समाज

पाँच किलो अफिमसहित एक पक्राउ

नेपालगन्ज– करिब पाँच किलो लागुऔषध अफिमसहित रुकुम पश्चिम प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–७ नदुवाबाट ४ किलो ९ सय ग्राम लागु औषध अफिम सहित सानीभेरी गाउँपालिका–५, गोलचौर का ३२ वर्षीय रन्जीत खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  

मंगलबार राती बाँफिकोट गाउँपालिका–७ मा रहेको नवज्योती आधारभूत विद्यालयको नजिकै अफिम बोकेर हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। अबैध लागूऔषध ओसार पसार तथा खरिद बिक्री भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरिएको उनले बताए। 

खत्रीलाई प्रहरीले पक्राउ गर्न खोज्दा उनी सामान सहित भाग्न खोजेपछि नियन्त्रणमा लिएको लागि सानो हतियार (पेस्तोल)बाट एक राउण्ट हवाइ फायर गर्नुपरेको डिएसपी खड्काले बताए। उनको सातबाट स्प्रिङ तराजु एक थान र मोबाइल एक वटा पनि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। 

पक्राउ परेका खत्रीलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको थियो। उनी विरुद्ध लागुऔषध ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए।

प्रकाशित: १५ आश्विन २०७६ ०६:१० बुधबार

अफिम पक्राउ रुकुम_पश्चिम