समाज

कालोपत्रे तीन महिना नपुग्दै उप्किन सुरु

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–७ जोरबौद्धदेखि थुलुङ दुधकोसी गाउँपालिका–१ नेलेबजारसम्मको कालोपत्रे तीन महिना नपुग्दै उप्किन थालेको छ। जोरबौद्धदेखि देउसाको बोगलसम्म करिब २२ किलोमिटर ग्राबेल र जोरबौद्ध देखि नेलेसम्म करिब १० किलोमिटर कालोपत्रे गरिएको भए पनि तीन महिना नपुग्दै उप्किन थालेको हो। कालोपत्रे करिब ७ दशमलव ५ किलोमिटर मात्रै गरिएको छ। झन्डै एक दर्जन घुम्ती ग्राबेलकै भरमा छाडिएको छ।

भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेको सडक गुणस्तरहीन भएकै कारण सडकको दायाँबायाँबाट कालोपत्रे उप्किन थालेको र केही स्थानमा भासिन थालेको छ। ग्राबेलका लागि करिब २४ करोड र कालोपत्रेका लागि ४ करोड ३५ लाख रुपैयाँ लगानी गरिएको छ। स्वच्छन्द रौता जेभीले पाएको काम स्थलगत रूपमा ठेकेदार चेतनारायण श्रेष्ठले गरेका थिए। गार्माको नाजिङ भन्ने स्थानमा सडक भासिएको छ भने खोलामा राखिएका साना पुल र सडकको तल्लो भागमा लगाइएको वाल भत्किएको छ।

भलपानीको निकासका लागि बनाइएको ड्रेन पहिरोले छोपेको छ। सडकको दुवै छेउबाट बर्खाको पानीले कालोपत्रे विस्तारै भत्किँदै आएको छ। कालोपत्रेको नाममा माटोमाथि पातलो लेयर मात्र राखिएकाले भत्किन थालेको भन्दै स्थानीयले गुनासो गरेका छन्। २०७५ साल चैतको मध्यबाट थालिएको कालोपत्रे करिब ३ महिनाकै अवधिमा हतारमा सकिएको थियो।

गत असार १३ गते शुक्रबार नेलेबजारमा एक कार्यक्रम आयोजना गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइले निर्माणको काम सकिएको भन्दै प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यक्रम ओखलढुंगालाई सडक हस्तान्तरण गरेको थियो। हस्तान्तरणको समयमा डिबिएसटी पद्धतिमा गरिएको कालोपत्रेको काम गुणस्तरीय भएको दाबी गरिएको थियो।

प्रकाशित: १० आश्विन २०७६ ०१:४७ शुक्रबार

कालोपत्रे