समाज

गर्भपतनमा होसियारी नभए ज्यानको खतरा

फाइल तस्बिर

इटहरी - कानुनी मान्यता पाए पनि अहिले पनि पेटको बच्चा फ्याँक्नुलाई समाजले राम्रो नमान्ने सोचले चिकित्सकको सल्लाहबिनै इटहरीकी एक महिलाले वर्ष दिनअघि औषधि सेवन गरिन्। उनले आफूखुसी गर्भपतनको औषधि खरिद गरेर सेवन गरेपछि सिकिस्त भइन्। धन्न बेलैमा अस्पताल पु-याएकाले गर्दा दुःखद् घटना भने हुन पाएन, त्यसपछि उनी सधैभरि परिवार नियोजनको साधन प्रयोग गर्छिन्।

अचेल गर्भपतनको औषधि जताततै बिक्री वितरण हुने गरेको छ। जसले गर्दा कतिपय किसोरी र महिलाको चिकित्सकको सल्लाहबिनै औषधिकोे प्रयोग गर्दा स्वास्थ्यमा ठूलो समस्या निम्त्याउने गरेको छ। चार वर्षअघि इटहरी वडा नं. २० की राई थरकी महिलाले स्टाफ नर्सकोमा पुगेर अनिच्छित गर्भ तुहाउने औषधि प्रयोग गर्दा मृत्यु नै हुन पुग्यो। सहरदेखि गाउँसम्म कतिपय किसोरी र महिलामा अज्ञानताले गर्दा चिकित्सकको सल्लाहबिना सामान्य औषधि पसलमै गएर औषधि सेवन गर्दा गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ। कतिपय महिला मृत्युको मुखमा पुगेका छन्। मृत्यु भएका घटना समाचारमा बेला बेलामा आइरहने पनि गरेका छन्।

दुई वर्षअघि इटहरीकै पशुपति मेडिकल हस्पिटलमा इटहरी खनारकी २२ वर्षीया माझी थरकी युवती गर्भपतनका लागि सल्लाह लिन आइन्। त्यतिबेला चिकित्सक बालकृष्ण साह थिए। गर्भपतनका लागि हस्पिटलले अनुमति लिइसकेको थिइन्। अन्तिममा उजुरी प-यो। पशुपति हस्पिटलका सञ्चालक, चिकित्सक साह र युवती माझी तीनै जना पक्राउ परे। प्रहरीले मुद्दासमेत दर्ता गरायो।

ती युवतीले महिलाकै दबाबमा प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन्। तर, सुरुआतमा गर्भपतन गराउन आउँदै उनी मान्यता प्राप्त नगरेकै स्वास्थ्य संस्थामा आएकी थिइन्। सही सल्लाह र ठीक समयमा उचित तरिकाले गर्भपतनको प्रयोग गर्न नजान्दा महिलाको स्वास्थ्यमा जटिलता हुने गरेको छ। गाउँ–सहर जताततै हचुवाको भरमा यति संवेदनशील औषधि चिकित्सकको सल्लाहबिनै र मान्यता नपाएको संस्थामा समेत गर्भपतन गर्दा  समस्या हुने गरेको छ।

अहिले असुरक्षित यौनसम्पर्कबाट बसेको गर्भ सुरक्षित रूपमा पतन गराउने सरकारी स्वीकृत संस्था छन्। तर, कतिपय भने सरकारी स्वीकृति संस्थाबाहेक मनोमानी ढंगले जाँदा पनि समस्या हुने गरेको इटहरीको पकलीमा सञ्चालित जब्दी मेडिकलका सञ्चालक चन्दनकुमार नायकले बताए। ‘पछिल्लो समय असुरक्षित यौनसम्पर्कको दरसँगै सुरक्षित गर्भपतन गराउनेको संख्या पनि बढ्दै गएको छ। मेरो औषधि पसलमै महिनामा सरदर २० जना सल्लाह लिन आउँछन, मैले उनीहरूलाई सही सल्लाह दिने गरेको छु,’ उनले नागरिकलाई भने।

अहिले कानुनी हिसाबले २० वर्ष नपुगिकन विवाह गर्न पाइँदैन। जसले गर्दा २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउन नपाउने व्यवस्था सरकारी नियममै छ।  किसोर–किसोरीले असुरक्षित यौनसम्पर्क गर्ने र गर्भ बसेको अवस्थामा सुरक्षित गर्भपतन गराउने प्रचलन बढेको छ। तर, सुरक्षित गर्भपतन गराउन सरकार मातहत दर्ता भएका स्वास्थ्य संस्थामै जानु उपयुक्त हुने स्वास्थ्यकर्मीको सुझाव  छ।

