समाज

विद्यार्थीबाट लिएको बढी पैसा फिर्ता गर्न सहमत

चितवन - विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज सहमत भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा शनिबार जिल्ला प्रशासन कार्यालयमा कलेजका विद्यार्थी, अभिभावक, फ्याकल्टी र व्यवस्थापन पक्षबीच भएको छलफलमा यस्तो सहमति भएको हो।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका थिए। विद्यार्थी आन्दोलनमा उत्रिँदा पठनपाठन प्रभावित भएको थियो। सहमतिपछि विद्यार्थीले आन्दोलनका कार्यक्रम स्थगित गर्ने र आइतबारदेखि पठनपाठन सुरु गर्ने निर्णय गरिएको छ।

छलफलमा कलेजले नेपाल सरकार तथा आइओएमले तोकेभन्दा बढी लिएको शुल्क कात्तिक १८ गतेभित्र फिर्ता वा समायोजन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए। ‘एमबिबिएस तहमा अध्ययनरत विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता वा समायोजना गर्ने प्रतिबद्धता कलेजबाट व्यक्त भएबमोजिम शुल्क फिर्ता वा समायोजना गर्ने’ छलफलको निर्णयमा उल्लेख छ।

सरकारले तोकेभन्दा बढी लिएको शुल्क फिर्ता वा समायोजन गर्नका लागि टेकप्रसाद चापागाईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ। समितिले कलेजले लिएको बढी शुल्क फिर्ता वा समायोजन गर्ने विषयमा प्रतिवेदन प्रस्तुत गर्नेछ। समितिलाई असोज १० गतेसम्मको समय दिइएको छ। कलेजले रसिद नदिईकन पनि कतिपय विद्यार्थीबाट नगद लिएकाले त्यसमा आउनसक्ने विवाद समाधान गर्ने काम समितिबाट हुनेछ।

विद्यार्थीका अन्य माग कलेज प्रशासन, अभिभावक र विद्यार्थीबीच समन्वय गरी समाधान गरिने निर्णयसमेत भएको छ। छलफलमा प्रहरी कार्यालयका प्रतिनिधि, कलेजका प्रमुख सञ्चालक डा. हरिश न्यौपाने पनि सहभागी थिए। वार्ता बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो। कलेजका २६ वटा संकायमा दुई हजारजति विद्यार्थी अध्ययनरत छन्।

सरकारले तोकेभन्दा कलेजले असुलेको पैसा फिर्ता गर्नुपर्नेलगायत माग राखेर भदौ १५ गतेदेखि पठनपाठन बन्द गरेर विद्यार्थी आन्दोलनमा उत्रिएका थिए। सरकारले एमबिबिएस अध्ययनका लागि काठमाडौं उपत्यकाका मेडिकल कलेजले ३८ लाख ४५ हजार र उपत्यका बाहिरका मेडिकल कलेजले ४२ लाख ४५ हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने गरी सीमा निर्धारण गरेको छ। चितवन मेडिकल कलेजले २० लाख रुपैयाँसम्म बढी शुल्क लिएको विद्यार्थीले बताउँदै आएका छन्।

कलेजले भने ६ लाख रुपैयाँ अतिरिक्त शुल्क लिएको स्वीकार गरिसकेको छ। त्रिभुवन विश्वविद्यालयले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै विद्यार्थीबाट शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो।

प्रकाशित: ५ आश्विन २०७६ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App