समाज

थलीका प्रहरी नायब निरीक्षक घुससहित पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिएबापत पन्तले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो।

आयोगले पाँच हजारसहित कागेश्वरी मनहरा नगरपालिका–५ स्थित एक खाजा घरबाट नियन्त्रणमा लिएको आज जानकारी दिएको छ। आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार आरोपी पन्तमाथि अनुसन्धान भइरहेको छ।

यस्तै नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्वेक्षक सिद्धराज जोशीलाई १० हजार घुससहित नियन्त्रणमा लिएको छ। जग्गा हालसाविक गर्न स्थलगत निरीक्षणका क्रममा ‘फिल्ड खर्च’ भनी सेवाग्राहीसँग घुस लिएको आरोप उहाँमाथि लागेको छ। आरोपी जोशीलाई बुधबार पक्राउ गरिएको भए पनि आयोगले आज सार्वजनिक गरेको हो।

प्रकाशित: २ आश्विन २०७६ ०८:५४ बिहीबार

घुस अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग महानगरिय_प्रहरी_प्रभाग