समाज

आयुर्वेद विज्ञानलाई गति दिनुपर्ने व्यवसायीको माग

उदयपुर - उदयपुरमा कार्यरत आयुर्वेद औषधि व्यवसायीहरूले मुलुकको समृद्धिका लागि स्थानीय जडीबुटीको उपयोग, प्रशोधन गरी देशको अर्थतन्त्र बलियो बनाउनुपर्ने माग गरेका छन्। आयुर्वेद औषधि व्यवसायीहरूलाई एकीकृत गर्ने उद्देश्यले शनिबार गाईघाटमा आयोजित आयुर्वेद औषधि व्यवसायी संघको भेला तथा अधिवेशनमा आयुर्वेद औषधि व्यवसायीहरूले सो आवाज उठाएका हुन्।

  जिल्लामा पहिलोपटक ‘नेपाल आयुर्वेद औषधि व्यवसायी संघ’ गठन गर्दै आयोजित प्रथम जिल्ला अधिवेशनको क्रममा व्यवसायीहरूले यस्तो माग गरेका हुन्। प्रथम अधिवेशनमार्फत आयुर्वेद व्यवसायीहरू एउटै छाताभित्र समेट्ने उद्देश्यले गाईघाटस्थित होटल यलम्बरमा आयोजित अधिवेशनमा व्यवसायीहरूले केन्द्रीयस्तरमा यसअघि नै संघ गठन भइसकेको संघलाई जिल्लास्तरमा समिति गठन गरी आयुर्वेद विज्ञानको विकास गर्ने विषयमा जोडदार आवाज उठाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

संघको जिल्लास्तरमा समिति गठन गर्ने क्रममा केन्द्रीय समिति यसअघि नै गठन भइसकेको हुनाले प्रदेश र जिल्लास्तरसम्म गठन गर्दै आवाज बुलन्द गर्ने निष्कर्षमा पुगेको व्यवसायीहरूले बताएका छन्। देशमा राज्य पुनर्संंरचनापछिको नयाँ संरचनाअनुसार संघको प्रदेश कमिटी गठन गर्दै जिल्लास्तरसम्म समिति गठन गरी व्यवसायीहरूलाई एकीकृत गर्ने अभियान सुरु गरिएको १ नं. प्रदेश समिति अध्यक्ष जगत भट्टराईले बताए।

उनका अनुसार यसअघि प्रदेश समिति गठन भइसकेको र त्यसलगत्तै जिल्ला तहमा समिति गठन गर्ने क्रममा उदयपुरमा समिति गठन गरी अधिवेशन आयोजना गरिएको हो। १ नं. प्रदेशका सुनसरी, मोरङ, झापामा संघ स्थापना भइसकेको र जिल्ला संघ गठनकै सिलसिलामा उदयपुरमा पनि गठन गरी अधिवेशन आयोजना गरिएको भट्टराईले बताए।

अधिवेशनमा आयुर्वेद औषधि व्यवसायीहरू राज्यबाट अपहेलित भएको महसुस भइरहेको गुनासो व्यवसायीहरूले गरेका छन्। उनीहरूले गतिलो र भरोसायुक्त नीति नियम सरकारले नबनाएका कारण व्यवसायीहरू त्राहीत्राही भएर काम गर्न बाध्य हुनु परिरहेको उनीहरूको गुनासो थियो। व्यवसायीहरूले आयुर्वेद विज्ञान परापूर्वकालदेखि जनविश्वास जित्दै आएको भए पनि पछिल्लो समय यसलाई हेयको दृष्टिकोणले हेर्ने गरिएको उनीहरूको दुःखेसो छ।

आयुर्वेद औषधिलाई सामान्य औषधिको मान्यतासमेत राज्यले नदिएकोप्रति गुनासो गर्दै व्यवसायीहरूले व्यवसायीहरूलाई आयुर्वेद विज्ञानको अधिकार दिइनुपर्ने माग गरे। यसबारे राज्यले ठोस नीति बनाएर अघि बढ्न सकेमा नेपालमा भएका जडीबुटीबाट बग्रेल्ती औषधि उत्पादन गरेर आयुर्वेद विज्ञानमा चमत्कार देखाउन सकिने विश्वास उनीहरूमा छ। नेपालका जडीबुटीको प्रशोधन गरी स्वदेशमै औषधि उत्पादन गर्न सके एकातिर आयुर्वेद विज्ञानमा फड्को मार्न सकिने छ भने अर्कातिर देशको सम्पत्ति विदेशिनबाट बच्नुका साथै देशको अर्थतन्त्र मजबुत हुन सहयोग मिल्नेमा व्यवसायीहरू एकमत देखिए।

राज्यले बिरामी उपचारमा समेत बन्देज लगाउने गरेकोप्रति पनि व्यवसायीहरूको असन्तुष्टि छ। आयुर्वेद औषधिको प्रयोग गरेर बिरामीको उपचार गर्ने अधिकार व्यवसायीहरूलाई दिनुपर्ने माग गर्दै उनीहरूले बिरामीको हितमा लाग्ने विषयमा राज्यले व्यवसायीलाई रोकावट नगर्न सुझाए। आयुर्वेद औषधिको प्रयोग गर्दै बिरामीको उपचार कार्यमा सहज काम गर्ने वातावरण बनाइदिनुपर्ने माग राख्दै उनीहरूले आयुर्वेद औषधिले थुप्रै जटिल रोगको सहज उपचार हुने गरेको उदाहरण पेश गरे।

केमिकल (रसायन) युक्त अंग्रेजी औषधिको खुलेआम किनबेच र उपचार हुने गरेको नेपालमा शुद्ध जडीबुटीहरूको प्रशोधनबाट बनेको आयुर्वेद औषधिको प्रयोग र उपचार प्रक्रियामा भने राज्यले असहयोग गरेको भन्दै उनले यसको पनि प्रयोग र सरल उपचार प्रक्रियाको व्यवस्था राज्यले मिलाउनुपर्नेमा जोड दिए। राज्यले आयुर्वेद औषधिको उत्पादन, प्रयोग र उपचार पद्धतिबारे व्यवसायमैत्री र औषधि उद्योगमैत्री नीति निर्माण गरी लागू गर्नुपर्नेमा व्यवसायीहरूको जोड थियो।

प्रकाशित: ३० भाद्र २०७६ ०६:३८ सोमबार

आयुर्वेद व्यवसायी