समाज

चिकित्सक समायोजन, बेहाल स्वास्थ्य संस्था

विराटनगर - खटाएको ठाउँमा नजाने चिकित्सकका अघि नियमनकारी निकायहरू लाचार बन्दा प्रदेश १ का विभिन्न स्वास्थ्य संस्थाको बेहाल भएको छ। चिकित्सकहरूको लापरबाहीलाई संघ, प्रदेश र स्थानीय सरकारसहितका निकायहरूले बेवास्ता गर्दाको मूल्य सर्वसाधारण बिरामीले सास्ती खेपेर चुकाउनुपरिरहेको छ। आफ्नै घरगाउँका स्वास्थ्य–संस्थामा उपचार सेवा नपाएपछि बिरामी महँगो मूल्य तिरेर निजी अस्पताल धाउन बाध्य छन्।

कर्मचारी समायोजनका क्रममा खटिएका चिकित्सकहरू अझै पनि कार्यक्षेत्र पुगेका छैनन्। उनीहरूको अनुपस्थितिले जिल्ला तथा स्थानीयस्तरका अस्पतालको बेहाल भएको छ। समायोजन भएका डाक्टर तथा कर्मचारी गइसके पनि नया“ आउनुपर्नेहरू नआउ“दा अस्पतालले प्रदान गर्ने सेवासमेत अवरुद्ध हुन थालेको छ।

प्रदेश १ का धेरै अस्पताल डाक्टरविहीन छन्। केही अस्पतालमा थोरै संख्यामा डाक्टर भए पनि प्राविधिक कर्मचारी नहु“दा सेवा प्रवाहमा समस्या भएको छ। समायोजन भएर आउने डाक्टर तथा स्वास्थ्य सेवाका कर्मचारी समयमै हाजिर नहु“दा प्रदेश १ का अधिकतर अस्पतालको सेवा प्रभावित भएको छ।

खटाएको ठाउँमा चिकित्सक नजाँदा प्रदेश १ का धेरै बिरामी निजी अस्पताल धाउन बाध्य छन्।

मोरङको रंगेलीस्थित रंगेली अस्पतालमा प्रविधिक जनशक्ति र विशेषज्ञ डाक्टर नहु“दा शल्यक्रिया सेवा बन्द भएको छ। डाक्टर अभावका कारण अस्पतालले प्रदान गर्दै आएको आमा सुरक्षा कार्यक्रमसमेत प्रभावित भएको अस्पतालले जनाएको छ। अस्पतालमा प्रसूति सेवा लिन आउनेहरूलाई समेत विराटनगर रिफर गर्ने गरिएको अस्पतालका सूचना अधिकारी गोविन्दबहादुर कटुवालले जानकारी दिए। अस्पतालमा उपकरण र पूर्वाधार भए पनि डाक्टर र प्राविधिक जनशक्तिको अभावमा त्यस्ता उपकरण प्रयोगमा आउन नसकेको कटुवालले बताए। उनले भने, ‘अस्पतालमा शल्यक्रिया, आइसियु, एनआइसियु, पिआइसियुलगायत सेवा प्रदान गर्न सकिने पूर्वाधार र उपकरण भए पनि विशेषज्ञ डाक्टर र प्राविधिक जनशक्ति छैनन्।’

विगतमा जिल्ला अस्पतालका रूपमा रहेको रंगेली अस्पताल हाल स्थानीय तहको मातहतमा आएपछि प्राथमिक अस्पतालका रूपमा घटुवा भएको छ। यतिमात्रै हैन अस्पतालको दरबन्दीसमेत कटौती भएको छ। ४६ जनाको दरबन्दी भएको रंगेली अस्पतालको दरबन्दी कटौती गरेर २८ मा झारिएको छ। रंगेली अस्पतालमा उपचार गर्न आउने सेवाग्राही भने अस्पतालमा सेवा पाउन नसकेर विराटनगर धाउन बाध्य भएका छन्। ‘गाउ“का अस्पतालमा डाक्टर आउन मान्दैनन्,’ रंगेली–७ का संजय राजवंशीले भने, ‘डाक्टर भेट्न विराटनगरकै अस्पताल पुग्नुपर्ने अवस्था छ।’

