समाज

संकटमा अल्पसंख्यक सुनाहा जाति

महेन्द्रनगर–भीमदत्त नगरपालिकाका नगरपालिका– १२ ऐरी निवासी अनिता सुनाहालाई आफ्ना पुर्खाले महाकाली नदिमा सुन छानेको र माछा मारेर घरपरिवार चलाएको अझै स्मरण छ। महाकाली नदिको छेउमा हुर्केकी अनिताले हिजोआज आफ्ना समुदायका परिवारले न सुन छानेको देखेकि छिन, न त माछा मारेर जिविकोपार्जन गरेको उनको अनुभव छ।

विकल्पमा अहिले यो अल्पसंख्यक समुदायले नदिमा गिट्टि, बालुवा र ढुङ्गा छानेर आफ्नो परिवारकालागि हातमुख जोर्ने जोहो गर्ने गरेका छन्। कञ्चनपुर जिल्लाको पहिलो नगरपालिका भीमदत्तका दुई वार्डमा अल्पसंख्यक सुनाहा जातीको बसोबास छ। वार्ड नम्बर १२ संगै १३ मा यो समुदायका परिवारको बसोबास छ।  दुबै वार्डमा ७५ परिवार अल्पसंख्यक सुनाहा जाती बस्छन।

पछिल्लो समयमा पुर्खौली पेशा संकटमा परेपछि विकल्पका रुपमा महाकाली नदिमा गिट्टि, बालुवा र ढुङ्गा छान्ने काम गर्न थालेको स्थानीय महेश सुनाहाले बताए। आर्थिक समस्याका कारण शिक्षाबाट समेत बञ्चित यस समुदायका अधिकाशं युवा रोजगारीकालागि भारत जाने गरेका छन्।

 ‘अरु जस्तै सुनाहा जातीलाई पनि जागिरमा कोटा हुनु पर्छ, शिक्षामा पनि सहुलियत हुनु पर्छ’ स्थानीय महेश सुनाहा भन्छन्,‘हाम्रा समुदायका बालबालिकालाई निःशुल्क शिक्षा राज्यले दिलनउनु पर्छ।’ दलितकालागि राज्यले सबै क्षेत्रमा कोटा र सुविधा दिएको तर आफ्नो अल्पसंख्यककालागि कुनै पनि सेवा सुविधा नरहको उनले गुनासो गरे। आर्थिक समस्यासंग संघर्षरत यो समुदायले बर्षौदेखि भोग चलन गर्दै आएको जमिनको जग्गाधनि प्रमाण पत्र समेत पाएका छैन। 

सुनाहा जातीको समस्याबारे भीमदत्त नगरपालिका पनि जानकार छ। तर तत्काल समस्या समाधानको अवस्था भने देखिदैन। ‘सोनाहा समुदायलाई जग्गाधनी पूर्जा दिन संघीय कानुन पर्खिएमा नगरपालिका छ’का नगर प्रमुख सुरेन्द्र विष्टले भने ‘संघीय कानुन निर्माण तगतै नगरपालिकाले तत्काल पूर्जा वितरण सुरु गर्नेछ।’
सुनाहा समुदायले वर्षैैदेखि जग्गाधनी पूर्जा नपाएको भन्दै स्थानीय सरकार छिटो भन्दा छिटो भन्दा पूर्जा वितरण गरी जग्गाधनी बनाउन चाहेको बताए। ‘त्यसका लागि संघ सरकारले कानुन बनाउनु पर्छ, कानुन निर्माण प्रक्रियामा छ’ नगरप्रमुख सुरेन्द्र विष्टले भने। नगरपालिकाले सोनाहा समुदायको पहिचान स्थापित गराउन आदिवासी जनजाति समुदायमा सूचीकृतका लागि नगर सभाबाट निर्णय गरी संघीय सरकारका निकायलाई आग्रह गरेको छ।

नगर प्रमुख विष्टले सोनाहा समुदायलाई आत्मनिर्भर बनाउन सीप मुलक तालिम सञ्चालन गरिएको बताए। नगरपालिकाले गत आर्थिक वर्षमा सोनाहा समूदायका लागि तरकारी खेती र चालक तालिम सञ्चालन गरेको छ। ‘उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयलाई प्राथमिकता दिइएको छ’,नगर प्रमुख विष्टले भने। 

प्रकाशित: ३० भाद्र २०७६ ११:५७ सोमबार

सुनाहा_जाती भीमदत्त_नगरपालिकाका अल्पसंख्यक पेशा_संकट