समाज

किसानलाई बालीनाली जोगाउन हम्मे

महेन्द्रनगर– किसानको एउटै सपना हुन्छ। बालीनाली सप्रियोस्। त्यहि बालीनालीलाई राम्ररी घर भित्र्याउन पाउँ। जसले वर्षभरी खान र लाउन पुगोस्। तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानको हकमा त्यस विपरित छ।

चर्को घाम र पानी, हिउँदमा चिसोको व्यवस्था गरी खेतमा उब्जाएको अन्नबाली एकै रातमा वन्यजन्तुले सखाप पार्दा मध्यवर्ती क्षेत्रका किसानका सपना चकनाचुर हुने गरेका छन्। वर्षौदेखि यहाँका किसान र वन्यजन्तुबीच यस्तै संघर्ष चलिरहेको छ।

गएराति निकुञ्जबाट बाहिर आएका हात्तीले स्थानीय बासिन्दाको धानबालीमा वितण्डा मच्चाएको छ। भीमदत्त नगरपालिका–१६ मझगाउँमा जंगली हात्तीले स्थानीयको धानबाली नष्ट गरेको छ। स्थानीय बासिन्दा केशव साउँदले मध्यरातमा आएका हात्तीले घर पश्चिममा रहेको खेतमा धानबाली खाएको बताए। ‘राती करिब २ बजेको होला। हात्ती कराएको आवाज आयो।’ स्थानीय बासिन्दा साउँदले भने, ‘डरले बाहिर निस्कन सकेनौं। बिहान हेर्दा धानबाली सखाप पारेको देखे।’

फष्टाइसकेका धान काट्न सुरु गरेका साउँद गएराति हात्तीले धानबाली तहसनहस गरेपछि पिरलोमा छन्। ‘धान धन्क्याउने तयारीमा थियौं। एकै रातमा हात्तीले सबै मासेर गए।’ पीडित साउँदले थपे, ‘जंगली जनावरले साह्रै सताएका छन् । कष्टगरी उब्जाएको अन्नबाली सधैं नोक्सान गरि जान्छन्।’

यहाँका किसानले खेतमा अन्न छरे र रोपेदेखि घरभित्र नथुपार्दासम्म दिनरात त्यसको निगरानी गर्नुपर्ने बाध्यता छ। जसको कारण वन्यजन्तु नै प्रमुख हुन्। बुधबार राती साउँदको खेतमा शुक्लाफाँटाको प्रवेशद्वारबाट हात्ती पसेका थिए। साउँदले छावा (बच्चा)सहितको हात्ती धानबालीमा पसेको बताए। उनको खेत प्रवेशद्वार पश्चिममा छ।

त्यसअघि उनको घर छेउमैं रहेको चन्द्रबहादुर साउँदको आगनमा राखेको धान र पराल समेत हात्तीले खाएको थियो। ‘सुतेको थिए, आगनबाट आवाज आएको सुने’ चन्द्रले भने, ‘झ्यालबाट हेर्दा हात्ती रहेछ, चुप लागेर हेर्नुको विकल्प थिएन्।’ हात्तीले गाउँ पसेपछि त्यति कराउँदा पनि निकुञ्ज र सुरक्षार्थ तैनाथ नेपाली सेनाले धपाउन कुनै चासो नदेखाएको उनको गुनासो छ। उनको घरदेखि ५० मिटरको दुरीमा सेनाको प्रवेशद्वारमा २४ घण्टा सेनाका जवान उपस्थित हुन्छन्।

हात्तीले स्थानीय किसानको खेतमा नोक्सानी गरेको यो पहिलो घटना हैन्। गत भदौ महिनाभरी भीमदत्त नगरपालिका–१४ कटानको रानाथारु बस्ती र पलिया गाउँमा हात्तीको बथानले सधैंजसो खेतबारीमा आतंक नै मच्चायो। जंगली हात्तीले आफ्नो बालीनाली नोक्सान गर्न थालेपछि स्थानीय रातभर जाग्राम बसेर बिताए। ‘ठुलै बथान खेतमा पस्यो। होहल्ला गर्दा पनि भाग्दै भागेनन्।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सीमासँगै घरखेत जोडिएका तुलसीराम रानाले भने, ‘हल्ला सुनेर मानिस भएतिर आउन थाले। सबै गाउँले टाएर बालेर र थाल ठटाउँदै हल्ला गर्दा बल्ला जंगल पसे।’

हात्ती आउने क्रम नरोकिएपछि स्थानीयले निकुञ्जमा गुहार लगाए। त्यसपछि अनुमतीमा पटाका बोकेर रातभर खेतमा बसेर जाग्राम गर्नु परेको आर्का पीडित जगन्नाथ रानाले बताए। ‘१०÷१२ को बथानमा आउने गरेका हात्तीले जंगल छेउका धेरै जसो किसानको धानबालीमा क्षती गरेको छ।’ जगन्नाथले भने, ‘खेतीपाती लगाउनु भन्दा जोगाउनु झन कठिन छ।’

हात्तीमात्रै नभएर यहाँका किसानको बालीनाली  चित्तल, बदेल, बाँदरलगायतका वन्यजन्तुले नोक्सान गर्ने गरेका छन्। ‘धान काट्ने तयारीमा छौं । तर, रोपे जति भि¥याउन सक्छौं जस्तो छैन्।’ भीमदत्त नगरपालिका–१६ परखेडीका भुवन साउँदले भने, ‘पाकेको धानमा रातभरी बँदेलको हुल पस्छ। बिहान हेर्दा खेतभरी तहसनहस देखिन्छ।’ सुरुमा चित्तलले बाली पाकेपछि हात्ती, बँदेल र बाँदरले हैरान गर्ने गरेको भुवनले गुनासो गरे।

पछिल्लो समयमा स्थानीय बाँदरबाट पनि धैरै हैरान भएका छन्। घर आगनमै पसेर बाँदरले अन्नबालीसँगै सागसब्जी र फलफुल खाएर जाने गरेको स्थानीयले बताए। निकुञ्जले प्रवेशद्वारदेखि केहि दुरीसम्म कंक्रिट प्रर्खाल र त्यसपछि तारबार निर्र्माण र मर्मत सम्भार गरे पनि जंगली जनावरको आतंक भने स्थानीयका लागि टाउको दुखाई नै बनेको छ। क्षतीपुर्तीका निम्ति निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापनमा निवेदन दिए पनि उचित क्षतीपुर्ती नपाईने गरेको र लामो समयसम्म सुनुवाईसमेत नहुने गरेको स्थानीयको गुनासो छ।


राजेन्द्र महेन्द्रनगर
क्याप्सन ः 
१. र २. बुधबार मध्यराती जंगली हात्तीले चन्द्र साउँदको घर अगाडी राखेको धानबाली र परालमा गरेको नोक्सानी । 
३. जंगली हात्तीले गतराती क्षती गरेको केशव साउँदको खेत ।

प्रकाशित: ९ आश्विन २०७६ ११:२४ बिहीबार

हात्ती_आतंक किसान बालीनाली