समाज

सञ्चारमैत्री बन्दै दोलखा

दोलखा- नेपाल टेलिकम दोलखाले आफ्नो सेवामा विस्तार गर्ने भएको छ। हाल दोलखा जिल्लाका सात गाउँपालिका र दुई नगरपालिकामा सेवा विस्तार गर्न लागिएको हो।     

जिल्लाका विभिन्न ठाउँमा टावर निर्माणसँगै नयाँ गाउँपालिकाहरुमा टेलिफोन लाइन वितरण गर्ने काम तीव्र गतिमा हुँदै आएको टेलिकम दोलखाले जनाएको हो। हाल शैलुङ गाउँपालिका वडा नं ८ को भैसेडाँडामा निर्माण भएको टावर भर्खरै सञ्चालनमा आएको छ।

त्यसैगरी जिरीको हाटडाँडामा रहेको टावर अबको केही दिनमा सञ्चालनमा आउने टेलिकम दोलखाका कार्यालय प्रमुख श्याममणि अर्यालले जानकारी दिए।  

अर्यालका अनुसार लादुकमाथि चित्रेको टावर सञ्चालनमा आएसँगै दोलखा र रामेछापका केही स्थानीय व्यक्तिसँग टेलिफोनसँग जोडिएको समेत उनले जानकारी दिए। टावर विस्तार गर्ने क्रममा अबको केही दिनमा नै तामचेत दूधपोखरीमा टावर निर्माण हुने जनाइएको छ।

त्यसैगरी आगामी केही समयमा रामेछापको चुचुरेमा टावर निर्माण भई सञचालनको तयारीमा रहेको पनि उनले जानकारी दिए। अर्यालका अनुसार जिल्लाका विभिन्न स्थानमा टावर निर्माण गरी जिल्लालाई सञ्चारमैत्री बनाउने योजनासमेत छ।     

उत्तरी क्षेत्र चंखु मार्बु, खारे गौरीशङ्कर, माली, श्यामालगायत केही स्थानमा भने अझै पनि राम्ररी फोन नटिप्ने भएकाले सञ्चारबाट स्थानीय बासिन्दा मारमा परेको समेत उनले बताए।     

हाल काठमाडौँबाट खाडीचौरसम्म र धुलिखेल हुँदै खुर्कोटबाट तामाकोशीसम्म अप्टिकल फाइबर विस्तार भइरहेको छ। अर्यालका अनुसार अबको केही समयमा नै खाडीचौरबाट तामाकोशीसम्मको लाइन जडान भएसँग टेलिफोन सेवा अवरुद्ध कुनै पनि समय नहुने भएकाले जताबाट भए पनि फोन तथा इण्टरनेट सेवाबाट कोही पनि कुनै पल टाढा रहनु नपर्ने समेत उनले जिकिर गरे।     

आगामी दिनमा ग्राहकको बढ्दो मागलाई ध्यानमा राखी टेलिकम दोलखाले आफ्नो क्षमता बढाउन लागेको नेपाल टेलिकम दोलखाले जनाएको छ। यही भदौ १ गतेदेखि दोलखामा १ सय २५ लाइन क्षमताको समेत वृद्धि भएको छ। सेवा विस्तारकै क्रममा हाल विभिन्न पालिकामा विस्तार गर्ने लक्ष्यका साथ शैलुङ गाउँपालिकाको कार्यालय रहेको मागदेउरालीसम्म एडिएसएल इण्टरनेट र लाइन फोनको काम भइरहेको प्रमुख अर्यालले जानकारी दिए।     

शैलुङ्ग गाउँपालिकाका अध्यक्ष भरत दुलालका अनुसार दशैं अगाडि नै एडिएसएल फोन तथा इण्टरनेट सञ्चालनमा ल्याउन लागिएको छ। सरकारको नारालाइ ध्यानमा राखी समृद्ध दोलखा र सुखी दोलखाली बनाउन टेलिकम दोलखाले आगामी दिनमा विभिन्न वडा तथा गाउँपालिकामा सेवा विस्तार गर्दै लैजानका लागि आफूहरु अगाडि बढेको उनले जानकारी दिए।

दोलखा र आसपासका जिल्ला रामेछाप, सिन्धुपाल्चोक, सिन्धुलीका विभिन्न स्थानमा टावर राखी टेलिफोन तथा भरपर्दो इण्टरनेट सेवा विस्तार गरी देशविदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीसँग आवाजमार्फत जोडिनका लागि टेलिकमले सक्दो सेवा दिने ध्येयका साथ काम गइरहेको अर्यालले बताए। रासस   

प्रकाशित: ३१ भाद्र २०७६ ११:५३ मंगलबार

सञ्चारमैत्री दोलखा