समाज

दसैंको मुखमा बिजुली पुगेपछि गड्तीर क्षेत्र झिलिमिली

काठमाडौँ- दसैंको मुखमा घरमा बिजुली बाल्न पाएपछि सिन्धुलीको गड्तीर क्षेत्रका नागरिकमा अहिले खुशीयाली छाएको छ। खुर्कोट–घुर्मी खण्डको गोलन्जोर गाउँपालिका–१ च्याकुटारबेँसी र दिङलादीप विद्युत विस्तार भएसँगै त्यस भेगका गाउँले निकै हर्षित भएका हुन्।     
     
फिकल गाउँपालिका–२ को सुङनामबेँसी र नवलपुर क्षेत्रका गाउँबस्तीमा पनि केही दिनभित्रै घरघरमा बिजुली पुर्‍याउने गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरण सिन्धुली शाखाका इञ्जिनीयर एवं सूचना अधिकृत राजु महतोले जानकारी दिए।     
     
दसैंको मुखमा त्यस क्षेत्रका करीब १ सय घरधुरीमा अहिले बिजुली बलेको छ। थाक्लेको काखमा रहेको च्याकुटार र भालुभञ्जाङको फेदीमा रहेको दिङलादीप बस्ती अहिले बिजुली पुगेपछि रातको समयमा झिलिमिली भएको छ। कुँडुलेको सुनुवार बस्तीमा पनि बिजुलीले चमक थपेको छ।

आफ्नो जीवनमा मोटर देख्न र बिजुली बाल्न पाइएला भन्ने कल्पनासमेत नगरेका स्थानीय ७० वर्षीय चतुरमान पहरी भन्छन्, 'पछिल्लो समय विश्वास नै गर्न नसकिने गरी सडक, बिजुली, खानेपानीको क्षेत्रमा विकास र सुधार भएको छ, जसले हामीलाई जीवनयापन गर्न निकै सजिलो बनाएको छ।'   
     
विद्युतको पहुँच विस्तारसँगै गाउँलेकोे मोह बिलासिताका वस्तु खरीदतर्फ आकर्षण भएको छ। विद्युतको लाइन विस्तार हुँदा नहुँदै कति इञ्चको टेलिभिजन र कति लिटरको फ्रिज किन्ने भन्नेमा वल्लो, पल्लो र तल्लो घरमा प्रतिस्पर्धाको होडबाजीसमेत चल्न थालेको छ।

सुनकोशी आधारभूत प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज न्यौपानेका अनुसार, केही वर्षअघिसम्म सल्लाको दियालोबाट रातको समयमा घरभन्दा गर्दै आएका गाउँले अहिले घरका बार्दली, कोठा, चोटा र मतानमा मात्र होइन, गाईगोठ र बाख्राको खोरमा समेत झिलिमिली हुने गरी बत्ती जडान गरेका छन्। बिजुली पुगेसँगै दिउँसो खेतबारीमा काम गरेर साँझ बिहान पठनपाठन गर्न चाहने शिक्षक र विद्यार्थीका लागि निकै हौसला मिलेको छ।     
     
दसैंको मुखमा बिजुली पुगेपछि त्यसभेगका जनताले यो दसैंलाई उज्यालो दसैं उत्सवको रुपमा मनाउने योजना बनाएका छन्। विद्युतको मिटर जडान र वायरिङको काम सकिएसँगै कतिपयले जनतामा दसैं र तिहारमा शहरकै झल्को दिने गरी विभिन्न रङका झिलीमिली बाल्ने सुर कसेका छन्। चाडपर्व र जात्रामा स्थानीय युवायुवतीद्वारा प्रस्तुत गरिने नाचगान हेरेर रमाउँदै आएका त्यस क्षेत्रका बासिन्दालाई विद्युतको पहुँचले संसार बुझ्ने मौका प्रदान गरेको छ।     
     
प्रत्येक घरका बालबालिकाले आफ्ना अभिभावकलाई टेलिभिजन जडानका लागि आग्रह गरिरहेको छन् भने घरमुलीलाई भने बिजुलीको शुल्कले ढाड त सेक्ने होइन भन्ने चिन्ताले पिरोलेको छ। खानेपानी, सडक र उज्यालो त आयो, यसले केटाकेटीको माग र खर्च निकै बढाएछ, आम्दानीको दह्रो स्रोत छैन, घर खर्च कसरी धन्ने भन्ने चिन्ताले हामीलाई पिरोलेको छ, स्थानीय नीरबहादुर पाण्डे बताउँछन्।     
     
केही वर्षअघिदेखि सञ्चालनमा आएको पुष्पलाल मध्यपहाडी राजमार्गले त्यसक्षेत्रका जनताको जीवनस्तर उकास्न निकै ठूलो योगदान पुर्‍याएको छ भने विद्युतको पहुँच विस्तारले उद्योग, कलकारखान र सूचना प्रविधिको विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाल विद्युत प्राधिकरणले यो चरणमा खुर्कोट–घुर्मी खण्डको कालीआँपदेखि नवलपुर हुँदै तर्किनीबेंसीसम्म विद्युत प्रसारण लाइन विस्तारको काम गत जेठबाट शुरु गरेको थियो।     
     
उक्त क्षेत्रमा विद्युत विस्तारका लागि प्राधिकरणले यो वर्ष थप एक करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। २५ किलोमिटरको उक्त क्षेत्रमा अहिले पाँच ट्रान्सफर्मर जडान गरिसकेको भने नवलपुरसम्म विद्युतको प्रवाह छोडिसकेको छ। रासस

प्रकाशित: १७ आश्विन २०७६ ०५:२२ शुक्रबार

बिजुली झिलिमिली दसैं