समाज

शक्ति आराधनाको दिव्य पर्व: विजया दशमी

नेपालको विविधता प्रकृतिमा मात्र होइन, संस्कृतिमा त्यति नै धेरै पाइन्छ। त्यस्तो विविधताको सुवास अनेक रंगीविरंगी छटा, रीतिरिवाज, परम्परा, संस्कार, चाडपर्व, जात्रा–मात्राको रूपमा नेपालका हरेक जाति, जनजातिमा देख्न पाइन्छ। साँच्चै भन्ने हो भने यस्तो संस्कृतिको महक विश्वका अन्य देशमा कमै देख्न, सुन्न पाइन्छ। यसैले त भनिएको हो– ‘नेपालमा अनेकताभित्र एकता छ।’

अहिलेसम्म नेपालमा धर्म, जाति, संस्कृतिको नाममा कुनै प्रकारको झै–झगडा भएको छैन। सबै एकआपसमा मिलेर बसेका छन्। तर, बाह्य तत्व वा नेपालमा फुट गराएर फाइदा लिन चाहनेहरूको लहलहैमा राजनीतिक आन्दोलनका नाममा यदाकदा छिटपुट घटना भने भएका छन्। यसबारे आम नागरिकले बुझेकाले आजसम्म धर्म–संस्कृतिको नाउँमा दुर्घटना भएको छैन। यो नेपाल र नेपालीकै लागि गौरवको विषय हो भन्ने सम्झनुपर्छ। नेपाली–नेपालीबीचको आत्मीयता र यस्तो सद्भावलाई विश्वमाझ पु-याउन र देखाउन सबैले प्रयत्न ग-यौँ भने नेपालको शान र मान बढ्ने र त्यसले अन्ततोगत्वा नेपालीकै शिर उच्च तुल्याउनेछ। 

सोह्र श्राद्धको पितृपक्षमा आफ्ना सबै तीनपुस्ते पितृहरूप्रति श्रद्धा, आदर, सम्मानस्वरूप आ–आफ्नो रीतिरिवाज अनुसारका धार्मिक कृत्य गरी सकेपछि दसैंको रमझम सुरु हुन थाल्छ। आश्विन शुक्ल प्रतिपदाको घटस्थापना कर्मसँगै प्रारम्भ हुने यो पर्वको दशौँ दिनलाई विजयादशमी भनिने भएकाले त्यही नामले आश्विन शुक्ल पूर्णिमासम्मको अवधिलाई नै विजयादशमी, दसैं, बडादसैं लगायत विभिन्न नामले पुकारिन्छ।

दुर्गापूजाको लक्ष्य आत्मिक मानवको विकास गर्नु हो। सप्तशतीमा पनि यही चरित्रलाई प्राधान्यता दिई महादुर्गा, महालक्ष्मी एवं महासरस्वतीको उपासनामा जीवनको पूर्ण फलप्राप्ति निहित छ भन्ने संकेत गरिएको छ।

विजयादशमी शक्ति उपासनाको, असत्यमाथि सत्यको जितको, पशुताको भावलाई हटाउने नेपालीहरूको महान् पर्व हो। शक्ति, ऊर्जा कसलाई चाहिँदैन होला ? मानिसलाई मात्र होइन यो स्वयं जगत्का परिपालकको लागि पनि त्यतिकै आवश्यक पर्ने कुरा पुराण साहित्यहरूको अनुशीलन गर्दा थाहा हुन्छ। पद्मपुराणमा जगज्जननी माता पार्वतीलाई सम्बोधन गर्दै भगवान् शिवले एक ठाउँमा भन्नुभएको वचन यस सन्दर्भमा मननीय छ। उहाँले त्यहाँ भन्नुभएको छ– ‘हे महेश्वरी ! शक्ति नरहेको बेलामा म शव’ मात्रै हुन्छु। तर, जब ममा शक्ति हुन्छ, म भक्तका समस्त कामना, इच्छा, आकांक्षा पूरा गरिदिने शिव बन्छु। यसबाट के देखिन्छ भने जीवदेखि शिवसम्मको लागि जीवनको सर्वस्व हो शक्ति। शक्ति तŒव कस्तो हुन्छ ? के गर्दा पाइन्छ ? र अहिले केका लागि शक्ति आराधना गर्नुछ, त्यसबारे अनभिज्ञ रह्यौँ भने शक्तिको आराधना होइन दुरुपयोग हुन पुग्छ।

