समाज

२० वर्ष नपुगी विवाह, जोखिमपूर्ण गर्भाधान

इटहरी - सुनसरी गढी गाउँपालिकाकी ममता मरिकको यकिन उमेर थाहा छैन। उनको न जन्मदर्ता छ न नागरिकता। हेरेर अनुमान लगाउँदा र उनकी आमाको भनाइअनुसार अहिले १८ वर्ष पुगिन्। दुई वर्षअघि नै विवाह भएको उनले बताइन्।

उनका अनुसार विवाहपछि नियमित यौनसम्पर्क र परिवार नियोजनका अस्थायी साधनबारे जनचेतना नहुँदा सानै उमेरमा बच्चा जन्माउनुपर्ने बाध्यता सिर्जना हुन पुग्यो। विवाहपछि उनले छोरी जन्माइन्। सानै उमेरमा छोरी जन्माएर स्वास्थ्यमा समस्या भएकोबारे सञ्चार माध्यमबाट समाचार सार्वजनिक हुन पुग्यो। आर्थिक अवस्था दयनीय भएकाले गढी गाउँपालिकासँगै अन्य दाताले सहयोग गरेकै कारण उनले पुनर्जीवन पाइन्। ‘यदि मलाई उपचार गर्न आर्थिक सहयोग नभएको भए मेरो ज्यान जोखिममा हुने थियो,’ उनले भनिन्।

सिरहा गोलबजारको मुसनिया घर भएका प्रकाश मरिकसँग मागी विवाह भएर छोरी जन्मिएपछि एकातिर स्वास्थ्य समस्या आयो भने अर्कातिर परिवारमा समस्या। फुपूफुपाजू मिलेर प्रकाशसँग कान्छीको रूपमा विवाह गरिदिएकाले परिवारमा समस्या सृजना हुनु स्वाभाविक नै हो। उनकी छोरी अहिले एक वर्ष पाँच महिनाकी भइन्। तर, उनी आमा बनेकै कारण पति प्रकाश भने कैद सजाय भोगिरहेका छन्। घर–परिवारले तिम्रै कारण प्रकाश कैद सजाय भोगिरहेको दबाब दिएकाले उनी माइतीघरमा बस्न बाध्य छिन् र साहुमहाजनकोमा मागेर जीविकोपार्जन गर्ने गर्छिन्। झट्ट हेर्दा उनी पनि आफ्नो स्वास्थ्यलाईं कुनै ख्याल गर्दिनन्, बच्चाको पनि स्याहार–सुसार राम्रोसँग गर्दिनन्।

जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीमै पछिल्लो चार महिनामा मात्र १ सय १५ जना २० वर्षमुनिका गर्भवती भएको तथ्यांक रहेको छ।

त्यस्तै सुनसरी हरिनगर–७ की समिना खातुनको उमेर २५ पुग्यो। उनका पाँच छोराछोरी छन्। उनलाई अघिल्लो वर्ष पतिले तलाक (सम्बन्ध विच्छेद) दिए। समिनालाई तलाक दिनुको कारण हो, पाठेघरमा समस्या। हरिनगर–७ कै सञ्जीता खातुन अहिले ३५ वर्ष पुगिन्। उनले पहिलोपल्ट छोरी जन्माइन्। दोस्रोपटक बच्चा जन्मिने समयमा पेटमै बच्चाको मृत्यु हुन पुग्यो। बच्चा निकाल्न अप्रेसन गर्नुप¥यो। उनको त्यतिबेला स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखा परिसकेको चिकित्सकले बताए। अरू बच्चा जन्माउने रहर हुँदाहुँदै पाठेघरको समस्याले गर्दा सम्भव भएन। सञ्जीताको विवाह १३ वर्षको उमेरमै भएको थियो।

यस्तै, भोक्राहा–नरसिंहका दिलीप मण्डलकी छोरी खुस्बुको दुई वर्षअघि कक्षा ७ मा पढ्दापढ्दै १४ वर्षकै उमेरमा विवाह भयो। विवाहलगत्तै पढाइ त्यागिन्। उनीजस्तै भोक्राहा नरसिंहकै १४ वर्षीया आलोकुमारी मण्डलले पनि कक्षा ५ पूरा गरेलगत्तै विवाह गरिन्। उनको पनि पढाई पनि टुंगियो।

२० वर्ष उमेर नपुगी विवाह गर्न नहुने कानुनी प्रावधान छ। तर, त्यसविपरीत बालबालिकासँगै तिनका अभिभावकमा चेतनाको अभावले गर्दा बालविवाह रोकिएको छैन। सचेतनामूलक कार्यक्रम पनि सरकारी तथा गैरसरकारी निकायले गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीमा भदौ २५ गते मात्र इनरुवा–९ का महमद मियाँका छोरा तनबीर खाँ र सोही ठाउँकी रविना खातुनकी छोरी भागी विवाह गरेको उजुरी प¥यो। दुवैको जन्मदर्ता छैन। अभिभावकका अनुसार तनबीरको उमेर १९ र रविनाको उमेर १८ वर्ष छ। जन्मदर्ता नभए पनि बाबुआमाले उमेर यकिन गरेपछि दुवै जनालाई अभिभावकको जिम्मा लगाएर पठाए पनि फेरि विवाह गर्ने शंकामा प्रहरीले निगरानी बढाएको छ।

