समाज

भारततर्फ लैजाँदै गरेको मटर बरामद

सप्तरी- हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मल्हनियामा प्रहरीले छापा मारी गएराति पहेँलो मटर (केराउ) बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश बस्नेतको नेतृत्वमा पुगेको टोलीले छापा मारी ठूलो परिमाणमा मटर बरामद गरेको हो।     

स्थानीय ३५ वर्षीय विनोद यादव र ३८ वर्षीय हरिप्रसाद यादवको घरमा प्रहरीले छापा मारी लुकाइराखेको एक हजार ७ सय ५० किलो मटर बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ।

विनोदको घरबाट २५ किलोका ३० बोरा र हरिको घरबाट २५ किलोका ४० बोरा मटर बरामद गरी आवश्यक कारवाहीका लागि आज तिलाठी बेल्ही भन्सार कार्यालयमा बुझाइने प्रहरी उपरीक्षक तिलक भारतीले बताए। विनोद र हरि घरबाट फरार रहेकाले पक्राउ पर्न नसकेका बताइएको छ।     

तेस्रो मुलुकबाट आयात गरिएको पहेँलो मटर भन्सार छलेर भारततर्फ लैजान तयारी अवस्थामा राखिएको बेला बरामद गरिएको प्रहरीको भनाइ छ। रासस

प्रकाशित: ३१ भाद्र २०७६ ०४:४७ मंगलबार

मटर बरामद