समाज

अस्पतालले मृत घाेषणा गरेकाे शिशु गाड्न खाेज्दा चलमलाएपछि...

शिशुलाई गाड्नका लागि मसानघाटमा खनिएको खाल्डो । तस्बिरः नागरिक

बाँके– जिउँदै शिशुलाई मृत्यु भएको घोषणा गरेको घटनाबारे भेरी अस्पताल नेपालगन्जले प्रमाण लुकाउने प्रयास गरेको छ। शनिबार पीडित पक्षसँग वार्ता गर्दै अस्पताल प्रशासनले कर्मचारीको गल्ती नभएको बताएको छ। अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टल विज्ञप्ति जारी गदै घटनाको वास्तविकतालाई लुकाउने प्रयास गरेका छन्।

अस्पतालको लेवर कक्षका कर्मचारीको लापरवाही कारण शुक्रबार जिवितै रहेको नवजात शिशुलाई मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो। तर मसान घाटमा पुगेपछि भने शिशु जिउँदै देखिएपछि अस्पतालका कर्मचारीले गल्ती गरेको पृष्टि भएको थियो। शुक्रबार पुन अस्पताल पु-याएपनि शनिबार शिशुको मृत्यु भयो। तर घटना बारे अस्पतालले वास्तविक प्रमाण लुकाउने प्रयास गरेको छ। पीडित पक्षसँग मृत्यु भैसकेको घोषणा गरेको कागजात मागेर अस्पतालले पुन अर्को कागजात बनाएको शिशुका बुबा मिलन अधिकारीले नागरिक न्यूजसँग बताए। शनिबार एक विज्ञप्ती जारी गर्दै भेरी अस्पतालले नर्सिङ विभागका कर्मचारीको कुनै गल्ती नभएको बताएको छ।

शनिबार पीडित पक्षसँगको वार्तापश्चात अन्तिम दाहसंस्कारका लागि पीडितलाइ २५ हजार दिने, घटनाको छानविन गर्ने र आगामी दिनमा यस्ता घटना नदोहो-याउने अस्पतालले सहमति गरेको छ। घटनाको छानविन गर्न स्त्री रोग विशेषज्ञ कल्पना थापाको संयोजकत्वमा छानविन समिति बनाइएको छ। शनिबार विहानैदेखि पीडित पक्षले लेभर कक्षमा खटिएका स्टाफ नर्सको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन हुनुपर्ने माग राखेका थिए। तर अस्पताल प्रशासनले भने प्रहरी परिचालन गर्दै पीडित पक्षलाई रोक्ने प्रयास गरेको थियो। 

कहिले सुध्रिएला भेरी अस्पताल
तत्कालिन मध्य र सुदुरपश्चिमको प्रमुख अस्पताल भेरीमा यस्ता घटना भइरहनु कुनै नौलो घटना भने होइन्। राज्यले करोडौं रकम खर्च गरेको अस्पतालका डाक्टर र कर्मचारीको लापरवाही कारण भेरी अस्पतालको सेवाबारे बारम्बार गुनासो आउने गर्छ। अस्पतालको सेवा पनि झन खस्कँदै गएको छ। गत वर्ष पनि रुकुमबाट आएको एक दम्पतीले जन्म दिएको नवजात शिशुलाई भेरी अस्पतालको लेबर कक्षले मृत्यु भइसकेको भन्दै शव लैजान भनेको थियो। अभिभावकले शव लिएर मसानघाटमा गाड्ने बेलामा शिशु जिवितै भेटियो। पछि शिशुलाई भेरी अस्पतालमै उपचार गरेर उनका अभिभावकले  जिवितै घर लगेका थिए।

गत वर्षको घटनापछि शुक्रबार पुन त्यस्तै घटना हुँदासमेत अस्पतालले दोषीलाई कारबाही गरेको छैन्। घटनाको वास्तविकता लुकाउनु खोज्नु अपराध भएको शनिबार मृत्यु भएको शिसुका बुबा मिलन अधिकारीले बताए। उनले भने, ‘हामी टाढाबाट उपचार गराउन आएका हौं। यहाँ हाम्रोबारे बोल्ने कोहि छैन्। यत्रो घटना भयो। अस्पतालका नर्सले पहिला मरेको भनेर सहि छाप गराएर बच्चा दिएपछि कागज मागेर अर्को कागज दिए। मेरो बच्चाको त मृत्यु भो अब अरु यस्ता घटना नहोस भनेर दोषीलाई कारबाही गरिनुपर्छ।’

नेपालगन्ज बुलबुलियामा रहेको मसान घाट भेरी अस्पतालबाट नजिकै पर्छ। प्रायले त्यहाँ अन्तिम दाहसंस्कारका लागि शवलाई लग्ने गर्छन्। मसानघाटकी कर्मचारी कलावती नेपालीले यस्तो घटना दोहोरिरहेको बताउँछिन्। उनले भनिन् ‘यो पहिलो घटना होइन्। यसरी मैले थुपै्र पटक बच्चा फर्काएको छु। कसैले नियतबस बच्चा मारेर गाड्न पनि आउँछन्।’

प्रकाशित: २८ भाद्र २०७६ १५:१५ शनिबार

भेरी_अस्पताल शिशु