यता, इटहरी–२ की १७ वर्षीया आरती धामी र इटहरी–१७ का २० वर्षीय दीपेश गिरीको फेसबुकमार्फत चिनजान घनिष्ट हुन पुग्यो। चिनजान भएकैले गर्दा नयाँ वर्ष २०७६ को अवसरमा इटहरी–१६ मा लाग्ने जब्दी मेला घुम्न गए। त्यही दिनदेखि यी दुवैले विवाह गर्ने कसम खाए। अन्ततः भागी विवाह पनि गरे। तर, अभिभावकले आरती हराएको प्रहरीमा उजुरी गरे। प्रहरीले फेला पारी सोधखोज गर्दा दुवैजनाले राजीखुसी हिँडेको स्विकारे। तर, कानुनले मान्यता नदिएपछि दुवै जनाको अभिभावकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्यांकअनुसार आव २०७५/७६ को अवधिमा तीनवटा बालविवाहका मुद्दा परेका छन्। यो अवधिमा ३६ वटा बालविवाह रोकिएको तथ्यांकमा उल्लेख छ। गत साउनमा उमेर नपुगीकन विवाह गरेका पाँच जोडीलाईं अभिभावकको जिम्मा लगाइएको र यो महिनामा दुईवटा बालविवाहका समस्या आएको सई बिनु बस्नेतले बताइन्।

१८ वर्ष नपुगी विवाह हुने र बच्चा जन्माउने किशोरीको संख्या खोज्ने हो भने कहालीलाग्दो तत्यांक छ। जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीमै पछिल्लो चार महिनामा मात्र १ सय १५ जना २० वर्षमुनिका गर्भवती भएको तथ्यांक छ। जिल्लाका अन्य स्वास्थ्य संस्थासँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि २० वर्षमुनिका थुप्रै गर्भवती हुने गरेका छन्। नेपालमा करिब ३७ प्रतिशत महिलाको १८ वर्ष नपुगी विवाह हुने र आमा बन्ने गरेको सरकारी तथ्यांक रहेको छ।

त्यस्तै १५ देखि १९ वर्षका किशोरीमध्ये १७ प्रतिशत आमा बनिरहेका छन् भने १५ देखि ४९ वर्ष उमेर समूहका २२ प्रतिशत महिलाले १५ वर्षको उमेरदेखि नै शारीरिक हिंसा भोगिरहेका छन्। जसमा ७ प्रतिशतले यौनहिंसा भोगिरहेका छन्।

सानै उमेरमा विवाह गर्दा एकातिर पारिवारिक तथा सामाजिक उत्तरदायित्व बढ्नुका साथै गर्भवती हुँदा गर्भपतन हुने, प्रेसर बढेर दिमाखको नसामा असर पुग्ने अनि बच्चा जन्माउँदा अप्रेसन गर्नुपर्ने अवस्था बढी मात्रामा हुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्त्रीरोग विशेषज्ञ रोहित रिजालले बताए। ‘बच्चा जन्माएपछि पनि परिपक्व नहुँदा बच्चा र आमा दुवैलाई स्याहार नपुग्नेजस्तो स्वास्थ्यमा समस्या हुन्छ,’ उनले भने। सानै उमेरमा विवाह गर्दा यौन दुव्र्यवहार, अशिक्षा, कमजोर स्वास्थ्य, जनसंख्या वृद्धिजस्ता समस्या पनि हुने गर्छन्।

विवाह गर्ने उमेर परिवर्तनसँगै हुँदै आएको छ। १९९० सालको मुलुकी ऐनमा कन्याको न्यूनतम उमेर पाँच वर्ष तोकिएको थियो। २०२० को मुलुकी ऐनले अभिभावकको अनुमतिमा केटीको १८ र केटाको २० वर्ष कायम गरेको थियो। यस्तै, नेपाल कानुन संशोधन तथा खारेज ऐन २०७२ ले २० वर्ष नपुगी विवाह गर्न रोक लगाएकोमा २०७५ भदौ १ गतेदेखि लागू मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहको रूपमा परिभाषित गरेको छ। र, २० वर्ष नपुगी गरिएको विवाह खारेज हुने व्यवस्था छ। अहिलेको कानुनअनुसार २० वर्ष नपुगी विवाह गर्दा तीन वर्ष कैद र जरिवानाको व्यवस्था छ।

प्रकाशित: २९ भाद्र २०७६ ०२:०० आइतबार

विवाह गर्भाधान