समाज

भाइरल ज्वरोका बिरामी थपिँदै

डोटी- जिल्लामा पछिल्लो केही हप्तादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ थपिँदै छ। यहाँको जिल्ला अस्पताल लगायत अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको स्वास्थ्यकर्मी बताउँछन्। पहिले एक सय जनासम्म बिरामी आउने गरेका भए पनि अहिले तीन सयसम्म पुग्न थालेको जनाइएको छ।     

जिल्ला अस्पताल डोटीमा उपचारका लागि पुग्नेमध्ये अधिकांश स्थानीयवासीमा भाइरल ज्वरो र निमोनियाको संक्रमण देखापरेको जिल्ला अस्पतालका डा. गिरीश अवस्थीले बताए। उनले भने, 'अस्पतालमा भाइरल ज्वरोका बिरामी थपिँदै जान थालेका छन्, उपचार गर्नमा हामीलाई पनि समस्या हुन थालेको छ।'    

फोहर तथा दूषित पानीको प्रयोग गरेका कारण यहाँका बासिन्दामा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको उनको भनाइ छ। हल्का ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जीउ दुख्ने लगायत लक्षण भएका बिरामीको सङ्ख्या प्रतिदिन बढ्दै गएको शैलेश्वरी अस्पताल दिपायलका डा. ललित लिम्बूले बताए।     
     
भाइरल ज्वरोले पाँच दिनदेखि एक हप्तासम्म प्रभावित गर्न सक्ने भएकाले स्वस्थ्य व्यक्तिले भाइरल ज्वरोको सङ्क्रमण भएका बिरामीबाट टाढै बस्नुपर्ने यहाँका चिकित्सकले सुझाब दिएका छन्। व्यक्तिगत सरसफाइ र खानपान तथा पानी उमालेर खानमा ध्यान दिन जिल्ला अस्पताल डोटीका डा. अवस्थीको सुझाव छ। रासस

प्रकाशित: ७ आश्विन २०७६ १३:१९ मंगलबार

भाइरल बिरामी