इटहरी - २०७४ चैत १२ गते राति पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत श्री सवुज गणमा कार्यरत दुई जना सैनिकको रहस्यमय ढंगले मृत्यु हुन पुग्यो। त्यति बेला गणमा कार्यरत बर्दिया नेउलापुरका सैनिक अमलदार भरत विक र सल्यान दमाचौर प्युठ दोलख चन्दको मृत्यु हुन पुगेको थियो।
पृतना मुख्यालय हाताभित्रको स्विमिङ पुलको उत्तर–पूर्वमा रहेको माछा पोखरीमा अचेत अवस्थामा फेला परेका दुवैलाई उपचार गर्न अस्पताल भर्ना गरेपछि मृत्यु भएको जनाइएको थियो। सैनिकद्वयको मृत्युबारे तत्कालीन सवुज दलका गणपति लक्ष्मीभक्त श्रेष्ठको नेतृत्व समितिले छानबिन गठन पनि गरेको थियो।
घटनालगत्तै सेनाद्वय विष सेवन वा करेन्ट लागेर मरेको अनुमान गरिएको थियो। तर, त्यसपछि घटनाबारे केही पनि सार्वजनिक गरिएन। बरु घटनालाई गुपचुपमै राखियो। जसले गर्दा विष सेवन वा अरु कुनै कारणले मृत्यु भएको खुल्न सकेको छैन। चार महिनाअघि कक्षा १२ मा पढ्दै गरेकी इटहरी वडा नं. ४ की १७ वर्षे किशोरीले आत्महत्या गरिन्। उनले आत्महत्या गर्नुमा प्रेम सम्बन्ध भएको प्रहरीको अनुसन्धानबाट खुल्यो।
इलाका प्रहरी कार्यालयले उनको मृत्युपछि प्रयोग गर्ने मोबाइलको म्यासेज परीक्षण गर्न मोबाइल ल्याब डिजिटल फरेन्सिक ल्याब पठायो।
मोबाइल परीक्षण गर्दा केटालाई उनले बढी नै मात्रामा मरिहत्ते गर्ने गरेको र केटाले कम चासो दिएपछि आत्महत्या गरेको खुल्यो। घटनापछि आत्महत्यामा दुरुत्साहन दिएको भनी केटाविरुद्व उजुरी दर्ता गर्न पनि गाउँलेबाट प्रहरीलाई दबाब आयो तर, केटी पक्षकाले आफ्नै छोरीको कमजोरी भएको जनाउँदै उजुरी दर्ता गरेनन्।
आत्महत्या दुरुत्साहन दिएको कसुरमा प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने सक्ने कानुनी व्यवस्था छ। २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा यो कानुनी व्यवस्था छ। प्रहरीको अनुसन्धानले केटाले दुरुत्साहन नगरेको देखिए पनि गाउँलेले उजुरी दर्ता गर्न दबाब दिए। अन्ततः केटा पक्षका सचेत भएकैले गर्दा उजुरी दर्ता भएन। यसबाट अब कसैले कोहीसँग प्रेम गर्दा सचेत हुन सन्देश दिएको छ।
यसैगरी, एक महिनाअघि जनता कलेज इटहरीमा कक्षा ११ मा अध्ययन गर्ने छात्रा दीपा कार्कीको पढाइ कमजोर थियो। सोलुखुम्बुको दूधकोसी वडा नं. ३ घर भई इटहरी वडा नं. ५ मा भिनाजुको घरमा बसेर पढ्दै आएकी १८ वर्षे दीपा पढाइकै कमजोरीले गर्दा मानसिक रुपमा कमजोर हिम्मत राख्थिन्। घर परिवारले दबाबले गर्दा उनी मानसिक रुपमा विक्षिप्त देखिने गर्थिन्। अन्तिममा पढाइमा कमजोर हुँदा आफ्नो आकांक्ष पूरा हुने छाँट नदेखेर आत्महत्या रोजिन्।
त्यसो त तीन वर्षअघि दुहवी पूर्वकुशाहाकी कोषिलाकुमारी उराव घरनजिकै रुखमा झुन्डिएको अवस्थामा भेटिइन्। सुरुआतमा झुन्डिएरै आत्महत्या भएको परिवारका सदस्यले बताएपछि गाउँलेले चित्त बुझाए। तर, परिवारका सदस्यले भनेको कुरामा कोषिलाकुमारीका माइती पक्षले स्वीकारेनन्। प्रहरीले घटनालाई लिएर अनुसन्धान अघि बढायो।
अनुसन्धान गर्दा मलेसियाबाट घर फर्केपछि कोषिलाकुमारीका श्रीमान् श्रवण उरावले हिसाब माग गरेको पत्ता लाग्यो। श्रीमतीले हिसाब देखाउन सकिनन्। त्यसपछि श्रवणले आवेशमा आएर कोषिलाकुमारीलाई घाँटी थिचेर हत्या गरेको र श्रवणले आफैं घरनजिककै रुखमा झुन्डाएर राखेको अनुसन्धानबाटै पत्ता लाग्यो।
श्रवण घटनापछि श्रीमतीको काजकिरिया पूरा गरेर पुनः मलेसिया फर्किएका थिए। तर, प्रहरीले निरन्तर अनुसन्धान जारी राख्दा अन्तिममा पक्राउ परे। प्रहरीले उनलाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा चलायो।