सुनसरीकै तथ्यांक हेर्दा आर्थिक वर्ष २०७५–०७६ मा २० वर्षभन्दा कम उमेरका किसोरी ५७१ जनाले गर्भपतन गराएका छन्। जसमा मेडिकल प्रक्रियाबाट ४०२ र सर्जिकलबाट १६९ जनाले गर्भपतन गराएको रेकर्डमा उल्लेख छ। जिल्लामा एक वर्षको अवधिमा २१ वटा सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थामा २० वर्षभन्दा माथिका सात हजार ८७१ जनाले सुरक्षित गर्भपतन गराएको जिल्ला अस्पतालको रेकर्डमा उल्लेख छ। यीमध्ये पाँच हजार २५२ जना औषधि र दुई हजार ६५६ जना उपकरणको प्रयोगद्वारा गर्भपतन गराएको स्वास्थ्य कार्यालय अधिकृत पूजा कुँवरले जानकारी दिइन्। सुनसरीमा सात हजार ४०३ जनाले गर्भपतनपश्चात परिवार नियोजनको साधन प्रयोग गर्ने गर्छन्।

उत्ता, मोरङमा आर्थिक वर्ष २०७५–०७६ को अवधिमा १३३ जनाले सुरक्षित गर्भपतन गराएका छन्। यीमध्ये ८४ जना औषधि र ४९ जना उपकरणको प्रयोगद्वारा गर्भपतन गराएको रकेर्डमा उल्लेख छ। मोरङमा एक हजार ८३० जनाले गर्भपतनपश्चात परिवार नियोजन गरेको रकेर्डमा उल्लेख छ।

गर्भपतन दुई तरिकाले गरिन्छ। एउटा औषधको प्रयोगबाट र अर्को उपकरणको प्रयोगबाट। औषधिको प्रयोगद्वारा ९ हप्तासम्मको गर्भलाई सुरक्षित पतन गर्न सकिन्छ। उपकरणको प्रयोगद्वारा १२ हप्तासम्मको गर्भलाई साधारण उपकरणको प्रयोगद्वारा सुरक्षित रूपमा पतन गर्न सकिन्छ। यी दुवै प्रयोग सुरक्षित छन्। महिलाले आफ्नो इच्छाअनुसार छनोट गर्न सक्छन्। महिलामा उपकरणको प्रयोगद्वारा गर्भपतन गराएको १ हप्तासम्म योनिमा केही हाल्न मनाही गरिएको हुन्छ।

गर्भपतन गराउन जबरजस्ती करणी वा बलात्कारको हकमा १८ हप्तासम्मको गर्भलाई जुनसुकैबेला गर्भपतन गराउन सकिनेछ। यस्तै, गर्भमा रहेका शिशु विकलांग भएमा, आमाको स्वास्थ्यमा जटिलता भएमा गर्भपतन गराउन सकिन्छ।
त्यसो त गर्भवतीको इच्छा वा मञ्जुरीबिना डर त्रास देखाएर गर्भपतन गराएमा कारबाही हुनेछ। गर्भपतन गर्न कानुनले तोकेको अवधि वा अवस्थाबाहेक भ्रुणको लिंगको पहिचानका आधारमा गर्भपतन गराउन पाइँदैन। यस्तो अवस्थामा गरेमा कारबाही हुनेछ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ अनुसार गर्भवती महिलाको मञ्जुरीले बाह्र हप्तासम्मको गर्भपतन गराउन सकिन्छ। त्यस्तै, गर्भकै कारण महिलाको ज्यानमा शारीरिक वा मानसिक स्वास्थ्य खराब हुने खतरा भएमा सूचीकृत संस्थाबाट महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन मिल्छ।

गर्भपतन गराएपछि धेरै रगत बगेमा, दस दिनसम्म पनि रगत बग्न कम नहुँदा, तल्लो पेट देखेमा, ज्वरो आएमा वा छ हप्तापछिसम्म पनि महिनावारी नभए तत्काल चिकित्सकको गएमा चेक गर्नुपर्ने स्वास्थ्य विज्ञले बताए। गर्भपतन कानुनी हो भन्ने जनचेतना बढ्न सकेको छैन। गर्भपतनसम्बन्धी समाजमा नकारात्मक धारणा, गर्भपतन गर्ने महिलामाथि लाञ्छना, परिवार नियोजनका साधनको न्यून पहुँचले गर्दा यो सेवा सहज हुन सकेको छैन।

अनिच्छित गर्भधारणबाट बच्चा जन्मिरहेका छन्, गरिब र अशिक्षित महिला समस्याको मारमा छन्। ‘गर्भ रहे के हुन्छ ? तुहाउने औषधि पाइहालिन्छ नि भनेर कपितयले लापरबाही गर्दा पनि समस्या हुने गरेको छ,’ परिवार नियोजन केन्द्र इटहरीका प्रबन्धक कुमार गिरीले भने, ‘गर्भपतन गराउने स्वास्थ्य संस्थामा नजाँदा बढी पैसा पनि तिर्नुपर्ने र स्वास्थ्यमा पनि समस्या हुने खतरा हुन्छ। जसले गर्दा सम्बन्धित व्यक्ति आफंै सचेत हुनुपर्छ।’

प्रकाशित: १० आश्विन २०७६ ०६:२९ शुक्रबार

गर्भपतन चिकित्सक