समाज

‘सिपाहीको डायरी’ उपन्यास विमोचित

काठमाडौँ- सशस्त्र द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत रहँदा दोहोरो भीडन्तमा परी ज्यान जोगाएका पूर्व जवान दैलेखका चन्द्र कटुवालको यथार्थमा आधारित उपन्यास ‘सिपाहीको डायरी’ आज सार्वजनिक गरिएको छ।     
     
लडाई, प्रेम र पुर्नजन्म जस्ता विषय समेटिएको सो उपन्यासको नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवालले विमोचन गरेका हन्। पूर्वसेनापति कटुवालले सिपाहीहरु पठित हुँदैनन् भन्ने टिप्पणीलाई पुस्तकका लेखकले खण्डन गरिदिएको बताउँदै उपन्यासमा साहस, ज्ञान र अनुभव सङ्कलित भएको जनाए। उनले सो पुस्तक हरेक सिपाहीले पढ्नुपर्ने बताए।     
     
विसं २०६१ साउन २३ गते कालीकोटको पिलीमा भएको दोहोरो भिडन्तमा मारिएको भनेर किरियासमेत गरिएका लेखक (म पात्र) अपहरणमा परेर बचेको रोचक सन्दर्भ पनि पुस्तकमा छ। सेनाको आठ वर्षे सेवापछि शान्तिवार्तापछि लेखक कटुवालले राजीनामा दिई अध्ययन र योग क्षेत्रमा प्रवेश रोजेका थिए।     
     
उनी हाल योग र महिला सशक्तिकरणमा विद्यावारिधि गर्दै छन्। त्रिभुवन विश्वविद्यालयका केन्द्रीय संस्कृति विभागका सहप्राध्यापक रोहिणीराज तिमल्सिना र पत्रकार आश्विनी कोइरलाले पुस्तकको समीक्षा गर्दै यसमा मान, अभिमान, सान र मनोविज्ञान समेटिएको जनाए।

प्रकाशक ‘बुलबुल’ प्रकाशनका प्रमुख अच्युत घिमिरेले प्रकाशनको ५१औँ कृतिका रुपमा फरक विषयमा अनुभवमा आधारित उपन्यास प्रकाशन गरिएको बताए। रासस

प्रकाशित: ११ आश्विन २०७६ ११:०९ शनिबार

सिपाही डायरी उपन्यास