रंगेली अस्पताललाई प्रादेशिक अस्पतालमा रूपान्तर नगरे स्थानीय सेवाग्राहीले विगतमा पाइरहेको सेवा सुविधा पाउन नसक्ने रंगेलीका जनस्वास्थ्य अधिकृत किशोर मण्डल बताउ“छन्। उनले भने, ‘जिल्ला अस्पतालको रूपमा रहेको रंगेली अस्पताल घटुवा भएर प्राथमिक अस्पताल बनाइएकाले विगतमा दिइरहेका सेवा निरन्तर प्रदान गर्न सक्ने स्थिति छैन।’ रंगेली अस्पतालमा ओपिडीमा दैनिक सयभन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ। विराटनगरदेखि २२ किलोमिटरपूर्व रहेको रंगेली अस्पतालले मोरङमा दक्षिणी र मध्यक्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

रंगेली अस्पतालको मात्रै हैन प्रदेश १ का अन्य जिल्लाका अस्पतालको हालत पनि उस्तै छ। भौतिक पूर्वाधार पर्याप्त भएर पनि विशेषज्ञ डाक्टर अभावले सधैंजसो ‘रेफर सेन्टर’ मात्रै बनिरहेको इलाम अस्पताल पछिल्लो समय कर्मचारी समायोजनले डाक्टरविहीन हुँदैछ। यहाँ कार्यरत विशेषज्ञ डाक्टरसहितका स्वास्थ्यकर्मी संघमा समायोजन भएपछि सरुवा भएर जाँदै छन्।

अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट स्त्रीरोग विशेषज्ञ डा. पवनजंग रायमाझी सरुवा भएर काठमाडौं जाँदै छन्। अर्की विशेषज्ञ डा. दीपिका रिजाल फाजिलमा परेकाले उनको यहाँ रहने टुंगो छैन। करार सेवामा रहेका भीम चौहान यहाँबाट प्राथमिक स्वास्थ्य केन्द्रमा सरुवा हुने तर्खरमा रहेपछि इलाम अस्पताल डाक्टरविहीन हुँदैछ।

‘मलाई त चिठी आइसकेको छ, अरू साथीहरू पनि समायोजनमा परिसकेकाले यहाँ बस्ने–नबस्ने टुंगो छैन,’ डा.रायमाझीले भने, ‘अहिले केही दिन बिरामीलाई सेवा दिन बसिरहेका छौं।’ १५ चिकित्सकको दरबन्दी रहेको इलाम अस्पतालमा अहिले आफूसहित पाँच चिकित्सकले सेवा दिइरहेको उनले बताए।
असिस्टेन्ट हेल्थ वर्करसहित अस्पतालको आकस्मिक सेवाका चार स्वास्थ्यकर्मी समायोजनमा संघमै परेका छन्। आकस्मिक सेवाकै दुई स्वास्थ्यकर्मी फाजिलमा परेका छन्। चिकित्सक नै नभएका कारण अस्पतालमा प्रसूतिबाहेक ठूलो शल्यक्रियासमेत हुन नसकेको प्रमुख रायमाझीले बताए। ‘इलाममा प्रसूतिको शल्यक्रिया पनि इलाम अस्पतालमा मात्रै हुन्छ,’ उनले भने, ‘अरू सामान्य अपरेसन चाहिँ हुन्छ।’

दैनिक दुई सय बिरामी आइरहेको इलाम अस्पतालमा इन्टर्नसिपका लागि आएका विद्यार्थीले सेवा दिइरहेका छन्। ‘डाक्टरलाई देखाउन (जँचाउन) भनेर अस्पताल आयो, भर्खरका विद्यार्थीले पो जाँचेजस्तो गर्छन्,’ बिरामीका आफन्त सन्तोष तामाङले गुनासो पोखे, ‘अस्पतालमा यस्तो लापरबाही गर्न पाइन्छ ?’

