समाज

परोपकारी संस्थालाई नगदसहित सम्मान

मध्यपुरथिमि- मध्यपुरथिमिको राधेराधेस्थित भक्ति मन्दिर श्यामा श्याम धामको ११ औं वार्षिकोत्सवको अवसरमा नगदसहित एक सामाजिक संस्थालाई सम्मान गरेको छ।     
     
राधा माधव समिति नेपालले आयोजना गरेको कार्यक्रममा असहाय मनोरोगी महिला तथा उनीहरुका बालबालिकालाई संरक्षण प्रदान गर्दै आएको ‘स्नेही काख नेपाल’ नामक परोपकारी संस्थालाई राधा माधव समिति नेपालका कार्यवाहक अध्यक्ष गोपाल सापकोटाले आज सम्मान गरेका हुन्। संस्थाकी अध्यक्ष नेहा पोख्रेललाई प्रशंसापत्र सहित नगद २५ हजार रुपैयाँले सम्मान गरिएको हो।     
     
उक्त संस्थाले असहाय मनोरोगी महिला र उनीहरुका पिता नखुलेका सन्तानलाई संरक्षण दिएर ईश्वरीय सेवाबाट प्रभावित भई पुण्यको काम गरेको भन्दै संस्थालाई सम्मान तथा सहयोग गरेको राधा माधव समिति नेपालका प्रवक्ता सुरेश प्रकाश आचार्यले जानकारी दिए।     
     
कार्यक्रममा विद्वत समाज नेपालका अध्यक्ष घनेन्द्र पुरुष ढकाल, राधा माधव समिति नेपाल श्यामा श्याम धामका प्रबन्धक कृष्णा सापकोेटा, डिभाइन युथ क्लब नेपालका अध्यक्ष उत्सव पाण्डेलगायतले मानवीय सेवाका काममा अहिलेको पुस्तालाई लैजानुपर्नेमा जोड दिए।     
     
कार्यक्रममा १ सय ७० जना साधुसन्तलाई धाममा भोजन गराई जीवनोपयोगी सामान तथा दक्षिणा प्रदान गरेको थियो। रासस

प्रकाशित: ७ आश्विन २०७६ १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App