समाज

चाडवाड मान्नेबेला रित्तो हात घर जानुपर्ने अवस्था

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका शिक्षकले तलब नपाएको गुनासो गरेका छन्। दसैं–तिहारको मुखमा नगरपालिकाभित्रका १७ विद्यालयमा कार्यरत शिक्षकले साउन यताको तलब र दसैं भत्ता नपाएको गुनासो गरेका हुन्। नगरपालिकाले तलब रोक्का गर्दा शिक्षकहरू चाडवाड मान्नेबेला रित्तो हात घर जानुपर्ने अवस्था सिर्जना भएको नेपाल शिक्षक महासंघ हलेसी तुवाचुङ नगर कमिटीका सचिव एवं महंकला आधारभूत विद्यालय सल्लेका शिक्षक दिलीप राईले बताए।

सम्बन्धित वडाका वडाध्यक्षबाट शिक्षकको हाजिरी प्रमाणित नगराएको भन्दै नगरपालिकाले १७ विद्यालयको खाता रोक्का गर्दा शिक्षकहरू तलबविहीन बन्न पुगेका हुन्।

हाजिरी प्रमाणित गराएर ल्याइएपछि खाता फुकुवा हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए। २०७४ साल चैत ७ गतेको नगर कार्यपालिकाको बैठकले शिक्षक कर्मचारीको हाजिरी सम्बन्धित वडाका वडाध्यक्षबाट प्रमाणित गरेर माग फारम ल्याउनुपर्ने व्यवस्था गरेको थियो। सो व्यवस्था अनुसार ७१ विद्यालयले मात्र प्रक्रिया पूरा गरेर हाजिरी प्रमाणित गरेर ल्याएको नगरपालिकाले जनाएको छ।

सबै शिक्षकको तलब विद्यालयको खातामा जम्मा गरिएको भए पनि हाजिरी प्रमाणित नगराउने शिक्षकको तलब रोक्का भएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए। महासंघले भने शिक्षकको हाजिरी प्रमाणित गराउने व्यवस्थाप्रति असहमति जनाउँदै आएको छ। शिक्षक महासंघका नगर कमिटी सचिव राईले हाजिरी प्रमाणित गराउने व्यवस्था कार्यान्वयन नगर्ने सहमति गरिएको भए पनि नगरपालिकाले सहमति कार्यान्वयन नभएको बताए।

प्रकाशित: १७ आश्विन २०७६ ०१:१९ शुक्रबार

तलब भत्ता हलेसी_तुवाचुङ_नगरपालिका