समाज

पिठ्यूँमै सामग्री बोकेर गुजारा

जाजरकोट- बारेकोट गाउँपालिका–४ का जिरीका सर्वराज रावत सिंचाइ योजना निर्माण गर्न प्लाष्टिक पाइप पिठ्यूँमा बोकेर लग्न थालेको तीन दिन भयो। योजनाको निर्माणस्थलसम्म यातायातका साधन नपुग्दा सामग्री ढुवानीको समस्याले गर्दा पाइप पिठ्यूँमा बोकेर लगेको उनको भनाइ छ।     

नलगाड नगरपालिकाको कालीमटीदेखि बारेकोटसम्म सामग्री बोकेर लग्न मात्र दुई दिन लाग्ने गर्दछ। स्थानीयवासी दैनिक पिठ्यूँ र घोडा, खच्चडको भरमा सामग्री ढुवानी गर्दै आएका छन्। पिठ्यूँमा भारी बोकेर सामग्री नलिएकामा दैनिक छाक टार्न समस्याका साथै विकास निर्माणका कामसमेत प्रभावित हुने गरेका छन्। भारी बोक्दाबोक्दा टाउकोमा नाम्लोको खत नै परेको बारेकोट–४ का कालीबहादुर बोहोराले बताए।     

चैतमा यहाँका बासिन्दा जडीबुटीको मौसम छोपेर हिमालतिर लाग्ने गर्दछन्। सरकारी निकायको उपस्थितिसमेत अत्यधिक कम हुने गरेको छ। फोन सेवासमेत उपलब्ध नभएको माथिल्लो बारेकोटका बासिन्दा बिरामी भएमा कयौँले उपचार नपाएर अकालमा ज्यान गुमाउनु पर्छ।

खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै न्यून रहेको यहाँ आयातित खाद्यान्नले मात्र दैनिक परिवार पाल्नुपरेको रावत जिरीका शशि सिंहले बताए। मकै, सिमी उत्पादन हुने बारेकोटमा त्यो पनि लगानी अनुसारको उत्पादन नहुँदा स्थानीयवासी हैरान छन्।     

जाजरकोट–डोल्पा सडकखण्डको ट्र्याक खुला भए पनि केही सहज महसुस गरेका बारेकोटका बासिनदा अहिले कालीमटीबाट सामग्री पिठ्यूँ र घोडा, खच्चडमा ढुवानी गर्दै आएका छन्। सामग्रीको मूल्यभन्दा ढुवानी भाडा बढी पर्ने भएकाले दैनिक उपभोग्य सामग्री पाउन यहाँका बासिन्दाले चर्को मूल्य तिर्नुपर्ने हुन्छ। निम्नवर्गीयले आफैं बोेकेर खाद्यान्न ढुवानी गर्दछन् भने हुनेखानोले घोडा, खच्चड र पिठ्यूँमा बोकेर लग्ने गरेका छन्।     

सडक यातायातले नछोएको बारेकोटमा साना–साना घोडेटो बाटोबाट यात्रा गर्नुपर्ने हुन्छ। जडीबुटीको भण्डारणका साथै वन्यजन्तुको उर्वरभूमि गाउँपालिका, सुरक्षा निकाय र स्थानीयवासीको सक्रियता कम हुने भएकाले चोरी निकासीसमेत उच्च छ। छरिएको बस्ती रहेकाले एक बस्तीबाट अर्को बस्ती पुग्न धेरै समय खर्चनुपर्ने बाध्यता छ। विकास निर्माणका काम गर्दा महङ्गो शुल्क खर्चिनु पर्दा तोकिएको मापदण्डमा विकास निर्माणका काम गर्न चुनौती हुँदै आएको छ।     

वर्षौँपछि विकास निर्माणको व्यापक अनुगमन गरेको जानकारी दिँदै प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले भने, “पैसा छरेर मात्र विकास नहुने भएकाले खास के रहेछ भनी म बारेकोटलगायत अन्य ठाउँमा अनुगमन गरी सकाएँ, हामी विकासमा अनुशासित हुनुपर्ने छ।” दुई स्थानीय तहका स्थानीयवासी आफ्नो तौलभन्दा बढी भारी बोक्ने र घोडा, खच्चडमा सामग्री ढुवानी गरेर समग्री लग्दै विकासका काम गर्ने गरेको बताउँदै आएका छन्।

जिल्लाका सबै ठाउँमा सडकको पहुँच भए सो समस्या समाधान हुने सिंहको विश्वास छ। रासस  
 

प्रकाशित: ३१ भाद्र २०७६ ०६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App