हरेक मानिस शक्तिको अज्रस स्रोत हो। ऊभित्र अन्तर्निहित शक्ति यति छ कि के बयान गर्ने ! तर, आफूमा भएको शक्ति कति छ हतपत कसैले चाल पाएका हुँदैनन्। मानिसमा निहित असीम शक्तिको शतांश मात्र पनि सहीरूपले प्रयोग गर्न सक्यो भने जीवनमा मानिसले प्रगति गर्न सक्छ। यो कुरा थोरैले मात्रै बुझेका हुन्छन्। जसले बुझेको छ उसले आफूले आफैलाई उचालेका छन्, शिखरमा पु¥याएका छन्, अरूका लागि प्रेरणाको स्रोत बनेका छन्। संसारका प्रसिद्ध कहलिएका, महामानव ठानिएका व्यक्तिहरूले जीवनतत्त्वको अनुभूति यसैगरी गरेका उनीहरूका आत्मवृतान्त र जीवनचरित्रले देखाउँछ।

मानव मूलतः महान् छ, परन्तु चिन्तनस्तरको विकासबिना वा चेतनाको अभिवृद्धिबिना आफ्नो साँघुरो घेरा, संकीर्णता र सीमिततामा नै अल्मलिन पुग्छ। एककिसिमले भन्ने हो भने अकिञ्चनझैँ बनिरहेको उसले पत्तै पाउँदैन। मानिसमा अन्तर्निहित भएर चार तŒव नजानिँदो किसिमले समेटिएर रहेको हुन्छ– शारीरिक मानव, मानसिक मानव, बौद्धिक मानव र आत्मिक मानव। शारीरिक दृष्टिकोणले हेर्दा मानिस एउटा कमजोर प्राणी हो। ज्यादाभन्दा ज्यादा यो दृष्टिले ऊ खेलाडी बन्न सक्छ, पहलमान हुन सक्छ, एक योद्धा बन्न सक्छ। उसको उपलब्धि भन्नु समयको सीमित घेरामा अडिएको हुन्छ। समयको कुनै निश्चित कालखण्डपछि फगत एक निरीह मनुष्यमै सीमित हुन पुग्छ। शरीरको अवसानपछि ऊ सकियो, बित्यो। मानसिक मानवको महत्व उसको मन, बुद्धिसम्म मात्रै सीमित भएको हुन्छ। उसमा चलाखीपन, बुद्धिले गर्न सक्ने र भ्याउने कामकुरा गर्ला। तर, बौद्धिकताको अभाव खट्किन्छ।

अनि ऊ झल्यास्स हुन्छ र अघि बढ्न गाह्रो परेको महसुस गर्न पुग्छ। बौद्धिक मानवमा शारीरिक, मानसिक मानवभन्दा अब्बल हुन्छ, ऊ कता हो कता शक्तिशाली पनि हुन्छ। शरीरको दृष्टिले हेर्दा ऊ सानो झोला बोक्न पनि असक्षम हुन सक्ला। तर, बौद्धिक दृष्टिकोणले उसको बुद्धिले सृष्टि गरेका आविष्कारहरूले के–के गर्छन् के–के चकित हुनुपर्ने तुल्याइदिन्छ। शारीरिक दृष्टिकोणमा अल्मलिएको शरीरमा भएको आँखाले केही परको वस्तु देख्न पनि धमिलो भान पर्न सक्छ। तर, बौद्धिक प्रतिभाले जन्माएको दूरवीक्षणयन्त्रको शक्ति हेरौँ त कहाँ हो कहाँ अन्तरीक्षको स्थितिलाई समेत अवलोकन गर्न समर्थ तुल्याइदिन्छ। शरीर स्थूल छ, दृश्य छस बुद्धि सूक्ष्म छ, अदृश्य छ। तर, आत्मा बुद्धिभन्दा पनि सूक्ष्म ! जति सूक्ष्म भयो त्यति विशाल !

मानिसलाई आत्मविश्वास, लगन, ध्येयप्रतिको निष्ठा यही दिव्यकेन्द्रबाट अनवरत प्राप्त भइरहेको हुन्छ। यस आत्मशक्तिको सामु बौद्धिक सामथ्र्य पनि नगण्य हुन्छ। साँच्चै भन्ने हो भने बौद्धिक सामथ्र्य स्वयंमा लक्ष्य होइन, साधनमात्र हो। साधन रूप बौद्धिकता र शारीरिक बललाई पुरुषार्थ सम्झनेहरू ज्यादाभन्दा ज्यादा विश्वमा भौतिक विजयको ललकार लगाउन सक्छन्। आफ्नो चातुर्यले ऐश्वर्यको उपभोग केही समयलाई गर्न सक्छन्। तर, वास्तविक शक्तिपुरुषको स्थान ओगट्ने सौभाग्य उनीहरूले पाउँदैनन्। विश्व इतिहासलाई हेर्दा सिकन्दर, नेपोलियन, मुसोलिनी, हिटलरको शक्तिले कुनै बखत विश्वमानव समुदायलाई नै सन्त्रस्त नतुल्याएको होइन।

