समाज

सवारी दुर्घटनामा एकको मृत्यु

भादगाउँ – काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नंको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रामेछाप लिखु गाउँपालिका–४ घर भई हाल भक्तपुर सूर्यविनायक–९ नलिञ्चोक बस्ने ३५ वर्षीय रामबहादुर भुजेल रहेका छन्। मोटरसाइकल चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भई हाल नलिञ्चोक बस्ने २९ वर्षीय अर्जुन थामीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा घाइते भुजेलको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए। घाइते भुजेललाई उपचारका लागि तत्काल उद्धार गरी सल्लाघारीस्थित डा इवामुरा अस्पताल लगिएकोमा थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

घटनामा संलग्न दुवै सवारीसाधन र बस चालक दोलखा भीमेश्वर नगरपालिका–८ भीरकोट बस्ने २६ वर्षीय विनोद खत्रीलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रनाउ पोखरेलले बताए।रासस

प्रकाशित: २१ आश्विन २०७६ ०४:३४ मंगलबार

दुर्घटना मृत्यु