समाज

पासाङ ल्हामु मार्गको रसुवा खण्डमा १२ दिनपछि सवारी सञ्चालन

रसुवा - पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडक खण्डमा १२ दिनपछि सवारी सञ्चालन सुरु भएको छ। जिल्लाको कालिका गाउँपालिका–१, नागार्दुन क्षेत्रमा गत भदौ २५ गते पहिरो गएपछि सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक सञ्चालनमा ल्याइएको थियो।

मैलुङ–स्याफ्रु सडक सञ्चालनमा आएपछि यो सडक सञ्चालनमा ल्याउन ठुलो जनशक्ति परिचालन गरिएको थियो। बिहान ६ बजेदेखि राति १० बजेसम्म काम गरेर सडक सञ्चालनमा ल्याउन सफल भएको हो। आइतबार साँझ सवा ६ बजेबाट सवारी सञ्चालनमा आएको शसस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाका गुल्मपति एंवम् प्रहरी नायब उपरीक्षक किरण पौडेलले बताए। यसका लागि प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीसहितको सुरक्षा निकायको टोली स्थलगत रूपमै खटिएको थियो।

सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, चालक तथा सहचालक, जनप्रतिनिधि र स्थानीयले सहयोग पु-याएका थिए। सडक अवरुद्ध भएपछि सामग्रीको आयात तथा निर्यात ठप्प भएको थियो। सडक मर्मत सकिएसँगैै १२ दिनदेखि रोकिएका सवारी साधन सञ्चालनमा आएका छन्।

प्रकाशित: ५ आश्विन २०७६ १३:०१ आइतबार

पासाङ_ल्हामु_मार्ग रसुवा_खण्ड