समाज

रौतहट प्रहरीको विशेष सुरक्षा योजना, सीमा नाकाहरुमा कुकुरसहितको गस्ती

रौतहट —जिल्ला प्रहरी कार्यालय रौतहटले चाडपर्व लक्षित सुरक्षा योजना बनाएको छ। रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले सडक सुरक्षा, नाका सुरक्षा र सर्वसाधारणको जीउधनको सुरक्षाको लागि विशेष सुरक्षा योजना बनाएको बताए।

राजमार्गमा सुरक्षित सार्वजनिक सवारी साधन चलाउने चालकलाई फूलको माला लगाएर सम्मान गर्ने, चालकसँग चियापान गर्ने तथा मदिरा सेवन गरी सवारी साधन चलाउनेलाई आवश्यक कारबाही गर्ने कार्यक्रम जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको छ।

चाडबाडको समयमा भारतसँग सीमा जोडिएको भन्सार नाकाहरुमा कुकुरसहितको गस्ती टोली शनिवारदेखि परिचालन गरिँदैछ। भन्सार क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ भने जिल्लाको अन्य क्षेत्रमा पनि सर्वसाधारणको जीउधनको सुरक्षाको लागि सादा पोसाकमा पर्याप्त प्रहरी परिचालन गरिएको एसपी खत्रीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयले मातहतका प्रहरी युनिटसितको समन्वयमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका कार्यकर्ता, सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधि र विभिन्न प्रतिष्ठित व्यक्तिसित अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ।

जिल्लाको शान्ति सुरक्षा व्यवस्थाको लागि सर्वसाधारणसित समन्वय गर्दै चाडपर्वको विषयमा कुनै किसिमको चिन्ता नलिन र शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरिएको एसपी खत्रीले बताए।

रौतहट प्रहरी प्रमुखमा एसपी खत्री आएदेखि जिल्लाको सुरक्षा व्यवस्थामा सुधार आएको स्थानीय बताउँछन्। प्रहरीले विभिन्न मुदामा फरार एक सय १६ अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हातहतियार, लागू औषध, कर्तव्य ज्यान, जबरजस्ती करणीलगायतका गम्भीर प्रकृतिका अपराधमा संलग्नहरु पनि रहेका छन्। प्रहरीले व्यापक सुरक्षा योजना बनाएर काम गर्न थालेपछि सर्वसाधारणमा शान्ति र सुरक्षाको अनुभूति गर्न पाएको प्रहरीको दाबी छ।

प्रकाशित: १८ आश्विन २०७६ ०९:२२ शनिबार

सुरक्षा_योजना चाडवाड