समाज

जगदम्बा–श्री र मदन पुरस्कार प्रदान

काठमाडौं – २०७५ सालको मदन पुरस्कार साहित्यकार योगेश राजको ‘रणहार’ लाई प्रदान गरिएको छ। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले उनलाई मदन पुरस्कार प्रदान गरे। त्यस्तै, २०७५ सालको जगदम्बा–श्री पुरस्कारबाट बैरागी काइँला (तीलविक्रम नेम्बाङ) लाई सम्मान गरिएको छ।

उनलाई लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखन गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय योगदान गरेकाले जगदम्बा–श्री पुरस्कारबाट सम्मानित गरिएको हो।

‘रणहार’ भक्तपुरको अन्तिम मल्ल राजा रणजीत मल्लको सेरोफेरोमा केन्द्रित आख्यान हो। रणजीत युवराज हुँदादेखि राजा बन्दासम्मका संघर्षका कथा तथा पृथ्वीनारायण शाहले उपत्यका कब्जा गर्ने क्रममा अन्तिममा भक्तपुरमाथि बिजयी गरेको घटना ‘रणहार’मा समेटिएको छ।

‘६० वर्ष लामो मदन पुरस्कार तथा ३० वर्ष लामो जगदम्बा–श्री पुरस्कारलाई सल्लाह सुझाव दिने तथा हौसला बढाउने सबैप्रति आभारी छौं,’ गुठीका अध्यक्ष कुन्द दीक्षितले भने। कार्यक्रममा रिता थापाले ‘शून्य तहदेखि सहशताब्दीतिरको यात्रा’ शीर्षकमा प्रवचन दिएकी थिइन्। त्यस्तै, बैरागी काइँलाले मुन्धुमबारे विवेचना गर्दै यसबारे प्रकाश पारेका थिए। अर्का स्रष्टा योगेश राजले ‘रित्ता ठाउँको इतिहास’ शीर्षकमा विचार राखेका थिए। यस वर्षदेखि मदन पुरस्कार तथा जगदम्बा श्री पुरस्कारको राशि चार–चार पु¥याइएको छ। मदन पुरस्कार गुठीलाई प्राप्त २ सय ५७ पुस्तकमध्ये यसवर्ष ‘एकादेशमा’, ‘ओक्कल दोक्कल पीपल पात’, ‘ज्ञ’, ‘फातसुङ’, ‘मरिचिका’, ‘रणहार’ र ‘विचारको लास’ मदन पुरस्कार २०७५ को छनोटमा परेका थिए।

प्रकाशित: ५ आश्विन २०७६ ०४:२० आइतबार

साहित्यकार पुरस्कार