समाज

बाढीले पुल बगाउँदा सामान ढुवानी ठप्प

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । बिहीबार बेलुका अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा आवातजावत ठप्प भएको हो । 

पर्यटकीय मौसम भएकाले यात्रुको चाप बढी भएपछि प्रहरी र स्थानीयले फड्के पुल बनाएर सामान्य आवतजावत सञ्चालन गरेका छन् । तर, खच्चड र घोडाको लागि पूर्णरूपमा आवगमन बन्द भएको स्थानीय याङ्जी शेर्पाले जानकारी दिए । 

यति बेला दैनिक खरिखोलाबाट सयौँ विदेशी तथा स्वदेशी पर्यटक सुर्के हुँदै लुक्ला जान्छन् । पर्यटकका लागि आवश्यक खाद्यान्नको सामान तथा लत्ताकपडा खच्चड र घोडाको प्रयोग गरी ढुवानी गरिन्छ । सडकको पहुँच नभएका कारण त्यस क्षेत्रमा सामान ढुवानीका लागि भरपर्दो साधन खच्चड, घोडा नै । तीनै खच्चड र घोडा हिडाउन नसक्ने भएपछि थप समस्या भएको स्थानीयले बताएका छन् ।

  खुम्बु क्षेत्रका लागि खच्चडको प्रयोग गरी सामान ढुवानी गरिन्छ तर । बाटो अवरुद्ध भएपछि समस्या हुने लुक्लाका व्यवसायी फिन्जो शेर्पाले बताए । शेर्पाले स्थानीय तहलाई तत्कालै बैकल्पिक व्यवस्था गर्न माग गरे । त्यसैगरी, बाढीले सोही स्थानको सुर्केखोला पेल्ट्रीकसेटको पाइप र ट्यांकी बगाएको छ । बाढीले विद्युतको पाइप र ट्यांकी बगाउँदा ५० घरमा विद्युत् आपूर्ति बन्द भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नदेखि रेडियो टेलिभिजन हेर्न नपाएको स्थानीयले बताएका छन् ।

प्रकाशित: २८ भाद्र २०७६ ०६:३४ शनिबार

खुम्बुपासाङल्हामु_गाउँपालिका बाढी अविरल_वर्षा