इलाम अस्पतालमात्र होइन, एक–एक विशेषज्ञ डाक्टरको दरबन्दी रहेका जिल्लाका चार प्राथमिक स्वास्थ्य केन्द्र पनि डाक्टरविहीन हुने सम्भावना बढेको छ। महिनामा पाँच सयभन्दा बढी बिरामी आउने प्याङ प्रास्वाकेमा कार्यरत डा. फिपराज विकको संघमै समायोजन भएको छ। तीन डाक्टर कार्यरत रहेकोमा एकजना अध्ययन र अर्का एकजना बेतलबी बिदामा रहेकाले अहिले डा. विकमात्रै कार्यरत रहेको माइजोगमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजशंकर देवले बताए।

पशुपतिनगर प्रास्वाकेमा रहेका विशेषज्ञ डाक्टर पनि समायोजनमा संघमै परेकाले उनको स्थान रिक्त रहने भएको छ। बिरामीको चाप अत्यधिक रहने फिक्कल प्रास्वाकेमा चाहिँ भर्खरै समायोजन भएर आएका डाक्टर कार्यरत रहेको सूर्याेदय नगरपालिकाका स्वास्थ्य शाखाका विपुल अधिकारीले जानकारी दिए।
आर्थिक वर्ष २०७५÷०७६ मा यी दुई प्रास्वाकेमा ५१ हजार एक सय एक बिरामीले उपचार गराएको तथ्यांक छ। इलाम अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट आउने तयारीमा रहेको बताए। ‘दसैंअघिसम्ममा आवश्यकताअनुसार स्वास्थ्यकर्मीको दरबन्दी पूरा गर्ने प्रयासमा छौं,’ उनले भने।

जिल्ला अस्पताल पाँचथरका प्रमुख डा. बुद्धिबहादुर थापाको अन्य जिल्ला अस्पतालमा समायोजन भएपछि यहाँ को आउने भन्ने यकिन छैन। मेडिकल सुपरिटेन्डेन्ट पदमा यहाँ को आउने हो भन्ने पत्र आएको छैन। थापा नहुँदा अप्रेसन प्रसूति सेवा जिल्ला अस्पतालमा हुँदैन। एकजना मात्र विशेषज्ञ डाक्टर हुँदा यो समस्या भोग्दै आएको छ।

यहाँ भएका डाक्टरहरूमध्ये दुईजना करारका बाहेकको समायोजन भएको छ। तर यहाँ कोको डाक्टरहरू आउनुहुन्छ भन्ने कुनै जानकारी प्राप्त नभएको अस्पतालका सूचना अधिकारी नारायण जोशीले बताए।

जिल्ला अस्पतालमा प्रसूतिबाहेक साना किसिमका मात्र शल्यक्रिया हुने गर्छ। जिल्लासँग पूर्वी पहाडका बासिन्दाले विशेषज्ञको स्वास्थ्य सुविधा लिनका लागि तराईका महँगा निजी अस्पतालमा पुग्नुपर्ने बाध्यता जस्ताको तेस्तै छ।

संघीयताको प्राप्तिपछि तीनै तहको सरकार बनेसँगै स्वास्थ्य सुविधामा ठोस परिवर्तन हुन सकेको छैन। ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा सामान्य रुघा–खोकीको मात्र उपचार हुन्छ। रवि र गोपेटार बजारमा रहेको प्राथमिक स्वास्थ्यकेन्द्रमा पनि सामान्य रोगको मात्र उपचार हुने गर्छ।

जिल्ला अस्पतालमा विभिन्न प्रकृतिका शल्यक्रिया गर्न सकिने भए पनि विशेषज्ञ, प्रविधिको अभावमा सम्भव नभएको सूचना अधिकारी जोशी बताउँछन्। एपेन्डिसाइड, हर्नियालगायत रोगको शल्यक्रिया केही समयअगाडि भए पनि जनशक्तिको अभावमा यसले निरन्तरता पाउन सकिरहेको छैन।

