समाज

बेपत्ता हुनबाट जोगिइन् बालिका

खोटाङ – विद्यालय जाने क्रममा सम्पर्कविहीन एक बालिका झन्डै पाँच घण्टापछि सम्पर्कमा आएकी छन्। बुधबार बिहान परीक्षा दिन विद्यालय जाने क्रममा करिब साँढे ११ बजेतिर सम्पर्कविहीन भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी १४ वर्षीया सुन्तली थापा (परिवर्तित नाम) साँझ सम्पर्कमा आएकी हुन्।

अपरिचित व्यक्तिले विषालु ग्याँस सुँघाएर बेहोस बनाएर अन्यत्र पु¥याएको बालिकाले बयान दिएकी जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए। बालिकाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ नुनथलाबाट आफन्तलाई सम्पर्क गरेपछि स्थानीय प्रहरी चौकीबाट खटिएका प्रहरीले उनलाई उद्धार गरेका थिए।

बालिकाले होस खुलेपछि आफूलाई सामान बोक्ने जीपमा जंगलबीच रोकेर राखेको तर कोही पनि नभएको अवस्थामा पाएपछि भागेर आफन्तको सम्पर्कमा आएको बताएको प्रहरी निरीक्षक खेरवारले बताए। जीपको नम्बर कति थियो भन्नेबारे बालिकाले केही बताउन सकेकी छैनन्। परीक्षण गर्दा बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ। उनलाई अपहरण गर्न खोजिएको आफन्तको भनाइ छ।

प्रकाशित: १० आश्विन २०७६ ००:१८ शुक्रबार

बेपत्ता बालिका