समाज

दलालबाट पीडितले पाए करिब साढे १५ हजार फिर्ता

पहलमान तामाङकी श्रीमतीको नाममा अवुधाबीबाट पठाइएको रकमको कागजात। तस्बिर ः नागरिक

खोटाङ - दुबई (यूएई)मा आकर्षक तलवका लागि रोजगार पाउने प्रलोभनमा ठगिएका खोटाङका एक युवाले केही रकम फिर्ता पाएका छन्। यूएईमा आकर्षक तलवसहितको रोजगारी दिलाउने प्रलोभनमा ठगिएका केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका पहलमान तामाङले ठगिएका रकममध्ये ५ सय दिराम( आजको विनिमय दरअनुसार करिब १५ हजार ४ सय नेपाली रुपैयाँ) फिर्ता पाएका हुन्।

आकर्षक तलवका लागि राम्रो कम्पनीमा काम दिलाउने बाहनामा स्याङ्जाका सुर्यप्रकास गिरीले १ हजार ८५१ दिराम ( करिब नेपाली ५५ हजार ५३० रुपैयाँ) लिएर तामाङलाई फसाएको समाचार गत बिहिबार नागरिकन्यूजडटकम मा प्रकाशन भएको भोलिपल्टै दलालले ५ सय दिराम रकम फिर्ता पठाएका हुन्। गिरीले सो रकम सोझै आफ्नो नामबाट नपठाइ अबुधाबीबाट बद्रीप्रसाद पौड्यालको नामबाट तामाङकी श्रीमती विजयकुमारी तामाङको नाममा पठाएको खोटाङ घर भइ हाल दुबई प्रहरीमा कार्यरत हिराधन चाम्लिङले जानकारी दिए। दलालले बाँकी रकम पनि केही दिनमा पठाइदिने जवाफ दिएको पीडित पक्षको भनाई छ।

वैदेसिक रोजगारीका सिलसिलामा सन् २००९ मा दुबईको अजमानस्थित एजे सेक्यूरिटी कन्सल्ट्यान्सीमा काम गर्न पुगेका तामाङले ९ वर्षसम्म काम गरेपछि कम्पनी परिवर्तन गर्नेक्रममा गिरीले ठगी गरेका हुन्। नयाँ कम्पनीको खोजीमा रहेको अवस्थामा तामाङलाई अलफाला सेक्यूरिटी कम्पनीमा काम दिलाउने र त्यसका लागि तत्काल भिसा दिने भन्दै गिरीले पैसा मागेको पीडित तामाङले बताए।

रोजगारी पाउने आशामा तामाङले दुबईको सार्जाबाट अवुधावीमा रहेका गिरीकी श्रीमती सञ्जिता घर्ती भुजेलको नाममा २०७५ साल मंसिर ११ गते रकम पठाइदिएका थिए। तर, रकम पठाएपछि तोकिएको समयमा तोकिएको काम नदिलाएर लामो समयसम्म झुलाएको तामाङले गुनासो गरे। रोजगारका लागि उनले कैयौंपल्ट अजमानबाट अबुधावी ओहोर–दोहोर गर्नु परेको बताए।

पैसा दिए पनि लामो समयसम्म काम नपाएपछि तामाङ आफै अलफाला सेक्यूरिटी कम्पनीमा पुगेका थिए। तर, भिसा निस्कन ढिलाइ भएपछि उनी गत माघ ११ गते नेपाल फर्किएका थिए। ‘सुर्यप्रकाले तत्काल नै रोजगार दिलाउनेजस्तोगरी ललाईफकाई ग¥यो। तर, पैसा दिएपछि कहिल्यै काम दिलाउन सकेन, लामो समयसम्म झुलाइरह्यो। पैसा फिर्ता माग्दा पनि दिएन,’ तामाङले भने, ‘अहिले त फेसबुक, ह्याटस् एपमा पनि ब्लक गरेको छ।

उसले यसरी धेरै जनालाई ठगि गरहेको रहेछ।’ झुट बोल्दै ठगी गरेको गिरीविरुद्ध वैैदेसिक रोजगार प्रवद्र्धन बोडमा उजुरी दिने तामाङले बताए। गिरीविरुद्ध बोर्डमा कैयौंको उजुरी परे पनि हालसम्म कारबाही नभएको पीडितको गुनासो छ। गिरीले दिएको भिजिटिङ कार्डमा उनी टिएमआरएस अल ताइसिर म्यानपावर रिक्रुटमिन्ट सर्भिसका विजिनेस डेभलपमेन्ट मेनेजर रहेको उल्लेख छ।

लिलाबहादु पाण्डेको उजुरीका आधारमा बैदेसिक रोजगार प्रवद्र्धन बोर्डले २०७५ साल चैत १८ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई बैदेसिक रोजगार सम्वन्धी कसुरमा गिरीलाई पक्राउ पुर्जी दिएर विभागमा उपस्थित गराउन पत्राचार गरेको पाइएको छ।

प्रकाशित: ६ आश्विन २०७६ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App