समाज

अब शिक्षकले कक्षामा मोबाइल प्रयोग गरे सुविधाबाट वञ्चित !

भैरहवा– रुपन्देहीको एक विद्यालयले कक्षाकोठामा शिक्षकले मोबाइल चलाए पाउने सेवा सुविधा रोक्ने चेतावनी दिएको छ। विद्यालयमा उपस्थित भएर विद्यार्थीलाई पढाउनुभन्दा विद्यार्थीकै अगाडी कक्षा कोठामै मोबाइल चलाएर बस्ने गरेको खबर स्थानीय तहमा आएकोले सियारी गाउँपालिकाले यस्तो चेतावनी दिएको हो।

कक्षा कोठामै मोबाइल रिसिभ गर्ने, मोबाईलमै लामो समय सम्म लाउड स्पीकरमा कुरा गर्ने, भिडियो च्याट गर्ने, गेम खेल्ने तथा विद्यार्थीलाई ध्यान दिनुको सट्टा मोबाइलमै भुलेर दिन बिताउने गरेको गुनासो आउदै गरेकाले गाँउपालिकाले बाध्य भएर निर्णय गरेको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए।

कति सम्म भने फेसबुक चलाउने शिक्षकले त फेसबुकको लोभमा विद्यार्थीको गृहकार्य नै परिक्षण नगर्ने, परिक्षण गरे पनि सरसर्ती रातो चिन्ह मात्र लगाएर छोडने, विद्यार्थीप्रति ध्यान नदिइ लापारवाही गरेको अभिभावकहरुको गुनासो आएकोले शिक्षकलाई मोबाईलको दुरुपयोग नगर्न चेतावनी सहितको पत्र काटेको गाउँपालिका अध्यक्ष थारुले बताए।

खाली समयमा बिद्यार्थीको गृहकार्य परिक्षण गर्न छोडेर फेसबुक खेलाएर बस्ने, कक्षा कोठाभित्रै शिक्षकले मोबाइल फोनको प्रयोग गर्दा शैक्षिक गुणस्तर खस्किँदै जाने सम्भावना रहेकोले शिक्षकहरु प्रति कडा रवैया अपनाएको थारुले बताए। 

बालबालिकाको पठन पाठन सम्बन्धि जनप्रतिनिधिबाट गुनासो आएको कारण यस्तो निर्णय गरिएको बताए। शिक्षकहरु नै मोबाइलको दुरुपयोगमा लागि सकेपछि शिक्षाको गुणस्तर पनि त्यसै अनुसारको आउने गरेको कारण मोबाईलको प्रयोगमा कडाई गरिएको छ। यद्दपी सियारीले ‘हात हातमा मोबाइल, हात हातमा पाठ्यक्रम” भन्ने नारा ल्याए पनि मोबाईलका सदुपयोग हुनुको सट्टा दुरुपयोग गर्न थालिए पछि यसको नियन्त्रण थालिएको उनले बताए।

यसरी दुरुपयोग गर्ने कार्यमा संलग्न शिक्षक मात्र नभई सम्बन्धित विद्यालयको प्रधानाध्यापकसमेत जिम्मेवार भएकोले प्रअलाई समेत कारवाही गरिने छ। कारवाही स्वरुप प्रअ र शिक्षकलाई गाउँपालिकाबाट दिदै आएको सेवा सुविधा रोक्का गरिने थारुको भनाई छ।

सियारी गाउँपालिकामा २५ वटा सामुदायिक, १५ वटा संस्थागत र ३ वटा धार्मिक गरि ४३ वटा विद्यालय सञ्चालनमा रहेको गाउँपालिकाका शिक्षा अधिकृत सुधीर पौडेलले जानकारी दिए। उनले सामुदायिक बिद्यालयमा स्थायी, राहत, पिसिएफ एवम अन्य गरि १ सय ७६ जना शिक्षक कार्यरत रहेको बताए।

कक्षा कोठाभित्रै शिक्षण कार्य रोकेर शिक्षक फोन उठाएर आनन्दले कुराकानी गर्दा विद्यार्थीहरुमा पर्न जाने असर, अनुशासन सिकाउने शिक्षकले नै यसो गरेपछि विद्यार्थीलाई पनि मोबाइलप्रति इच्छा राख्ने भएकोले गाँउपालिकाले सराहनिय काम गरेको अभिभावक नवराज कुर्मी बताउँछन्।

निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझैमाथि उकास्न सकेको छैन्। सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको समाजशास्त्री बताउँछन्। सामुदायिक विद्यालयका शिक्षक राम्रा हँुदाहुँदै पनि विद्यालयको नतिजा निजी विद्यालयको तुलनामा गुण्स्तरीय नआउँदा आफैमा सोचनिय छ। सामुदायिक विद्यालयमा शिक्षकले तलबमात्र बुझने अध्यापनमा चासो नदिने, विद्यालयमा हाजिर भए पनि पढाउनेतर्फ ध्यान नदिने र थोरै तलबमा निजी विद्यालयको नतिजा उत्कृष्ट गर्न मिहनेत गर्ने परिपाटीले गर्दा सामुदायिक विद्यालयका शैक्षिक गुणस्तरमा सुधार हुन सकेको छैन् यसलाई स्थानीय सरकारले नै नीति ल्याई  कडाईका साथ जानुपर्छ।

प्रकाशित: १० आश्विन २०७६ १०:०० शुक्रबार

रुपन्देही विद्यालय शिक्षक मोबाइल