समाज

उफ! जामले सास्ती, सकसपूर्ण यात्रा

नौबिसे–नागढुङगा सडकखण्डमा परेको सवारी जाम। तस्बिर: सरिता/नागरिक

धार्के (धादिङ)– विदेशको यात्रा तय गरेर गाडी चढेका नवलपरासीका जीवन भट्ट निकै हतारमा थिए। उनको शुक्रबार बेलुका ६ बजे कतारको फ्लाइट थियो। दिउँसो चार बजे एयरपोर्टमा पुग्ने गरी बिहानै घरबाट हिडेका उनी पृथ्वी राजमार्गको सिम्लेदेखि जाममा परेपछि निकै उदास देखिन्थे। कामको खोजीमा कतार जाँदै गरेका उनी सवारी आवागमनले चिन्तित थिए। उनी हातमा रहेको रुमालले अनुहारमा आएको पसिना पुछ्दै आत्तिरहेको देखिन्थ्यो।

उनी कहिले माइक्रोबाट ओर्लन्थ्यो भने कहिले साइरन बजाउँदै गुडिरहेका एम्बुलेन्स  र मोटरसाइकल रोक्ने प्रयास गरिरहन्थ्यो। तर उनका लागि एम्बुलेन्स रोकिदिने कोही हुँदैनथ्यो। ‘मेरो आज ६ बजेको कतारको फ्लाइट छ, ४ बजे एयरपोर्ट छिरिसक्नुपर्छ,’ निरास हुँदै उनले भने, ‘१ बजे नौबिसे आइपुगेको छु, जामले गर्दा फ्लाइट नै छुट्टने भयो।’  सवारी जामले गर्दा निश्चित समय छुट्टाएर गन्तव्यमा हिँडेका भट्ट जस्तै धेरैले यस्तै समस्या भोगिरहेका छन्।

एकसातादेखिको सवारी चापले गर्दा नौबिसे–नागढुङा अन्र्तगत पर्ने त्रिभुवन राजपथ र नौविसेदेखि मुग्लिनसम्मको पृथ्वी राजमार्गमा ठाउँ ठाउँमा सवारी जाम पर्ने गरेको छ। नौबिसे–नागढुङगाको ओरालो मोड, खाल्डाखुल्डी, लेते र दुर्घटनाले राजमार्गको यात्रालाई सकस बनाएको छ। असुरक्षित यात्रा र अड्कल गरेको समयमा ठाउँमा नपुग्नु आम जनताको हैरानीको विषय बनेको छ।

यस्तै हैरानी व्यहोर्दै धादिङका दिपक अधिकारीले पनि भोग्दै आइरहेका छन्। ‘विशेष कामले यात्रामा निस्कियो, न काम बन्छ, न यात्रा नै सुरक्षित हुन्छ’, उनले भने, ‘घण्टौँ लाइनमा बस्नुपर्दा न खानाको ठेगान, न सुत्नको नै।’ काठमाडौंदेखि धादिङबेसीसम्म सामान्य समयमा तीनदेखि चार घण्टामा पुग्न सकिने भएपछि अहिले ८ देखि १२ घण्टासम्म लाग्ने गरेको उनले बताए। बिहिबार बिहान ११ बजे बस चढेका उनी बेलुका १० बजेमात्रै धादिङ पुगे।

देशका ६७ जिल्लालाई राजधानीसँग जोड्ने एक मात्र स्थलमागको रुपमा चिनिने त्रिभुवन राजपथको नौबिसे–नागढुङगा खण्डको यात्रा अहिले कहाली लाग्दो बन्न थालेको छ। उकालो भएर जाँदै गरेका मालवाहक सवारीसाधन कति बेला सडकमै बिग्रन्छ पत्तै हुँदैन्। सामान्य समयमा पनि ठाउँ ठाउँमा सवारी बिग्रिनाले यात्रुले सास्ती ब्यहोर्नु परेको हो। यस ठाउँमा सवारी बिग्रिएर नियमित आवागमन रोकिनु सामान्य भईसकेको छ। अहिले चाडपर्वको समयमा सवारीको चाप बढ्दा दोब्बर जाम बढेको छ।

