समाज

वर्षा भोलिसम्म जारी

काठमाडौं - सोमबार रातिदेखिको अविरल वर्षाले मुलुकभरको जनजीवन प्रभावित भएको छ । रातिदेखि सुरु भएको वर्षा मंगलबार दिनभरि जारी रह्यो । मौसम प्रतिकूल भएपछि मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टा अवरुद्ध भयो । मौसम अनुकूल नभएपछि पर्यटक बोकेर विभिन्न ठाउँका लागि उडेका ८ हेलिकोप्टरलाई काभ्रेमा आकस्मिक अवतरण गराइयो ।

मध्य महाडी भूभागमा वर्षाका कारण पहिरो गएपछि ग्रामीण सडक अवरुद्ध भए । बाढी आउँदा पर्वतको कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिनभरि नै देशभरि नै कहीं सामान्य र कहीं भारी वर्षा भयो ।

यो क्रम बिहीबारबिहानसम्म कायम रहने महाशाखाले जनाएको छ । मौसमविद् गंगा नगरकोटीले पूर्व र पश्चिमका भागमा मौसममा सामान्य बदली भई वर्षा जारी रहेको जानकारी दिइन् ।

पश्चिम र मध्य भूभागका खोलानालामा पानीको बहाव बढ्ने र चट्याङसमेत पर्ने सम्भावना भएकाले सचेत रहन आग्रह गरिएको छ । पश्चिमी भूभागमा मौसमी गतिविधि कम सक्रिय रहेकाले बुधबार त्यस क्षेत्रका केही भागमा मात्रै वर्षा हुने महाशाखाले जनाएको छ । ‘यति बेला धेरैजसो भूभागमा मौसमी गतिविधि सक्रिय छ, त्यसकारण पनि पानी कति दिनसम्म पर्ने हो, भन्न सकिन्न । बुधबार भने वर्षा जारी रहनेछ,’ नगरकोटीले भनिन्, ‘मौसम अनुकूल नभएका कारण बुधबार पनि हवाई तथा स्थल यातायातमा समस्या आउन सक्नेछ, सचेत रहनुपर्छ ।’

प्रकाशित: १ आश्विन २०७६ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App