समाज

कक्षा ११ को नतिजा सुधार हुन सकेन

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले मंगलबार प्रकासित गरेको कक्षा ११ को परीक्षाफलमा ए प्लस ग्रेड अर्थात ९० प्रतिशत अंक कटाउने विद्यार्थीको संख्या एक प्रतिशत पनि पुगेन। बोर्डले प्रकाशित गरेको परीक्षाको नतिजामा नियमिततर्फ कुल ३ लाख ४९ हजार ६ सय परीक्षार्थी सहभागी थिए। जसमध्ये जिपिए ३.६१ – जिपिए ४ प्राप्त गर्ने विद्यार्थीको संख्या २ हजार ३ सय १९ मात्र रह्यो। अर्थात, ए प्लस ग्रेड ल्याउनेको प्रतिशत ०.६६ मात्र रह्यो।

बोर्डका सदस्यसचिव दुर्गा अर्यालले सरकारले परीक्षा ग्रेडिङ प्रणालीबाट सञ्चालन गरिए पनि प्रश्नपत्र पुरानै ढाँचामा सोधिने कारणले गर्दा नतिजा सुधार हुन नसकेको बताए। उनले बोर्डले नतिजा सुधार गर्न प्रश्नपत्रको शैली परिवर्तनको गृहकार्य सुरु गरिसकेको बताए। उनले ग्रेडिङ कार्यान्वयनमा ल्याएर पनि नतिजा सुधार हुन नसक्नुमा प्रश्नपत्र निर्माण ग्रेडिङअनुसार नभएको बताए।

नतिजा सुधारका लागि परीक्षा बोर्डले प्रश्नपत्र निर्माणको ढाँचा फेर्नेदेखि परीक्षा सञ्चालन, नतिजा प्रकाशन र व्यवस्थापनसम्मको कामलाई नयाँ ढंगबाट गर्ने रणनीति बनाएको छ

‘यस पटकको नतिजामा पनि पासमार्क ल्याउनेहरुको जमात नै ठूलो छ। जिपिए १.६१ देखि २ जिपिए ल्याउनेको संख्या यसपाली पनि बढी नै रह्यो,’ सदस्य सचिव अर्यालले नागरिकसँग भने, ‘४० प्रतिशत ल्याएर पास मात्र हुनेहरुको संख्या ९० हजार तथा प्रतिशतमा २५.६४ रहेको छ। त्यही भएर बोर्डले यस वर्ष शिक्षकहरुलाई तालिम दिएर ग्रेडिङ अनुसारको प्रश्नपत्र निर्माण गर्ने तयारी गरिरहेको छ। यस वर्ष नयाँ ढंगबाट निर्माण भएको प्रश्नपत्रलाई हिमाल, पहाड र तराइका २८ जिल्लाका विद्यालयमा परीक्षण गरिने तयारी भइरहेको छ।’ उनका अनुसार ०७७ मा परीक्षणको नतिजा अनुसार सुधार गर्दै ०७८ सालदेखि माध्यामिक शिक्षाको परीक्षाहरु ग्रेडिङ अनुसारको नयाँ प्रश्नपत्रबाट सञ्चालन हुन्छ।

बोर्डले प्रकाशित गरेको नतिजामा जिपिए १.६१–२ सम्म (सि ग्रेड) ल्याउने विद्यार्थी संख्या ८९ हजार ६ सय ६० रहेको छ। नतिजाको आधारमा यो संख्या सबैभन्दा उच्च हो। जिपिए ३.२१–३.६० (ए ग्रेड) ल्याउने विद्यार्थीको संख्या १३ हजार ७ सय ७२ अर्थात ३.९४ प्रतिशत छ भने जिपिए २.८१–३.३.२० (बि प्लस ) ल्याउनेको संख्या ३२ हजार २ सय ५३ अर्थात ९.२२ प्रतिशत छ। जिपिए २.४१ देखि २.८० (बि ग्रेड) ल्याउने विद्यार्थीहरु १५.६४ प्रतिशत रहेको छ भने जिपिए २.०१– जिपिए २.५० अर्थात सि प्लसमा २४ प्रतिशत विद्यार्थी छन्।

बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले ग्रेडिङ अनुसारको नतिजा ल्याउन समग्र परीक्षा व्यवस्थापनमै सुधार गर्दै जानुपर्ने बताए। उनले अबको परीक्षा स्तरीय र नतिजा पनि गुणस्तर बनाउन बोर्डको जोड रहेको दाबी गरे। ‘यस पटकको नतिजामा कमजोर ग्रेडमा केही विद्यार्थी घटेका छन्,’ अध्यक्ष पौडेलले भने, ‘माथिल्लो ग्रेडमा विद्यार्थी थोरै भए पनि बढेका छन्।’

उनले थपे, ‘समग्र नतिजा हेर्दा ५० प्रतिशत माथिका अंकमा परेका विद्यार्थीहरु कुल ५३ प्रतिशतको हाराहारीमा देखिन्छन्। माथिल्लो ग्रेडमा अझै विद्यार्थी पुग्न चुनौती नै छ।’ त्यही भएर समग्र नतिजामा सुधार ल्याउन परीक्षा बोर्डले नयाँ तरिकाबाट प्रश्नपत्र निर्माणदेखि परीक्षा सञ्चालन, नतिजा प्रकाशन र व्यवस्थापनसम्मको काम स्तरीय गर्न जुटेको उनको भनाइ छ।

प्रकाशित: ८ आश्विन २०७६ ०४:०१ बुधबार

राष्ट्रिय_परीक्षा_बोर्ड