समाज

१९ वर्षे विशालको 'मेटाफर' सार्वजनिक

काठमाडौं- विशाल दत्त भट्ट द्वारा लिखित आख्यान पुस्तक 'मेटाफर' सार्वजनिक गरिएको छ। पुस्तकलाई न्यू एरा बुक्सले बजारमा ल्याएको हो।

कार्यक्रमका प्रमुख अतिथिमा नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सांसद शेरबहादुर तामाङु, विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरेु, अतिथिका रुपमा पप तथा लोक गायक मिस्टर आरजे र वक्तामा डाक्टर बेन्जु शर्मा, डाक्टर गोपिन्द्र पौडेल, साहित्यकार ईन्द्र कुमार श्रेष्ठ तथा अस्विनी कोइरालाले सार्वजनिक गरेका हुन्।

उपस्थित सांसद तामाङले पुस्तकका बारेमा बोल्दै नयाँ पुस्ताको साहित्यप्रतिको मोहलाई हौसला दिँदै जाँदा समृद्ध नेपालको प्रयासमा होस्टेमा हैसेँ हुने मत प्रकट गरे भने काङ्ग्रेस नेता घिमिरेले नेपाली साहित्यको सहि ढङ्गले विकास भएमा नेपाली समाजको पुनर्जागरण टाढा नरहेको मत प्रकट गरे। दुबै अतिथिद्वयका मतमा तात्विक भिन्नता रहेपनी सैद्धान्तिक पाटो भने एउटै रहेको छ।

वक्ताहरुले भने पुस्तक र लेखकका बारेमा समिक्षा गर्दै लेखकलाई थप हौसला प्रदान गरेका छन्। कलिलो उमेरका लेखक विशाल दत्त भट्टलाई आगामी दिनहरुमा अझै लेख्न र साहित्यमा लागिरहन अभिप्रेरित समेत गरेका छन्। साथै नयाँ लेखकलाई पनि अवसर दिनुपर्ने प्रकाशक मोहन जङ राउतले बताए।

पुस्तकभित्र विभिन्न परिवेशका १५ वटा कथाहरू समेटिएका छन्। कथाले नेपालको सुदुर पश्चिम हुँदै अन्य भेगलाई सुक्ष्म ढङ्गले चित्रण गरेको छ। पुस्तक पढ्दै जाँदा अहिलेको युवाका समस्या र मनोविज्ञान थाहा पाइने, नेपाली समाज, संस्कृति, राजनीतिका विकृति, विसङ्गतिको चित्र झल्झली आउने, पुँजीवादी अर्थतन्त्र र उपभोक्तावादी संस्कृतिले पारेको दुष्प्रभाव देख्न पाइने अनि कथा भन्ने पृथक शैली निर्माणको आदि विशेषता युक्त यस पुस्तकले पाठकलाई सँगै हिंडाउने लेखक भट्टको दाबी छ।

भट्टको यो पहिलो साहित्यिक पुस्तक हो। डोटी जिल्लामा जन्मिएका उनी हाल नेपाल ल क्याम्पसमा बिए.एल.एल.बि अध्ययनरत छन्।

प्रकाशित: ९ आश्विन २०७६ ११:५९ बिहीबार

भट्ट मेटाफर सार्वजनिक