समाज

भारतीय स्याउलाई विस्थापित गरे पनि जुम्ली स्याउले मूल्य नपाउँदा कृषक मर्कामा

सुर्खेत- गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकेजी ७० रुपैयाँमा स्याउ बिक्री गरे। उत्पादन थोरै भए पनि आम्दानी मनग्य नै भयो उनीहरुको। यस वर्ष भने प्रतिकेजी ३५–५० रुपैयाँ मूल्य पाउन पनि उनीहरुलाई हम्मेहम्मे भएको छ।     
यो वर्ष जुम्लाले छ हजार एक सय मेट्रिक टन स्याउ उत्पादन गरेको छ। स्याउ नेपालका प्रमुख शहर सुर्खेत, कोहलपुर, नेपालगञ्ज, धनगढी, बुटवल, पोखरा, काठमाडौँ मात्र नभएर सल्यान, जाजरकोट, दैलेख, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची र गुल्मी जस्ता पहाडी र भित्री मधेशका जिल्लामा पुगेको छ। रङ्गीन, स्वादिलो, पोटिलो, आकर्षक र सस्तो भएर होला यसले चाइनिज तथा भारतीय स्याउलाई पनि विस्थापित गरेको छ।     

स्याउले नेपाली बजार ढाकेर भारतीय स्याउ विस्थापित गरे पनि लगानी अनुसारको मूल्य प्राप्त नगरेको स्याउ किसानले गुनासो गरेका छन्। चन्दननाथ नगरपालिका– ८ जुम्ला उम्खोला गाउँका कृषक धर्मसिंह कठायतले राम्रो मूल्य पाउने आशाले सुर्खेतमा स्याउ पुर्‍याउँदा पनि घैयाको भाउमा स्याउ बेच्नुपरेको गुनासो गरे।     

“पोहोर साल घरमा १५ क्विन्टल स्याउ उत्पादन गरे घरमै प्रतिकेजी ५०–७० रुपैयाँ हामी किसानले मूल्य पायौँ। यसले हामीलाई खेती गर्नतर्फ उत्साहित पनि बनायो”, कृषक कठायतले भने, “रातदिनको मेहनतले होला यस वर्ष १ सय ८ क्विन्टल स्याउ उत्पादन भयो। प्रतिकेजी एक सय रुपैयाँ पर्ने स्याउ सुर्खेतमा पुर्‍याउँदा समेत मुस्किलले प्रतिकेजी ५९ रुपैयाँमा बाध्य भएर बिक्री गर्नुपर्‍यो।”     

अहिले कर्णाली, रत्न, महेन्द्र राजमार्ग आसपासका शहर तथा बजार स्याउमय बनेका छन्। जहाँतहीँ जुम्ली स्याउले ढाकेको छ। कर्णालीको डोल्पा, मुगु, कालीकोट, हुम्लाका स्याउ पनि दक्षिणका बजारमा निर्यात भएको छ। मूलतः सबै जिल्लामा उत्पादित स्याउ जुम्ली प्राङ्गारिक स्याउका नामले बिक्री वितरण भइरहेको उपभोक्ता बताउँछन्।     

त्यस्तै अर्का स्याउ कृषक पृथ्वीबहादुर बुढाले पनि लगानी अनुसारको मूल्य नपाएको बताए। सरकारले स्याउ कृषक तथा व्यापारीको समस्यामा चासो नराख्दा बिचौलिया मोटाउने गरेको आरोप लगाउँदै कृषक बुढाले भने, “स्थानीय वा प्रदेश सरकारले शीत भण्डारको व्यवस्था नगरेसम्म किसानले यो समस्या बेहोरी राख्नुपर्छ।”     

सुर्खेतका स्याउ व्यापारी प्रकाश तिमिल्सिनाले राज्यको कमजोर नीतिका कारण स्याउ किसानलाई मर्का परेको गुनासो गरे। व्यापारी तिमिल्सिनाले भने, “राज्यले कृषकलाई जतिसक्दो स्याउ उत्पादन गर भन्यो तर त्यसको उचित व्यवस्थापनका लागि बजारीकरण, ‘ग्रेडिङ’का विषयमा कहिल्यै ध्यान दिएन।” बजारको सुनिश्चितता नहुँदासम्म किसान तथा स्याउ व्यापारीले दुःख पाउने उनले जिकिर गरे।     

कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले यो मौसममा ह्वात्तै स्याउ जाँदा यसका किसानले अपेक्षित मूल्य प्राप्त नगरेको बताए। “बजारमा मागभन्दा आपूर्ति बढी हुँदा स्वभाविकरुपले यस्ता समस्याबाट किसान मर्कामा पर्नुपर्दोरहेछ”, उनले भने, “किसानका यी समस्या समाधान गर्न सरकारले बहुआयमिक शीतगृह निर्माणको योजना अघि सारेको छ।” रासस

प्रकाशित: ६ आश्विन २०७६ ०८:४६ सोमबार

भारतीय स्याउ कृषक मर्का