समाज

जुम्लामा पेट्रोलियम पदार्थमा कालो बजारी

जुम्ला- जुम्लामा पेट्रोलियम पदार्थमा कालोबजारी गरेको भेटिएको छ। एक मात्र दर्तावाल पेट्रोल पम्पले पेट्रोलियम पदार्थको माग पुर्ति गर्न नसकेकोले बजारमा छ्यापछ्याप्ती खुद्रा पसलमा पेट्रोलियम पदार्थको किनबेच भईरहेको हो। पसल पिच्छे फरक फरक मूल्यमा पेट्रोलियम पदार्थको किनबेच भईरहेको हो। जुम्लामा पहिलो पटक भएको पेट्रोलियम पदार्थको अनुगमनमा कालोबजारी भएको भेटिएको हो।

सुश्मा आयल स्टोर्सका सञ्चालक महेन्द्रबहादुर थापा बिजुली नियमित नहुँदा सबै सवारीसाधनलाई पेट्रोलियम पदार्थको माग सम्वोधन गर्न नसकेको बताउँछन्। उनले भने,‘विधुत नहुँदा पट्रोल पम्पबाट सबैलाई आपुर्ति गर्न सकिएको छैन्, जसका कारण बजारका खुद्रा पसलबाट समेत पेट्रोल तथा डिजेल बिक्रि भईरहेको छ। यो राम्रो पक्ष होईन्। विद्युतको नियमित आपुर्ति हुने वित्तिकै स्थानीय प्रशासन कार्यालयलाई बाहिरबाट पेट्रोल बेच्न रोक लगाईदिन पत्र लेख्ने तयारीमा छु। ’

उनले दसैंमा आवश्यक पर्ने पेट्रोलियम पदार्थ भण्डारण भईसकेको बताए। डिजेल १ सय १२ रुपैयाँ र पेट्रोल प्रतिलिटर १ सय २७ रुपैयाँमा बिक्रि भईरहेको छ। बाहिरी बजारमा १ सय २५ देखि ४० रुपैयाँ सम्ममा पेट्रोल र एक सय १५ रुपैयाँमा डिजेल बिक्रि भईरहेको छ। बजारको पसल तथा दोकानबाट बिक्रि हुने पेट्रोलियम पदार्थ गुणस्तरहिन भएको महेन्द्रबहादुर बताउँछन्।

कर्णालीमै पहिलो पटक फागुन महिना देखि यो पेट्रोल पम्प सञ्चालनमा आएको हो। डिभिजन सडक कार्यालयबाट अनुमति लिएर खोलिएको पहिलो यो आधिकारीक पम्प हो। खुला रुपमा बिक्रि गर्ने डिजेल पेट्रोल ट्रक तथा ट्याक्टरमा ल्याईन्छ। त्यो बढि  मुल्यमा बिक्छ। ढुवानी भाडा कम लाग्छ। तर पेट्रोल पम्पमा बढि  भाडा तिरेर ल्याउनु पर्छ। स्थानीय प्रशासन कार्यालयले निर्धारण गरेको मुल्यमा बेच्नुपर्छ। त्यसैले बत्ति नियमित हुने बित्तिकै बाहिरको किनबेच कन्ट्रोल गर्ने उनी बताउँछन्। जसले एकै प्रकारको मुल्यमा सबैले डिजेल पेट्रोल पाउनेछन्।

पेट्रोलियम पदार्थको मुल्यमा एक रुपता नभएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले अनुगमन टोली खटाएको थियो।  यातायात ब्यवस्था कार्यालय जुम्लाका अनुसार मोटरसाईकल ७ सय ४२,चार पाङ्ग्रे गाडी २ सय ४० र अटोरिक्सा ५१ वटा छन्।

प्रकाशित: १६ आश्विन २०७६ ०९:५८ बिहीबार

जुम्ला पेट्रोल पेट्रोलियम