तर, त्यो शक्ति भौतिक र ज्यादाभन्दा ज्यादा बुद्धिसँग मात्र सम्बन्धित भएको हुनाले मानव इतिहासमा अनुपम र आदरणीय बन्ने सौभाग्य पाएन। त्यसको विपरीत बुद्ध, महावीर जैन, आद्य शंकराचार्य, रामानुजाचार्य, गुरु नानक, महात्मा गान्धी, जोसमुनिका शशिधर, शिवपुरीबाबा, खप्तड स्वामी, योगी नरहरिनाथ, डा.स्वामी प्रपन्नाचार्य, डा.स्वामी रामानन्द आदि जस्ता साधुपुरुषहरूको सादगीपूर्ण जीवन र सन्देशले विश्वका मानवमात्रको लागि प्रेरकशक्ति बनेर तहल्का मच्चाइदिएको छ। विश्व इतिहासका पानालाई स्वर्णीम बनाइदिएको छ।

कति युगान्तकारी रहेका छन् भन्ने कुरा हिजो तिनको जति महत्व थियो आज अरू महत्वपूर्ण बनेका छन् उनीहरूका विचार, धारणा र सन्देशहरू ! यो आत्मशक्तिको सर्वश्रेष्ठतालाई सिद्ध गर्ने शाश्वत तथ्य हो भनिरहनु पर्दैन। आज केवल शरीर मानव होइन, मानसिक मानव होइन, बुद्धिमानव पनि होइन, आत्ममानवलाई उजागर गरेर शक्तिको अज्रसस्रोतलाई प्रवाहित तुल्याउन सकेमा नै विश्वमा कल्याणकारी शुद्ध धारा वहन समर्थ हुनेछ।

शक्ति आराधनाको लागि कुनै समय र साइत कुरेर बस्नु पर्दैन। तथापि शारदीय नवरात्रि शक्तिआराधानको परमपावन समय मानिन्छ। जीवनको उन्नायक पवित्र शक्तितŒवको उपासना गर्ने महापुरुषहरूले जगज्जननी पराम्बा दुर्गासमक्ष प्रार्थना गर्नुभएको छ। लाग्छ– दुर्गापूजाको सम्पूर्ण सार त्यस श्लोकार्धभित्रै अन्तर्भूत छ, ‘रूपं देहि जयं देहि यशो देहि द्विषो जहि।’

यस दिव्य प्रार्थनाभित्र के छैन ? जीवनको समग्र समुत्थानको लागि जगदम्बा मातालाई पुकारिएको छ। यो सप्तशति पारायणको एक अंग मानिने अर्गलास्तोत्रको प्रार्थना–श्लोकार्ध्द हो। यो शक्तिलाई आफ्नो अधीनमा राख्ने आग्लो (अर्गला) हो। शक्तिको मूल पहिल्याएर साधक भन्छ– माता ! मलाई रूप (मेरो वास्तविक शक्तिसम्पन्न स्वरूप) दिनुहोस्। मलाई जय (विकृतिहरूमाथि पूर्ण अधिकार) गराइदिनुहोस्। मलाई यश (आफू बनेर अरूलाई पनि बनाउन सक्ने चरित्रसम्पन्नता) दिनुहोस्। मेरो शत्रुहरू (मेरो मनमा बसेर सधैँ मलाई तलतल धकेल्ने काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदिलाई) निमिट्यान्न पारिदिनुहोस्। कति दिव्य, कति महान् अर्थ छ यो प्रार्थनाभित्र ! जीवनको मूलतत्व फेला पार्नु, सर्वत्र आत्मीयता भेट्नु, जीवनको अन्तर्विशालतालाई आत्मसात् गर्नु नै वास्तवमा शक्ति–आराधना हो।

दुर्गापूजाको लक्ष्य आत्मिक मानवको विकास गर्नु हो। सप्तशतीमा पनि यही चरित्रलाई प्राधान्यता दिई महादुर्गा, महालक्ष्मी एवं महासरस्वतीको उपासनामा जीवनको पूर्ण फलप्राप्ति निहित छ भन्ने संकेत गरिएको छ। यही आत्मशक्तिलाई जगाएर नै मानवले आफ्नो, परिवार, समाज, राष्ट्र र विश्वको कल्याण गर्न सक्ने क्षमता आर्जन गर्न सक्छ। उसका समस्त शक्तिस्रोतहरू त्यहीबाट प्रस्फुटित हुन्छन्। तर, यति विशाल र गतिशील लक्ष्य लिएर अघि बढेको हाम्रो शक्ति–आराधनास्वरूपको दुर्गापूजा वा विजयादशमी वा दसैंले रूढरूप लिँदै गएको छ।

