समाज

सवारी दुर्घटनामा तीन जनाको मृत्यु, तीन घाइते

मकवानपुर– मकवानपुरका तीन स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तरगत हेटौंडा उपमहानगरपालिका ११ थानाभ-याङ, हेटौंडा ११ राप्तीपुलनजिक र भीमफेदी गाउँपालिका ६, माण्डुमा विहीबार भएको दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन्।

भीमफेदी गाउँपालिका ६, माण्डुस्थित भित्री सडकमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ना ६ त ६०३५ नम्बरको खाली ट्रयाक्टर पल्टिदा भीमफेदी ३ का १७ वर्षीय उमेश बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। दुर्घटनामा भीमफेदी ३ का ट्रयाक्टर चालक १७ वर्षीय राजिव पोखरेल, १८ वर्षीय दुर्गा कार्की र २० वर्षीय राजु बस्नेत घाइते भएका हुन्। घाइतेहरुको हेटौंडा  अस्पतालमा उपचार भइरहेको छ।

महेन्द्र राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका ११, राप्ती पुलनजिक बसले ठक्कर दिँदा विहीबार बिहानै एक पैदलयात्रुको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुपाल्चोक घर भई हेटौंडा ११ बस्ने ४५ वर्षीय चिश्मभक्त श्रेष्ठले ज्यान गुमाएका हुन्।

भारतको सिलगुडीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ७९४२ नम्बरको बसले ठक्कर दिदा घाईते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बस र चालक झापाको दमक नगरपालिका १० का ३५ वर्षीय सुदन श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तरगत हेटौंडा उपमहानगरपालिका ११, थानाभ¥याङमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख ३५५६ नम्बरको बसले ठक्कर दिंदा सर्लाही घर भई हेटौंडा ११ सिमलटार बस्ने ७० वर्षीय कृष्णबहादुर स्याङ्तानको मृत्यु भएको प्रहरी उपरीक्षक सिंहले बताए। उनका अनुसार ठक्कर दिने बस नियन्त्रणमा लिईएको छ भने फरार भएका चालकको खोजी भइरहेको छ।

प्रकाशित: ९ आश्विन २०७६ १६:३५ बिहीबार

सवारी_दुर्घटना मृत्यु घाइते मकवानपुर