समाज

'बर्थिङ्ग सेन्टर'को सोलार वडाध्यक्षको घरमा

ओखलढुंगा - स्वास्थ्य चौकीको सोलार वडा अध्यक्षले आफ्नो घरमा लगेर प्रयोग गरेका छन्। ईलाका स्वस्थ्य चौकी बलखुको बर्थिङ्ग सेन्टरको सोलार प्यानल सुनकोशी गाउँपालिका–१ का वडा अध्यक्ष दिपहरी राईले आफ्नो घरमा लगेर प्रयोग गरेका हुन्।

स्वास्थ्य चौकीको २ सय वाटको सोलार अध्यक्ष राईले करिब तीन महिनाअघि घरमा लगेर प्रयोग गरेको स्वास्थ्य चौकी श्रोतले जनाएको छ। स्वास्थ्य व्यवस्थापन समितीको अध्यक्ष समेत रहेका वडा अध्यक्ष राईले स्वास्थ्य चौकीबाट आफु खुसी सोलार घरमा लगेर प्रयोग गरका हुन्। यस विषयमा समितीका अन्य सदस्यहरुलाई जानकारी नभएको स्वास्थ्य व्यवस्थापन समितीका एक सदस्यले बताएका छन्।

स्वास्थ्य चौकीको सोलार प्यानल अध्यक्षको घरमा प्रयोग गर्न दिने विषयमा समितीको बैठकमा कुनै निर्णय नभएको एक सदस्यको भनाई छ। ‘बर्थिङ्ग सेन्टरको मर्मतका क्रममा तार छुट्याइएर राखिएको सोलार जोड् बाँकी थियो’, स्वास्थ्य चौकीका प्रमुख बरुण झाले भने ‘स्वास्थ्य चौकीको छानोबाट निकालेर अध्यक्षले लगेका हुन्।’ उक्त सोलार चौकीमा बत्ति बाल्नका लागि प्रयोग गरिएको थियो।

बर्थिङ्ग सेन्टरमा बत्ति बाल्न अभाव भएको प्रमुख झाले बताएका छन्। नलग्नुपछि विरोध होला भन्दाभन्दै अध्यक्षले सोलार निकालेर लगेको प्रमुख झाको भनाई छ। स्वास्थ्य चौकीमा रहेको बर्थिङ्ग सेन्टरको सोलार आफुले गलेको स्वास्थ्य व्यवस्थापन समितीका अध्यक्ष तथा वडा अध्यक्ष दिपहरी राईले स्वीकारेका छन्।

आफ्नो घरको सोलारको ब्याट्रि ‘लो’ भएकोले ब्याट्री उठाउन स्वास्थ्य चौकीको सोलार लगेको वडाध्यक्षले बताए। ‘घरको सोलारको ब्याट्री उठाउन भएकोले ल्याएको हुँ, म फर्काउछु,’ उनले भने ‘ फर्काउने गरी ल्याएको हुँ, फर्काउन ढिलो भयो अब पु¥याउछु।’ तर श्रोतका अनुसार अध्यक्षले स्वास्थ्य चौकीको सोलार लगेर घरमा बत्ति बाल्न प्रयोग गरेका थिए। सोलार प्यानल र दुई ओटा ब्याट्री घरमा जोडेर बत्ति बाल्न प्रयोग गरिरहेका छन्।

प्रकाशित: ३१ भाद्र २०७६ ०८:४२ मंगलबार

बर्थिङ्ग_सेन्टर वडाध्यक्ष