संस्कृतिको पक्षलाई छोडेर विकृत बन्दै गएको दुःखलाग्दो छ। दसैं भन्नासाथ पशुहरूहरूको हत्या, हिंसा, मारकाट आदिलाई सम्झिदिनाले नवरात्रिभित्रको परमपावन साधना कता हो कता हिजोआज विलुप्त बन्न पुगेको छ। नवरात्रका प्रत्येक दिन चित्तको शोधन र आत्मशोधनका अनुपम मूहुर्त हुन्। आफैले आफैमाथि विजय गर्ने साधनाको परमपावन पर्व हो। असल लक्ष्य लिई व्रतानुष्ठान, पुरश्चरण, आस्वाद, तप आदिको लागि महान् अवसर हो। तर, हामीकहाँ दसैं अहिले अधिकांशको लागि खाने, पिउने, मोजमस्ती गर्ने, पशुबलि गर्ने, मांसभक्षण गर्ने, जुवातास खेल्ने पर्वको रूपमा विकृत बन्दै गएको छ। जुन क्रियाकलापले आत्मोन्नति हुँदैन, चित्तशुद्धि हुँदैन, आत्मसाक्षात्कारको बाधक हुन्छ, त्यसले अपसंस्कृतिलाई मलजल गरिरहेको हुन्छ। सात्विक पूजा–आराधनाले संस्कृतिलाई प्रवद्र्धन गर्छ भने राजसी र तामसीले विकृतिलाई प्रोत्साहन दिएको हुन्छ।

जहाँ काटमार र हिंसा हुन्छ त्यस्तो पूजा तामसपूजाको ज्वलन्त उदाहरण हो। त्यस्तो पूजाले ईश्वरप्राप्ति हुँदैन, आत्मसाक्षात्कार हुँदैन, भगवद्दर्शन हुँदैन भनेर शास्त्रहरूले बताएका छन्। अबको शक्ति–आराधना व्यक्ति–व्यक्तिमा रहेका स्रोत–साधन, विज्ञता र शक्तिका कण–कण जम्मा पारेर समाजर राष्ट्रलाई समृद्ध बनाउने हुनुपर्छ। समाजलाई टुक्राउने, फुटाउने, विभाजन गर्ने गलत तत्वहरूलाई चिनेर दानवी शक्तिको अन्त गर्नुछ। अबको सम्पूर्ण पूजा, आराधना, उपासनालाई राष्ट्रिय समुत्थानको यज्ञवेदीमा मानवीयता, आत्मीयता, मित्रताको चरुले सिञ्चन गरेर विकास, सद्भाव, प्रेम र भ्रातृत्वको जगमा संयम, सद्भावना र सेवाको बलले शक्ति भर्नु परेको छ। महान् उद्देश्यको प्राप्तिमा पहिले जीवनमा समरसता, दिव्यता, नम्रता, शिष्टता, सात्विकतालाई अवलम्बन गर्नुपर्छ तब मात्रै आत्मिक मनुष्यको प्रकटीकरण सम्भव छ।

हाम्रो जीवनमा शक्तिको अवतरण आफ्नै प्रयत्नमा छ। शक्ति–आराधनाको यस पावन पर्वको महŒवलाई नबुझेर निरीह पशुपंक्षीको रगतले जति रक्तरञ्जित तुल्याउँछौँ त्यत्ति नै हामी अझैँ अन्धकारमा छौँ, अज्ञानतामा ग्रस्त छौँ, मानवीयतालाई बुझेका छैनौँ भन्ने हुन्छ। पशुको बलिले हामीभित्र रहेको पशुता हट्दैन, अहिले आवश्यक छ हामीभित्र रहेका अवगुणरूपी यावत् पशुताको बलि न कि पशुको बलि ! घरदैलोमा आउन लागेको विजयादशमीलाई सार्थक, लक्ष्यनिष्ठ एवं स्वयं आफू, परिवार, समाज र राष्ट्रको हितवद्र्धक हुने गरी मनाऔँ। यसमा अन्तर्निहित महानतालाई स्वीकारी भएका कमीकमजोरी र विकृतिलाई हटाउँदै नेपालीमात्रको परमपावन पर्वको रूपमा यसलाई उजागर गर्न सबैले आ–आफ्नो तर्फबाट योगदान दिन सक्यौँ भने विजयादशमी सबैको लागि दिव्य र भव्य बन्न सक्छ भन्ने कुरालाई आत्मसात् गरौँ।

प्रकाशित: २१ आश्विन २०७६ ०६:४४ मंगलबार

विजया_दशमी शक्ति_आराधना_दिव्य_पर्व