चाडपर्व नजिकिएको छ,, शहर बजारमा बसोबास गर्नेहरु बिस्तारै गाउँ फर्किन थालेका छन्। पसल, होटल, व्यवसाय गर्नेहरुलाई हतारो परेको छ। चाडपर्वका लागि खाद्यान्न तथा कपडाहरु नौबिसे–नागढुङगाको बाटो हुँदै राजधानी काठमाडौँ भित्रिएका छन् भने दसैं मनाउन बिस्तारै राजधानीबाट बाहिरिन थालेका छन्। राजधानी छिर्ने मुख्य नाकाको रुपमा लिइने नौबिसे–नागढुङगा सडकमा दैनिक लामो जाम व्यहोर्नु परेको छ। नागढुंगा हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु र चालकले केही दिनदेखि सास्ती भोग्दै आएका छन्। धादिङको सिम्लेदेखि काठमाडौँको कलंकीसम्म नै ठाउँठाउँमा लामो जाम हुँदा यात्रु र चालकले सास्ती भोग्नु परेको छ।

एक सातादेखि यात्रुहरुले सवारी जामको सास्ती खेप्नुपरेको छ। खाल्डाखुल्डी परेर बिग्रिएको सडकमा केही दिनअघि मर्मतको काम सुरु भएदेखि नै जाम सुरु भएको थियो। साघुँरो सडक, उकालो, ओरालो बाटो, घुमाउरो मोड रहेको नौविसे नागढुङगा सडकखण्डमा दैनिक सवारी जामले यात्रुलाई आजित पारेको छ। 

राजधानी भित्रिने र राजधानीबाट पूर्वपश्चिमका जिल्ला जाने यात्रु जामको सास्ती खेप्नु परेको छ। चाडपर्वमा खाद्यान्नलगायतका सामाग्री लिएर राजधानी हिडेका मालवाहक ट्रक उकालो बाटोमा बिग्रिदा झनै जाम खेप्नु परेको छ।

दसैंका लागि सामान ढुवानी गर्न काठमाडौं आउने नेपाली र भारतीय लरीका कारण एकसातादेखि ट्राफिक जाम बढेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले बताए। ‘चाडपर्व नजिकिएसँगै सवारी चापका कारण जाम बढेको छ’, उनले भने, ‘ठूला मालवाहक ट्रक र लरीका कारण जाम हुने भएका कारण दिउँसोका समयमा यसको प्रवेशमा रोक लगाएका छौं।’ दसैंको मुखमा यसरी जाम हुँदा यात्रुहरु मर्कामा परेका छन्। दिनहुँ झण्डै डेढ सय लरी ओहोरदोहोर गर्ने गरेकाले यात्रु १२ घण्टासम्म जाममा बस्नु परेको ट्राफिक प्रहरीले जनाएको छ।

जामको मौका छोपेर राजमार्गका होटलहरुले लुट मच्चाउने गरेको यात्रुहरुको गुनासो गरेका छन्। नारायणघाटदेखि बिहान ५ बजे माइक्रो चढेका काभ्रेका केशवप्रसाद सत्याल जाममा परे। बिहान खाजा खान राजमार्गको होटलमा पुगेका उनले पेट अघाउने गरि खाजा खान नपाएको गुनासो गरे। ‘लामो जाम परेपछि होटलमा खाजा खान पसेको पेट नै अघाएन’, उनले भने, ‘चारवटा पुरि र तरकारी खाँदा १ सय ५० रुपैयाँ तिर्नुप-यो।’ एकातिर होटलको लुट अर्कोतिर जुन सहर गए पनि जामकै हैरानी भनेको ठाउँ पुग्न अडकल गरेको समयले नधान्ने उनले गुनासो गरे। 

प्रकाशित: १० आश्विन २०७६ ११:४३ शुक्रबार

सवारी_जाम नौबिसे