समाज

उहिलेको दसैं

‘दशैँ रमाइलो केटाकेटीहरूलाई मात्रै हो,’ मुहारमा हाँसो ल्याएर कमलाले भनिन्। एकछिन रोकिएर फेरि उनी केही उदास हुँदै बोलिन्, ‘हुन त मैले माइतीमा राम्रोसँग बालापन बिताउन पाइनँ। १० वर्षकै उमेरमा बिहे भयो।’
७८ वर्षीया कमला खनाल दशैँको संघार अर्थात् गएको मंगलबार काभ्रेको बनेपास्थित डेरामा बत्ती कातिरहेकी थिइन्।
‘आमा, केका लागि हो यो बत्ती ?’

‘दशैँ आयो नि नानी,’ उनले आफ्नो काममै ध्यान दिँदै छोटो जवाफ फकाईन्।
कमलाको घर नुवाकोट कबिलास हो भने माइती नुवाकोटकै चौघडा। विगत ३० वर्षयता उनको परिवार गाउँ छाडेर सहरतिर डेरा लिएर बस्न थाल्यो। आठ दशक हिउँद काट्नै लागेकी कमलासँग दशैँबारे थुप्रै स्मरण छन्। आफ्नो बाल्यकालको दशैँबारे कुरा गर्ने भनेपछि उनी अलि उत्साहित भइन्। गाउँ छाडेदेखि उनलाई दशैँ खल्लो लाग्न थालेको छ। सहरिया जीवनले दशैँको रहरलाई नै बदलेको उनको अनुभव छ।

‘उहिलेको दशैँ बडो रहरको हुन्थ्यो। राम्रो लगाउन, मीठो खान दशैँ नै कुर्नुपथ्र्यो। अहिले त सधैँ दशैँ। अहिले के कुराको दुःख छ र पैसा हुनेलाई ?’ उनले कुराको ढोका खोलिन् र आफूले बाल्यकाल बिताएको कबिलासतिर फर्किन्।

‘दशैँ आउनु एक महिना अघिदेखि मुसलमानहरू डोकोभरि चुरा र पोते बोकेर गाउँ डुल्न थाल्थे। उनीहरू गाउँ पसेदेखि मलाई दशैँ आएझैँ लाग्थ्यो,’ उनी आफ्नो बाल्यकाल सम्झन्छिन्, ‘मलाई भने बाले काठमाडौंबाट बाले रातो घाँगर र रातो चुरा ल्याइदिनुहुन्थ्यो।’

दश वर्षको उमेरमै बिहे भएकी कमला भन्छिन्, ‘दसैंआउनु एक महिना अघिदेखि मुसलमानहरू डोकोभरि चुरा र पोते बोकेर गाउँ डुल्न थाल्थे। दशमीको दिन घरमा टीका लगाएपछि कहिले भोलि हुन्छ र माइत जान पाइन्छ भन्ने लाग्थ्यो। रातभरि निद्रा पर्दैनथ्यो।’

बाबाले ल्याइदिएको रातो घाँगरसँगै उनको दशैँ सुरु हुन्थ्यो। विवाहपछि पनि दशैँमा टीका लगाउन माइत गएपछि मात्रै उनलाई दशैँ आएजस्तो लाग्थ्यो। उनी सम्झन्छिन्, ‘एक बिहान हिँडेपछि माइत पुगिन्थ्यो। दशमीको दिन घरमा टीका लगाएपछि कहिले भोलि हुन्छ र माइत जान पाइन्छ भन्ने लाग्थ्यो। रातभरि निद्रा पर्दैनथ्यो।’
अझै पनि उनलाई दशैँ माइतीमै छ जस्तो लाग्छ।

राँगाको पिल्लीको डमरु
भक्तपुरको तौलाछेँ, सूर्यमाढीका ७० वर्षीय दिलबहादुर कोँजु यतिबेला दशैँको तयारीमा छन्। गुठीबाट समूहमा मिलेर दशैँ मनाउने परम्परा भएकाले उनी गत मंगलबार साथीभाइसँग छलफल गर्दै थिए। आफूले सकेको अनुसार दशैँ मनाउने चलन रहेकाले दशैँ खर्चिलो नहुने उनको भनाइ छ।

अहिले उनी फुर्सदमा छन्। साथीभाइसँग पािर्टीमा गफगाफ गरेर उनको दिनचर्या बित्ने गर्छ। आफूले खेती गर्दाको समयलाई सम्झँदै भन्छन्, पहिले कहाँ यसरी फुर्सदमा बस्न पाइन्थ्यो र ! दशैँलाई खर्च जुटाउन भ्याइनभ्याई हुन्थ्यो। यही बेला धान काटेर पनि सक्नैपथ्र्यो।’

