समाज

नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन

चितवन– त्रिभुवन राजपथअन्तर्गत नौविसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ। सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौँले हेर्ने गर्दछ। 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सो सडक खण्ड मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको बताउँछन्।  ‘सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने अवस्था छ’ प्रमुख अधिकारीले भने,‘१० मिनेट सडक रोक्दा तीन किलोमिटरसम्म सडक जाम हुने गर्छ।’  

सो क्षेत्रमा ६ देखि ७ मिटर मात्र सडक चौडा रहेको छ। सोही सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन्।  सो खण्डमा मर्मतसम्भारका लागि गत वर्ष बोलपत्र आह्वान गरिए पनि कसैले पनि बोलपत्र समावेश गरेनन्।

यस वर्ष पनि पहिलो बोलपत्र कसैको पनि नपरेको अधिकारी बताउँछन्। दोस्रो बोलपत्रको तयारी भइरहेको छ। काम गर्न नसक्ने भएपछि ठेकेदार कम्पनीहरुले मुग्लिनदेखि पिप्लामोडसम्म नै मर्मतका लागि बोलपत्र समावेश नगर्ने गरेको उनको भनाइ छ। 

‘यही असोज ५, ६ र ७ गते दैनिक एक घण्टा मात्रै एकतर्फी सवारी रोकेर खाल्डा परेका ठाउँमा कालोपत्रे गरिएकामा सवारी चाप बढेपछि रोकिएको छ ’प्रमुख अधिकारीले भने ‘असोज ७ गते बेलुकाबाट हामीले सवारी रोकेर काम गरेका छैनौं।’ उनले सवारी चापकै कारण सडकमा समस्या देखिएको बताए। 

रातको समयमा पनि सवारी चापकै कारण काम गर्न सकिएको छैन। सो सडक खण्डको चितवनले हेर्ने क्षेत्रको ८० प्रतिशत मर्मतसम्भारको काम सकिएको उनको भनाइ छ। दशैँको नवमी र टीकाका दिन सवारी चाप घट्ने भएकाले काम गर्ने मानिस भेटिएमा सोही दिन केहीबेर एकतर्फी सवारी रोकेर काम गर्ने तयारी सडक कार्यालयले गरेको छ।

ठेक्का कसैको पनि नपरेपछि सोही सडक खण्डमा रणनीतिक सडक मर्मतअन्तर्गत भित्तामा काम गर्दै आएको जिएमआर कन्सट्रक्शनको सहयोग लिएर मर्मतको काम भइरहेको छ। सडकमा सवारी नरोकेर नै खाल्डा परेका ठाउँमा भर्ने काम भने अहिले पनि भइरहेको छ। रासस

प्रकाशित: १२ आश्विन २०७६ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App