समाज

लोकतान्त्रिक समूहको प्रश्नः ‘उहाँहरुको मन्त्री हुँदा पनि किन व्यवसायीले दुःख पाए?’

वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारण सभा तथा निर्वाचन यहीं असोज ७ गते हुँदैछ। निर्वाचनको मिति नजिकिंदै जाँदा संघको नेतृत्व लिन दुई प्यानल चुनावी मैदानमा छन्। नेपाली कांग्रेस पार्टी निकट व्यवसायीहरुले विष्णुप्रसाद गैरेलाई अध्यक्षको रुपमा अघि सारेका छन् भने केही संयुक्त व्यवसायी र सत्ता पक्ष नेकपाले सरोज कुमार पोखरेललाई अघि सारेका छन्। कांग्रेसको समर्थनमा उम्मेदवार बनेका अध्यक्षका प्रत्यासी गैरेसँग गरिएको कुराकानीको सम्पादित अंशः

निर्वाचनको मिति नजिक आइसक्यो, चुनाव हुँदैछ। कस्तो प्रतिक्रिया पाइरहनु भएको छ व्यवसायीबाट ?

यो पल्टको निर्वाचनमा हामीले विगतमा जस्तो सबै व्यवसायीको घर, कार्यालयमा गएर भोट माग्न त भ्याएनौ। तर प्रत्यक्ष/अप्रत्यक्ष रुपमा अधिकांश व्यवसायीलाई हाम्रा एजेन्डाका बारेमा जानकारी भइसक्यो। व्यवसायी साथीहरु विगतको नेतृत्वबाट आजित भइसकेका छन्। त्यसको पुष्टि विभिन्न भेलाले नै प्रस्ट पारिसक्यो। व्यवसायीको गुनासो एउटै मात्र पाएको छौं। कहिलेसम्म हामीलाई आश्वासन मात्र दिइरहने नेतृत्वले भनेर। त्यसैले व्यवसायीले सहज रुपमा, निर्वाध ढंगमा व्यवसाय गर्ने वातावरण खोजेका छन्। त्यो वातावरणको निर्माण मेरो नेतृत्वले गरेर छोड्छ। व्यवसायी पनि मेरो समूहले नेतृत्व गरेको खण्डमा हाम्रा समस्या समाधान हुन्छन। हाम्रा एजेन्डा स्थापित हुन्छन भन्नेमा ढुक्क छन्।

तपाईको समूहको मुख्य एजेण्डा के हो?

म दुई वर्षे क्यालेन्डर बनाएर काम गर्न आएको हुँ। मैले जिते भने भोलि नै यसो गर्छु पर्सी उसो गर्छु भनेर भन्दिन। प्राथमिकताका आधारमा हामी सबै काम योजनावद्ध ढंगमा गर्छौं। त्यसमा मेरो पहिलो प्राथमिकता अहिलेको सेवा शुल्कलाई व्यवस्थित गर्ने हुन्छ। हामी १० हजारमा काम गर्न सक्दैनौं। कामदार पठाउन सक्दैनौं। अन्तर्राष्ट्रिय अभ्यास के छ त्यो अनुरुप हाम्रो सेवा शुल्क निर्धारण हुनुपर्छ। र, त्यो बनाएरै छोड्छौं। दोस्रो वैदेशिक रोजगार ऐनमा जुन व्यवस्था छ त्यसलाई संशोधन गर्ने। त्यहीँ ऐनमा भएको १ सय भन्दा कम कामदार पठाउने व्यवस्थाले भोलि ३ सय भन्दा बढी व्यवसायी हो व्यवसायबाट पलायन हुनुपर्ने स्थिति आउँदैछ। त्यो व्यवस्थालाई हामी खारेज वा संशोधन गरेरै छोड्छौं। तेस्रो भनेको व्यवसायीका साझा समस्या सरोकारवालासँग बसेर निकास खोज्ने।

तर यी सबै काम त सरकारले गर्ने हो। तपाईको समूह त प्रतिपक्षी दलको समर्थनमा उठेको, कसरी काम गर्नु हुन्छ? 

हो अहिले व्यवसायीमा यहि कुराको भ्रम छरिँदैछ। निर्वाचनमा भाग लिएको अर्को समूहले भनेको म सुन्दै छु हाम्रो त पहुँच छैन रे, हामीलाई त काम गर्न अप्ठेयारो छ रे भनेर। तर के मन्त्री उहाँहरुको मात्र हो र? सरकार उहाँहरुको मात्र हो र? वैदेशिक रोजगार के सत्ता पक्षको मात्र सरोकारको विषय हो? उहाँको मन्त्री भएको भए के गर्नु भयो त उहाँहरुले? समस्या त झन् झन् थपिंदै मात्र गए। समस्या उहाँहरुकै कारण थपिंदै जाने अनि कहिलेसम्म ढाकछोप गरेर व्यवसायीको नेतृत्व लिन्छु भन्ने छ?

चुनावी प्रचारको क्रममा मैले सुने उहाँहरुले भनेकोः हाम्रो त सिंहदरबार छिर्नलाई नै पहुँच छैन रे। म उहाँहरु लगायत आम व्यवसायीलाई के चुनौती दिन्छु भने उहाँहरु अनामनगर नपुग्दै म मन्त्रीज्यू सँग बैठक गरेर फर्किसक्छु। यो मेरो दावा र उहाँहरुलाई चुनौती भयो। त्यति पहुँच छ हाम्रो।

अन्त्यमा व्यवसायीलाई के भन्नुहुन्छ? 

हामी चुनावी मैदानमा छौं। चुनावसँग जोडेर मेरो व्यक्तिगत रुपमा चरित्र हत्या गर्ने प्रयास गरिँंदैछ भनेर केही व्यवसायी साथीहरुले भन्नु भयो। म स्वच्छ ढंगले चुनावी प्रतिस्पर्धामा उत्रिन हाम्रो बिपक्षी समूहलाई आग्रह गर्दछु। व्यवसायीको मन जितेर चुनाव लड़नुस, डर धाक धम्कीले होइन। यो व्यवसायलाई बचाउने वा यहीँ मर्न दिने अब व्यवसायीकै हातमा छ। त्यसैले एकपटक विगतलाई सम्झेर आफ्नो मत प्रयोग गर्न अनुरोध गर्दछु।

प्रकाशित: ६ आश्विन २०७६ ०२:४० सोमबार

वैदेशिक_रोजगार_व्यवसायी_संघ निर्वाचन विष्णुप्रसाद_गैरे उम्मेदवार