समाज

अनिष चौथो पटक ‘लिगलिगे राजा’

लिगलिगे राजालाई श्रीपेच लगाउँदै राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे।  तस्विर: नागरिक

गोरखा– एक सय ६५ प्रतिसपर्धीलाई पछि पार्दै पर्वतका अनिष थापामगर दशौँ ‘लिगलिगे राजा’ भएका छन्। चेपेघाट देखि लिगलिगकोट दरबार सम्म १३ दशमलव ८ किलोमिटर दुरी ५७ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै उनी चौँथो पटक राजा बनेका हुन्।

राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले बिहिवार लिगलिगकोटको डाँडामा आयोजित एक कार्यक्रमका बिच श्रीपेच, पगरी लगाएर उनलाई यो वर्षका ‘लिगलिगे राजा’ घोषणा गरेका हुन्।

पालुङटार नगरपालिका, लिगलिगकोट बिकास अभियान र नेपाली सेना रणसिंह दल गणको आयोजनामा उक्त दौड प्रतियोगिता भएको हो। सँगै उनी लिगलिगकोटको एम्बेस्डर–२०७६’ पनि घोषित भएका छन्।

उनलाई नगद ६० हजार एक सय रुपैयाँ प्रदान गर्नुका साथै नगरपरिक्रमा गराइएको छ। यस अघि २०७१ र २०७३,२०७५ मा पनि उनी राजा घोषित भएका थिए। 

एक घण्टा एक मिनेट ८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै नेपाली सेनामा कार्यरत डोटीका खगेन्द्रबहादुर भाट दोस्रो भए भने एक घण्टा एक मिनेट ३४ सेकेन्डमा दुरी पुरा गर्दै सेनामै कार्यरत लमजुङका रामजी बस्नेत तेस्रो भए। निर्धारित दुरी एक घण्टा दुई मिनेट २२ सेकेन्डमा पुरा गरेर सन्दिप ढकाल चौँथो बने।

उनीहरुलाई क्रमैसँग नगद ३५ हजार एक सय, तेस्रो २५ हजार एक सय, चौँथोलाई १५ हजार एक सय हुँदै १० औँ समेतलाई पुरस्कार दिइएको छ। सोही अवसरमा महिला खुल्ला, लिगलिग बासी, छात्रछात्रा र ४० वर्ष माथिकाको भेट्रान प्रतियोगित पनि संचालन भएको छ।

नेपाल एकीकरणको बेला यहाँ रहेको बाईसे, चौबिसे राज्य आफ्नै तरिकाले संचालन हुन्थ्यो। ती साना राज्य मध्ये लिगलिगकोट छुट्टै पहिचान बनाउन सफल भएकाले इतिहास जोगाईराख्न हरेक वर्ष यहाँ दौडमार्फत राजा घोषणलाई निरन्तरता दिइएको पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कंडेलले बताए।

दौडका लागि नेपाली सेनाले पुरस्कारमा लाग्ने रकम सहयोग गरेको छ। नेपालको ईतिहास झल्कने लिगलिगकोट, गढी, धार्मीक ऐतिहासिक पिठको संरक्षणमा सेनाले चासो दिएर सहयोग गरेको रणसिंह दल गण गोरखाले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०७६ ०८:०६ बिहीबार

‘लिगलिगे_राजा अनिष_थापामगर