समाज

१७ दिनपछि विदेशी पर्यटक मृत भेटिए, एक अझै वेपत्ता

रसुवा– रसुवाको पर्यटकीय क्षेत्र थुमनबाट हराएका दुई जना विदेशी पर्यटकमध्ये एक जना मृत भेटिएका छन्। 

हराएको १७ दिनपछि नेदरल्याण्डका २७ वर्षीय थोमस विर्क्स मृत भेटिएका हुन्। गत भदौ २७ गते थुमन पुगेका उनीसहित दक्षिण कोरियाका ४२ वर्षीय जिसङ चाङ असोज १ गतेदेखि बेपत्ता भएका थिए। 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–१, रिछर जंगलमा थोमसको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै जनालाई खोजी गर्नका लागि एउटा हेलिकप्टर प्रयोग गरिएको थियो भने तीनवटा तालिम प्राप्त कुकुर परिचालन गरिएको थियो। 

खोजी कार्यका लागि ८ जना निजी खोज उद्धारकर्ता, १५ जना प्रहरी, पर्यटक प्रहरी र स्थानीयसहित ३० जनाको जनशक्ति परिचालन गरिएको थियो। थप सनाखत र अनुसन्धानका लागि सीमा प्रहरी चौकी टिमुरेबाट प्रहरी निरीक्षकको कमाण्डमा पाँच जना थप प्रहरी टोली सिम्रिक एयरको हेलिकप्टरमार्फत त्यहाँ पुगेको छ। हराइरहेका चाङको खोजी कार्य भइरहेको छ। 

प्रकाशित: १७ आश्विन २०७६ १३:५२ शुक्रबार

विदेशी_पर्यटक मृत वेपत्ता रसुवा