समाज

प्रहरीको आँखा गाँजामा

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले अवैध गाँजा खेती नष्ट गर्ने अभियानलाई जारी राखेको छ। गत असारदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्दै आएको प्रहरीले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा करिब ३ सय बोट गाँजा नष्ट गरेको छ। घुर्यान बारी र पाखाभित्तामा गाँजा लगाइएको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले फँडानी गरेको हो। गाँजा नष्ट गर्न गएका प्रहरीलाई गाँजा आफै उम्रिएको बताउने गरिएको छ। 

यसअघि भदौ ५ गते प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदेका किसानले लगाएको करिब एक हजार तीन सय बोट गाँजा नष्ट गरेको जल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए। 

यस्तै, इलाका प्रहरी कार्यालय हलेसीले भदौ २ गते हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माथिल्लो काभ्रे र तल्लो काभ्रेमा लगाइएको करिब ६ सय बोट गाँजा नष्ट गरेको थियो। प्रहरीले साउन २४ गते महादेवस्थानको पात्ले र साउन २२ गते महादेवस्थानकै ऐसेलुखर्कमा लगाइएको गाँजा नष्ट गरेको जनाएको छ। सो भन्दा अघि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडा क्षेत्रमा लगाइएको गाँजा नष्ट गरेको थियो। 

विगतका वर्ष हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दुर्छिम, डिकुवा, बडहरे, बाहुनीडाँडा, मंगलटार, च्यास्मीटार लगायतका ठाउँमा गाँजा खेती लगाउने गरिएकामा प्रहरीले नष्ट पार्न थालेपछि पछिल्लो समय गाँजा खेतीमा कमी आएको छ। सुक्खाग्रस्त क्षेत्रमा पर्ने र अन्यबाली कम उब्जाउ हुने सो क्षेत्रका किसानले व्यवसायीकरुपमा गाँजा खेती गर्ने गरेका थिए। प्रतिकेजी कम्तीमा पाँच हजार रुपैयाँमा घरैबाट बिक्री हुने तथा ठेकेदारले ५० हजारदेखि एक लाखसम्म अग्रिम पेश्की दिने गरेकाले किसानले अवैध गाँजाको खेतीमा जोखिम मोल्ने गरेका छन्। उदयपुरबाट आउने ठेकेदारले अग्रिम भुक्तानी दिएर किसानलाई गाँजाको खेतीतर्फ उक्साउने गरेका थिए। 

प्रकाशित: ३० भाद्र २०७६ ०५:५० सोमबार

गाँजा खोटाङ प्रहरी