुपमा नेपाल प्रवेश पाउँछन। भारतीय कारहरुको हकमा नेपाल प्रवेशको स्वीकृति लिए नलिएको सामान्य चेकजाच गरिए पनि गाडीहरुलाई चेकजाच गर्ने प्रावधान छैन। मुख्य नाका बेलहिया मात्र हैन। रुपन्देहीमा रहेको करिब १ दर्जन बढी साना तथा ठूला नाकाबाट भारतीय नम्बर प्लेटका मोटरसाइकल निर्वाध रुपमा नेपाल आउने जाने गरेका छन्।  नेपाल छिर्ने यी कुनै पनि मोटरसाइकलको चेकजाच हुँदैन। अवैध बाटोबाट नेपाल छिरेका यी मोटरसाइकलका कागज पत्र समेत मागिदैन। यसले पनि अपराध गर्न सहज भएको सरोकारवालाको चिन्ता रहेको छ।

दशगजासिमा रहेको भारतीय सीमा सुरक्षा बलले भारत प्रवेश गर्ने सबै ब्यक्तिलाई  “वाकथ्रु” मेशीनबाट पार गरी ब्यक्ति र सवारीहरुलाई खान तलाशी गर्छ । तर नेपालमा रहेको फितलो सुरक्षा ब्यावस्थापनको कारणले नै नेपालमा अपराधिक समूह विना चेकजाच आउछन र सहज रुपमा अपराधिक क्रियाकलाप गरी जान्छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्ग बहादुर खत्रीले खुल्ला सीमा र भारतीय नम्बर प्लेटका साना गाडीहरु सुरक्षा ब्यवस्थापनमा चुनौती रहे पनि अहिले राम्रोसंग चेकजाँच बढाइएको दावी गरे। बेलहियाबाट आउने सबै सवारीसाधन भन्सारबाट सुविधा बनाएर मात्र आउने व्यवस्था भए पनि खुल्ला सीमाका कारण भारततर्फ अपराध गरि नेपालमा र नेपाल तर्फ अपराध गरि भारतमा अपराधी लुक्नेगरेको छन्।

प्रहरी तथ्यांकका अनुसार गत आर्थिक वर्षमा साउन, मंसिर र माघ महिनामा मात्र हत्याका मुद्दा दर्ता भएनन् अन्यथा प्रत्येक महिनामा रुपन्देहीमा हत्या भएकै छ। सबैभन्दा बढी गत बैशाख र जेठमा ३÷३ वटा हत्याका मुद्दा दर्ता भएका छन्। यस्तै चालु आर्थिक वर्षको २ महिनामा २ वटा हत्या भई सकेको छ। जसमध्ये १ वटा फछर्यौट भई सकेको छ भने १ वटा अनुसन्धानमै रहेको छ।

प्रकाशित: २१ आश्विन २०७६ ०७:४२ मंगलबार

भित्री_नाका सुरक्षा_चुनौती