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा प्रविधि र जनशक्तिको अभाव छ। सदरमुकामको अस्पतालमा पनि यस्तै समस्याले गाँजेको छ। तराईका महँगा अस्पतालमा पुग्नुपर्ने बाध्यतामा जिल्लाबासी रहेका छन्। जिल्लामा रहेका निजी अस्पतालहरूमा पनि ठुलो सुविधा देखिँदैन।

जनताको आधारभूत आवश्यकताको पहिलो नम्बरकै गणना हुने स्वास्थ्य क्षेत्र हिमाली जिल्ला ताप्लेजुङमा कहरलाग्दो देखिएको छ। यतिसम्म कि निक साइमन भन्ने संस्थाले अहिले प्रदान गरिरहेको सेवाबाट हात झिकेमा ताप्लेजुङ जिल्ला अस्पतालको सेवा पूर्णतया प्रभावित हुनेछ।

प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूमा पनि दरबन्दी अनुसारका कर्मचारी छैनन्। समायोजन भएर जाने कर्मचारीको ठाउँमा पदबहाल नहुँदा यहाँको स्वास्थ्य क्षेत्रमा जनशक्तिको उल्लेख्य अभाव रहेको ताप्लेजुङ अस्पतालका डम्बरबहादुर श्रेष्ठले जानकारी दिए। यहाँ अहिले जिल्ला अस्पतालसहित तेल्लोक र ढुङ्गेसाँघुमा प्राथमिक स्वास्थ्य केन्द्र तथा ६३ वटा स्वास्थ्य चौकीहरू रहेका छन्।

२९ जनाको दरबन्दी रहेको जिल्ला अस्पतालमा अहिले एनेन्थेसिया अर्थात् शल्यक्रिया (अप्रेसन) गर्दा लठ्याउने व्यक्तिसहित सातजनाको दरबन्दी कटौतीमा परेको छ। ‘निक साइमनको सेवा पनि बन्द भए अस्पतालबाट वितरण हँुदै शल्यक्रियासहितका थुप्रै कार्य ठप्प हुनेछन्,’ श्रेष्ठले भने। केही समयअघिसम्म प्रसूतिका क्रममा गरिने सिजरिङ र सामान्य शल्यक्रियासहितका कार्य अस्पतालबाटै वितरण हुँदै आएको थियो।

एनेस्थेसियासहितको सातजनाको दरबन्दी कटौती भएपछि यो सेवा प्रभावित हुन थालेको छ। यीबाहेक स्वास्थ्य जनशक्तितर्फ ल्याब टेक्निसियन, मेडिकल रेकर्डर, स्टाफ नर्स र अहेब तथा प्रशासनतर्फ लेखापाल र खरिदारको दरबन्दी काटिएको छ। अस्पतालमा अहिले दैनिक ज्यालादारीका काममा लगाएका बाहेक कार्यालय सहयोगीको पद रिक्त छ।

अस्पताल विकास समितिले चारजनालाई दैनिक ज्याला पाउने गरी कार्यालय सहयोगी नियुक्त गरेको छ। जिल्ला अस्पतालमा कार्यरत सबै कार्यालय सहयोगीले समायोजनमा स्थानीय तह रोजेपछि त्यहाँबाट जनशक्ति स्थानीय तह केन्द्रित भएका हुन्। अस्पताल अहिले निमित्तको भरमा चलिरहेको छ। यो नियति भने तत्कालको समस्या होइन। अहिले जिल्ला अस्पतालमा आठौं तहका चिकित्कसले निमित्त प्रमुखको जिम्मेवारी सम्हालिइरहेका छन्। सामान्यतयाः अधिकतर जिल्ला अस्पतालमा दशौं र न्यूनतम् नवौं तहका चिकित्सकले मेडिकल सुपरिटेन्डेन्टको भूमिका पाउँछन्। सूर्यबहादुर गुरुङ मेसु हुँदादेखि यताका सबै समय ताप्लेजुङ जिल्ला अस्पतालको नेतृत्व निमित्तकै भरमा चलेको छ।

प्रकाशित: १८ आश्विन २०७६ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App