समाज

महिलाको नाममा जग्गा पास गर्ने बढे

भगिश्वर लिम्बू
तेह्रथम - जिल्लामा महिलाको नाममा जग्गा पास गराउनेको संख्या बढ्दै गएको छ। आर्थिक वर्ष ०७५/७६ मा जिल्लामा सहरी क्षेत्रका २ सय १३ र ग्रामीण भेगका १ सय १४ गरी ३ सय २७ जना महिलाको नाममा जग्गा पास भएको छ।

दशकअघि महिलाको नाममा जग्गा पास गर्नेको संख्या न्यून रहेको तर पछिल्लो समय राज्यले राजस्वमा महिलालाई छुट दिएसँगै जग्गापासको संख्या बढ्दै गएको पाइएको हो। सरकारले महिलाको नाममा जग्गापास गरे सहरी महिलालाई २५ र ग्रामीण महिलाहरूलाई ३० प्रतिशत छुट दिन थालेपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको हो।

मालपोत कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा महिला, अपांग र अन्य गरी जम्मा १७ सय १७ जनाको नाममा जग्गापास भएको मालपोत कार्यालय तेह्रथुमका सूचना अधिकारी रुक्कादेवी सुवेदी उप्रेतीले जानकारी दिइन्। यो तथ्यांकबाट जिल्लामा सञ्चालित विभिन्न कार्यक्रमले नागरिकमा चेतना बढ्नुका साथै केही महिलाहरू सक्षम र अधिकारप्रति सचेत भएकै कारण महिलाको नाममा जग्गा पास गराउनेको संख्या बढेको सामाजिक अभियान्ता नरबहादुर आम्बूले बताए। उनका अनुसार जिल्लामा सञ्चालित देउराली सोसाइटीको अभियानमा संयुक्त लालपुर्जाको अभियानसमेत सुरु गरेको छ।

यसअघि घरका अन्य सामानदेखि पैतृक तथा आर्जित सम्पत्ति पुरुषको नाममा मात्रै हुने परम्परा बिस्तारै अन्त्य हँुदै गएको छ। आफ्नो नाममा जग्गा पास भएपछि महिलाहरू खुसी हुनुको साथै आत्मविश्वाससमेत बढ्ने गरेको महिला अधिकारकर्मीहरूले बताएका छन्।

 

प्रकाशित: ३१ भाद्र २०७६ ०७:३२ मंगलबार

जग्गा_पास महिला