उनका अनुसार ऊ बेला ज्याला निकै थोरै हुन्थ्यो, एक दिन काम गरेको तीन सुका। दशैँका लागि जसोतसो एक रुपैयाँ २५ पैसा ज्यालाबाट जुट्थ्यो। अरु बाँकी खर्च गुठीबाटै पु¥याइन्थ्यो।
उनको समुदायमा नवरात्रि सुरु भएसँगै नवदुर्गाको जात्रा सुरु हुन्छ। जात्रामा हुने नाचगान र  बाजागाजाले उनको मन बहलाउँछ।

दशैँ भन्नेबित्तिकै उनलाई डमरु बजाउँदै खेलेको बाल्यकालको सम्झना हुन्छ। उनी सम्झन्छन्, ‘सप्तमीको दिनमा काटेको राँगाको आमाशयतिरको पातलो पिली (झिल्ली)लाई एउटा धागोमा मकैको गेडा बाँधेर सुकाइन्थ्यो। त्यो पछि डमरु जस्तै हुन्थ्यो र त्यसलाई बजाउन मिल्थ्यो।’ अहिले आफ्नो समुदायमा डमरु बनाउने प्रचलन हराउँदै गएकोमा उनी दुःख मान्छन्।

उनका अनुसार, नेवारी समुदायले मनाउने दशैँ हिन्दूहरुको भन्दा अलि फरक छ। उनी भन्छन्, ‘हाम्रो परम्परा अनुसार दशैँमा टीका लगाउने लगाउने चलन छैन। भुइँ सिनो र मोहनी टिका मात्र लगाइन्छ। जमरा प्रसादको रुपमा दिने प्रचलन छ। त्यस्तै हामी बिना निम्तो कहीँ कतै टीका लगाउन जाँदैनौँ।’

पहिले र अहिलको दशैँ मनाउने परम्परामा धेरै परिवर्तन भएको उनी पाउँछन्। पहिले बजारमा अहिलेजस्तो सामानहरु थिएनन्। पहिले राम्रो लगाउन र मिठो चोखो खान दशैँ नै कुर्नुपथ्र्यो। सोलुखुम्बुको नेचा बेदघारीका ७८ वर्षीय प्रभुनाथ कट्टेल र ७६ वर्षीय ऋषिराज रेग्मी फुर्सदको समय मन्दिर दर्शन गरेर बिताउँछन्। अहिले काठमाडौंको शंखमूलमा बस्दै आएका उनीहरू बिहान–बेलुका भजनकीर्तनमा व्यस्त हुन्छन्।

प्रभुनाथले काठमाडौंमा दशैँ मनाउन थालेको १२ वर्ष भयो। तर, उनको मन सोलुको बेदघारीबाट टाढा हुन सकेको छैन। उनको स्मृतिमा बाल्यकालको दशैँ अझै ताजा छ। उनी बाल्यकाल सम्झन्छन्, ‘पिङ खेल्न पालो कुथ्र्यौं। घटस्थापनादेखि भजनकीर्तन सुरु हुन्थ्यो। खुब नाचिन्थ्यो। फूलपातीदेखि घरमा मीठो पाक्न थाल्थ्यो।’

त्यो समयमा अहिलेको जस्तो काम, जागिर नपाइने ऋषिराज बताउँछन्। खेती र वस्तुभाउबाटै चाडबाडको जोहो गर्नुपथ्र्यो। उनको परिवारले धान, कोदो, घिउ, बाख्रा, पाठो बेचेर दशैँ खर्च जुटाउँथ्यो। प्रभुनाथले टीका लगाउनु र ठूलाबडाबाट आशीर्वाद लिनुमै दशैँको महत्व देख्छन्। बाल्यकालको दशैँ अझै उनको मनमा गढेको छ। उनले दशैँमा टीका लगाएर पाँच पैसा पाउँथेँ। त्यो पैसा उनका लागि धेरै ठूलो हुन्थ्यो। अहिलेका ज्वाइँ ससुराली जाँदा मासु र भात मात्र दिने चलन छ। उनका पालामा भने थालभरि मासु लगायत दूधजन्य मिष्ठान्न परिकारले ज्वाइँलाई सम्मान गरिन्थ्यो।

चाडपर्वमा महिलालाई सधैँ काम बढी हुने उनी बताउँछन्। उनी भन्छन्, ‘पहिले महिलाले खेतबारी, वस्तुभाउसँगै चुलोचौकोको धन्दा भ्याएर मात्रै दशैँ मनाउन पाउँथे। उनीहरूलाई धेरै दुःख थियो। अहिलेका महिलालाई केही सहज भएको देख्छु।’

प्रकाशित: २० आश्विन २०७६ ०६:२४ सोमबार

स्मृति दसैं