समाज

गाउँपालिकाले उपलव्ध गरायो शिक्षक अनुदान कोटा

खोटाङ - खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सामुदायीक विद्यालयलाई शिक्षक अनुदान कोटाका लागि बजेट उपलव्ध गराउने निर्णय गरेको छ। विद्यार्थी संख्याको तुलनामा शिक्षकको दरबन्दी संख्या कम भएको र पठन–पाठनमा कठिनाइ झेलिरहेका विद्यालयलाई छानेर गाउँपालिकाले शिक्षक अनुदान कोटा उपलव्ध गराएको हो।

गाउँपालिकाभित्रका पाँच वटा माविमा वर्ष दिनका लागि एक÷एक जना मावि शिक्षक नियुक्तीका लागि १३ लाख ५० हजार, सात वटा आधारभुत विद्यालयमा एक÷एक जना आधारभुत तहको शिक्षक नियुक्ती गर्नका लागि १३ लाख ८६ हजार, तीन वटा प्राविमा एक÷एक जना प्रावि शिक्षक नियुक्ती गर्नका लागि ५ लाख ४० हजार र आठ विद्यालयमा बालबिकास केन्द्रको शिक्षक राख्नका लागि ३ लाख ९२ हजार ४ सय गरी कुल ३६ लाख ६८ हजार ४ सय रुपैयाँ बजेट व्यवस्था गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए।

गाउँपालिकाले मावि तहका करार शिक्षकलाई मासिक ३० हजार, आधारभुत तहका शिक्षकलाई मासिक २२ हजार, प्रावि तहको शिक्षक नियुक्तीका लागि २० हजार र बालविकास केन्द्रका लागि मासिक ५ हजार ४५० रुपैयाँ दिनेगरी शिक्षक अनुदान कोटा उपलव्ध गराएको जनाएको छ। नयाँ शैक्षिकसत्रको सुरुमै दरवन्दी मिलान गरेको गाउँपालिकाले शिक्षकको आवश्यकताका आधारमा विद्यालयलाई करारमा शिक्षक नियुक्ती गर्नका लागि अनुदान कोटा दिएको हो। गाउँपालिका शिक्षा समितिका संयोजक मणिकुमार गिरीको संयोजकत्वमा बनेको समितिले गरेको सिफारिसका आधारमा गाउँपालिकाले विद्यालयलाई करारमा शिक्षक राख्नका लागि अनुदान कोटा दिएको जनाएको छ।

‘विद्यार्थी नभएको विद्यालयमा शिक्षक बढी र विद्यार्थी बढी भएको विद्यालयमा शिक्षकको अभाव देखिएपछि शिक्षकको सरुवा तथा दरबन्दी मिलान गरियो। यसबाट पनि कतिपय विद्यालयमा शिक्षकको समस्या हल भएन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘विद्यालयको शैक्षिक गुणस्तरलाई समान र समावेशी तरिकाले उकास्ने उद्देश्यले दरबन्दी नभएका र शिक्षकको अभाव झेलिरहेका विद्यालयलाई शिक्षक अनुदान कोटा दिने निर्णय गरिएको हो।’

माबि तहको शिक्षक नियुक्तीका लागि पञ्चकौशिका माबि भँडारेघाट, शान्ति माबि छोरम्बु, जनसेवा माबि दिहुँ छितापोखरी, सरस्वती माबि कुलागाउँ सछितापोखरी र सरस्वती माबि डाँडाखर्क सछितापोखरीलाई प्रतिविद्यालय लाई २ लाख ७० हजार अनुदान दिएको छ।

यस्तै, आधारभुत तहको शिक्षक नियुक्तीका लागि शान्ति निकेतन मिनाकर्ण माबि छोरम्बु, राम्चे निकेतन माबि इजरा बतासे, शान्ति माबि टेम्मा, याङ्सोला माबि छोरम्बु, महेन्द्रोद्धय आधारभुत विद्यालय याम्खा, पञ्चौशिका माबि भँडारेघाट र महेन्द्रोद्धय माबि याम्खालाई प्रतिविद्यालय १ लाख ९८ हजार, प्रावि शिक्षक राख्नका लागि महेन्द्रतारा आधारभुत विद्यालय मुलाबारी बतासे, जनविकास आधारभुत विद्यालय नारांगा र जनजागृति प्रावि टेम्मालाई प्रतिविद्यालय १ लाख ८० हजार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

बालबिकास केन्द्रको शिक्षक नियुक्तीका लागि सरस्वती माबि कुलागाउँ, राम्चे निकेतन माबि इजरा बतासे, पञ्चकन्य प्रावि वातिखुम, कालिका प्रावि टेम्मा, साप्सु निकेतन प्रावि खुतुम्बु, जनजागृति प्रावि पाखाटारी, सितला प्रावि डाँडागाउँ र चित्र निकेतन प्रावि टेम्मालाई प्रतिविद्यालय ४९ हजार ५० दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।

गाउँ शिक्षा समितिको भदौ ११ गतेको बैठकको निर्णय अनुशार गठित समितिले सिफारिस गरेको प्रतिबेदनका आधारमा शिक्षक अपुग भएका र करारमा शिक्षक राख्नुपर्ने खालका विद्यालयलाई छनौट गरेर अनुदान कोटा दिने निर्णय गरिएको हो।

प्रकाशित: ३० भाद्र २०७६ ०७:२४ सोमबार

अनुदान_कोटा शिक्षक