यसरी समाजमा थुप्रै आत्महत्याका घटना हुँदा छन्। तर, ती घटनालाई गहिरो गरी अध्ययन गरिएको पाइँदैन। गहिरो गरी अध्ययन गर्दा आत्महत्याका घटना भनिए पनि कतिपयमा फरक मोड लिने गरेका छन त कतिपय वास्तविक हुने गरेका छन्। वास्तविक आत्महत्या नै हुँदा त्यसका थुप्रै कारक भेटिन्छन्।
खासगरी जसले आफू बाँच्ने परिधि सानो देख्छ, त्यस्ता व्यक्तिले आत्महत्या रोज्ने गरेको पाइएको छ। जोसँग उत्साह, उमंग, आशा, भरोसा मर्दै गएपछि मानिसमा निराशा भएर आत्महत्या रोज्ने गरेको अध्ययनले देखाएको छ। आत्महत्या रोज्नुमा सफलता, अहसयोग र अभाव पनि हुन सक्छ। यसले उनीहरूलाई निराश तुल्याउँछ।
सुनसरीमा २०७५ कात्तिक महिनादेखि २०७६ भदौ महिनासम्म ११ महिनाको तथ्यांक हेर्दा आत्महत्या गर्नेको संख्या १२४ पुगेको छ। यीमध्ये पुरुष ७१ र महिला ५३ जना छन्। यस तथ्यांकले आत्महत्या गर्नेको संख्या वृद्धि भइरहँदा भयावह स्थिति सिर्जना हुने खतरा छ।
आत्महत्या गर्नेमध्ये पनि झुन्डिएर १०५ जना छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीको रेकर्डअनुसार यसमा ५९ पुरुष र ४६ जना महिला छन्। यस्तै, विषादी सेवन गरी मर्नेमा १९ जना छन्। जसमा १२ जना पुरुष र सात जना महिला छन्।
आर्थिक वर्ष २०७४÷०७५ मा १ सय ९२ जनाले आत्महत्या गरेको रेकर्ड छ। त्यसमा झुण्डिएर ८७ जना पुरुष र ६६ जना महिलाले आत्महत्या गरेका छन्। त्यसैगरी विष सेवन गरेर १९ जना पुरुषले आत्महत्या गरे भने २० जना महिलाले गरे। प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷७४ मा १ सय ५९ जनाले आत्महत्या गरेका थिए। प्रहरीको अनुुसन्धानमा बढ्दो आत्महत्या गर्नुका कारणमा निराशा, डिप्रेसन, असफलता, प्रेममा धोका र असमझदारी रहेको जानकारी दिइयो।
प्रहरीको अनुसन्धानमा १३ वर्षदेखि १९ वर्ष उमेर समूहका किशोर–किशोरीको आत्महत्या र विष सेवन गरेर मृत्यु हुने कारण प्रेम नै हुन्छ। आफ्नो भविष्य बनाउने उमेरमा प्रेम सम्बन्धमा बाँधिएपछि कतिपयबीच त असुरक्षित यौनसम्बन्ध हुने गर्छ। अनि सानै उमेरमा आमा बन्नेको दयनीय अवस्था हुन्छ।
आत्महत्या गर्नेको संख्या बढिरहँदा यसलाई तीन दृष्टिकोण जैविक, मनोवैज्ञानिक र सामाजिक कारणको रुपमा हेरिनुपर्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभागका प्राध्यापक डाक्टर धनरत्न शाक्यले बताए। ‘जैविक कारणमा दिमाखमा असर पुग्ने र कतिपय वंशानुगत पनि हुन्छ,’ उनले भने, ‘अर्को मनोवैज्ञानिक कारणमा नशा सेवन हो। यसले गर्दा व्यक्ति उदास र निराश हुने अनि सहयोग गर्ने अवस्था नभएपछि आत्महत्या रोजेको पाइन्छ।’
आत्महत्या गर्ने अर्को सामाजिक कारणमा समाजमा भएका विसंगतिहरू गरिबी, विभेदजस्ता कुरालाई मान्न सकिने शाक्यले बताए। ‘अहिले समाजमा सहयोगात्मक स्थिती नै छैन, एकले अर्कोलाई दुःख दिने अनि कतिपय मान्छेले काम नपाएर विदेश गएको अवस्था छ। अर्कातिर हत्या, हिंसा, आतंक र तनाव छ,’ उनले भने, ‘आत्महत्या गर्ने यही नै यकिन कारणभन्दा पनि बहुआयमिक नै हुन्छन्।’
खासगरी १४ वर्षदेखि २४–२५ वर्ष उमेर समूहले आत्महत्या रोज्नुमा भने उनीहरूमा इनर्जी धेरै हुने अनि ठीक÷बेठीक छुट्याउन नसक्दा हुनेछ। ‘किशोरावस्थाको उमेरमा तनाव बहन गर्ने क्षमता नहुँदा कतिपयले आत्महत्या गर्ने गरेका छन्,’ उनले भने, ‘त्यसैले यो अवस्थामा तनाव बहन गर्ने कुरामा ख्याल गर्नुपर्छ।’
प्रकाशित: १३ आश्विन २०७६ ०७:०९ सोमबार