समाज

शे–फोक्सुण्डोको साल्दाङमा पहिलोपटक मोबाइल सेवा

डोल्पा– सञ्चारको पहुँच नपुगेको माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा पहिलोपटक नेपाल टेलिकमको मोबाइल सेवा सुरु भएको छ। 

दुरसञ्चार प्राधिकरणले गाउँपालिकामा सेवा बिस्तार गर्ने क्रममा टावर जडान गरेर शे–फोक्सुण्डोमा सेवा दिएको हो। शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङमा मोबाइल सेवा शुरु भएसंगै माथिल्लो डोल्पाका ६० प्रतिशत नागरिक सञ्चारमा जोडिएका छन्। 

शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र रहेको क्षेत्र साल्दाङ, नाम्दो, काराङ, तिलिङ कोमास लगायतका क्षेत्रमा पहिलोपटक मोबाइल सेवा सुचारु भएपछि सर्वसाधारणलाई ठूलो राहत भएको गाउँपालिका अध्यक्ष टसिटुण्डुप गुरुङले बताए। 

सूचना र सञ्चारबारे राम्रो जानकारी नै नभएका भोटवासीले घरमा बसेर हातहातमा मोबाइलबाट देश बिदेशमा कुरा गर्न पाउँदा चकित परेको छिरिङछोइके लामाले बताए। साल्दाङमा मोबाइल सेवा नहुँदा हप्ता दिन लगाएर प्रतिमिनेट १० रुपैयाँ तिरेर फोन गर्न जानुपर्ने बाध्यताबाट स्थानीयले छुटकारा पाएको सोनामफुन्जो गुरुङले मोबाइलबाट जानकारी दिए।

ठूलो भुगोल रहेको शे–फोक्सुण्डो गाउँपालिकामा अझै पनि ४० प्रतिशत नागरिक सञ्चारको पहुँचभन्दा बाहिर छन्। माथिल्लो डोल्पाको साल्दाङ, धो, मुकोट, फोक्सुण्डोको रिग्मोमा नमस्ते मोबाइल सेवा बिस्तार भएको हो।

अब आउने बर्षमा सबै नागरिक सञ्चारको पहुँचमा आउने बताउँदै अध्यक्ष टसीटुण्डुपले सञ्चार तथा बिद्युतको अभाव र भौगोलिक विकटताका कारण केन्द्रमा कर्मचारी नबस्ने समस्या देखाउने कुरा छुट नहुने समेत बताए। 

प्रकाशित: ८ आश्विन २०७६ ११:१३ बुधबार

डोल्पा शे–फोक्सुण्डो साल्दाङ मोबाइल_सेवा नेपाल_टेलिकम